दिन–दुःखीको सेवामा परोपकारको अविराम यात्री

hitkarsingh-kansakarसँगैका दौतरीहरु आफ्नो करिअर बनाउन र आर्थिक उपार्जन गर्न मरिहत्ते गरेर लागे पनि उनको प्राथमिकतामा कहिल्यै यी दुई कुरा परेनन् । बरु, उनी आफ्ना व्यक्तिगत इच्छा र आकांक्षा त्यागेर बाबुले खनेको समाजसेवाको पवित्र मार्गलाई फराकिलो र धारिलो बनाउन लागिपरे । जीवनको ७३ औं वसन्तमा यात्रारत रहँदा पनि उनमा अनाथ र दुःखीहरुको सेवा गर्ने जाँगर मरेको छैन, अझै सक्रियतापूर्वक लाग्ने हुटहुटी र जाँगर मडारिहइरहेको छ । भन्छन्, ‘बाँचुन्जेल दिन–दुःखीहरुको लागि गर्ने भनेको हामीले नै त हो ।’
उनी हुन्, हीतकरवीर सिंह कंसाकार । समाज सेवाका शीखर पुरुष मानिन्छन् दयावीरसिंह कंसाकार । हितकर यिनै दयावीरका सन्तान हुन् । दयावीरले वि.सं. २००४ सालमा परोपकार संस्था खोलेर दिन–दुःखीहरुको सेवा गर्ने औपचारिक सुरुवात गरेका थिए । हितकर अहिले बाबुले देखाएको समाजसेवाको यही कर्मलाई थप उचाई दिन लागिपरेका छन् । ‘जान्ने बुझ्ने भएदेखि नै परोपकार संस्थाको सदस्य बनेर अनाथ तथा दिन–दुःखीहरुको सेवामा लागिपरेको छु’, समाजसेवामा जोडिनुको कारणबारे कंसाकारले खुलाए, ‘बुबाको आदर्शले पनि मलाई यही क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’
परोपकार संस्था देशका हिमाल, पहाड र तराई सबै क्षेत्रका ग्रास रुटका स्वयंसेवक परिचालन गरेर सुरु गरिएको अभियान हो । सामाजिक सेवाको इतिहासमा २००४ साल आश्विन १० गते त्यतिबेलाको राणा सरकारबाट स्वीकृति लिएयता सञ्चालनमा रहेको यो संस्था अनेक अप्ठ्यारा घुम्ती र मोडहरु पार गर्दै अघि बढिरहेको छ । र, यसलाई गति दिन विगत ४ वर्षदेखि यसको नेतृत्व लिएर लागिपरेका छन्, यिनै हितकर ।
परोपकारले अहिले अनाथालयका साथै उच्च माध्यमिक विद्यालय, एम्बुलेन्स सेवा, परोपकार चिकित्सालय सञ्चालन गर्दै आइरहेको छ । तर, स्रोतको अभावमा यो संस्थालाई आफ्नो सेवा प्रवाह गर्न कठिनाइहरुले स्पर्श गर्दै आइरहेको कंसाकार बताउँछन् । ‘१०५ जना अनाथ अनाथालयमा आश्रय लिएर बसिरहेका भए पनि भवन भत्केकाले उनीहरुलाई अनाथालय बालग्राममा राखिएको छ । स्थानाभावका कारण नयाँ भर्ना लिने क्रम रोकिएको छ,’ हितकरले परोपकार संस्थाको गाह्रोसाह्रो बारे बताए । हितकरका अनुसार सरकारबाट विगत ६ वर्षदेखि सहयोग बन्द भएको छ । विगतमा चन्दा र सहयोग गर्न आउने भए पनि अहिले सहयोग आउने क्रम रोकिएकाले काठमाडौंको भिमसेनस्थानमा रहेका सटरहरुबाट उठेको भाडा र भएका जग्गाहरु भाडामा दिएर जसोतसो स्रोतहरु जुटाइरहेको उनी बताउँछन् ।

 

विदेशी डलरका लागि मरिहत्ते गर्नेहरु धेरै छन् देशमा । विदेशी डलरको खेती गर्न कैयन संघ संस्था खुलेका छन् । तर, परोपकारले आएका विदेशी सहयोग छनोट गरेर मात्रै लिने गरेको छ । ‘हाम्रोमा धेरै विदेशीदाताहरु सहयोग गर्छौं भन्दै आउने गरेका छन् । तर, हामीले विदेशीदाताहरुसँग सहयोग लिने गरेका छैनौं,’ हितकरले विदेशी सहयोग अस्वीकार गर्नुको कारण खुलाउँदै भने, ‘परोपकार संस्थाको नाम मेटेर आउने बाहेकका सहयोग भने लिन्छौं ।’

समाज सेवालाई व्यापार बनाउनु खेदपूर्ण
समाज सेवा जस्तो निःस्वार्थ सेवालाई व्यापार बनाउँदै डलरको खेती भइरहेको देख्दा हितकरलाई दिनै दुःख लाग्छ । भन्छन्, ‘यो असोभनीय कुरा हो । यो देशका लागि निकै घातकसिद्ध हुन्छ । यसको जति नै निन्दा गरे पनि कम नै हुन्छ ।’

उसो भए समाजसेवा र परोपकार कस्तो हुनुपर्छ त ? हितकर परोपकारबारे बोल्न थाले, ‘परोपकार बिना स्वार्थ गरिने मानवीय सेवा हो । यसमा स्वार्थ, दाउपेच, रिस÷राग मिसिन हुँदैन ।’

परोपकार गर्दा अनेक बुहार्तन
परोपकार कर्ममा लागे पनि हितकरसँग केही तीता अनुभूतिहरु किला बिझझैं गडेर बसेका छन् । उनले समाजसेवा र परोपकार कर्म गरेवापत वाहवाही भन्दा पनि कैयन बुहार्तन खेपेका छन् । ‘परोपकार कर्ममा लाग्दा यस्ता बुहार्तन त कति भोगियो कति । मैले भन्दा पनि मेरा पीताजी दयावीरसिंह कंसाकारले यस्ता दुःख र आरोपहरु बढी झेल्नु भएको थियो,’ परोपकारमा लाग्दाका तीता अनभूति बारे हितकरले अगाडि थपे, ‘पञ्चायतकालीन समयमा बुबाले घर बनाउँदा परोपकारको रकम दुरुपयोग गरेर घरै ठड्यायो भनेर रमेशनाथ पाण्डे सम्पादित पत्रिकाले लेखिदियो । परोपकारले प्रमाण मागेपछि पत्रिकाले पछि यसबारे गल्ती भएको भन्दै खण्डन छाप्यो । भक्तपुरका विभिन्न ठाउँमा अनाथहरुका लागि भन्दै परोपकारलाई केही जग्गा दिइएको थियो । सुरुचि भन्ने त्यतिबेलाको साप्ताहिक पत्रिकाले दयावीरले दाताले दिएको ५० रोपनी जग्गा मध्ये १२ रोपनी जग्गा आफ्नो स्वामित्वमा ल्याएर घरै बनायो भनेर लेखिदियो । मेरै हकमा पनि यस्ता धेरै घटना भएका छन् । भक्तपुरको दुवाकोटमा रहेको परोपकारको जग्गाको बालुवा हितकरले बेच्यो भनेर छापियो । कान्तिपुरले यस्तो समाचार छापेपछि अख्तियारले यसमा छानबिन नै गरेको थियो । तर, आरोप निराधार भेटेपछि अख्तियारले नै आफ्नो परोपकारको काममा विचलित नभईकन लाग्न हामीलाई सुझाव दिएको थियो । यी त केही उदाहरण मात्र हुन् । समाजसेवा र परोपकारको काममा लाग्दा यस्ता धेरै निराधार आरोपहरुको प्रहार सहनु परेको छ ।’
तर, यस्ता आरोपको वर्षा भए पनि हितकरलाई भने कहिल्यै यसले दुःखी बनाउँदैछ । भन्छन्, ‘ पिताजीको आदर्शलाई पछ्याएर यो क्षेत्रमा लागेकाले बरु अझै सशक्त रुपमा परोपकारको काममा लाग्ने शक्ति मिल्छ ।
पीताजीको अधुरो सपना
paropakarबृद्धाश्रम खोल्ने हितकरको बुबा दयावीरको चाहना थियो । तर, त्यो चाहना पूरा हुन सकेन । हितकर अहिले बुबाको त्यही सपना पूरा गर्ने ध्याउन्नमा लागेका छन् । बृद्धाश्रम खोल्ने बुबाको चाहना थियो,’ हितकर भन्छन्, ‘यसैलाई मूर्त रुप दिने सोच छ । कति पूरा हुन्छ, थाहा छैन तर परोपकारको केन्द्रीय चिकित्सालयलाई पनि मिनि अस्पताल बनाउने सोच छ ।’document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...