काठमाडौं, कात्तिक १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई दुर्लभ एवम् सुखद संयोग भनेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा पत्रकार सम्मेलन गर्दे प्रचण्डले यसले नेपाल र नेपालीको शीर ठाडो पारेको भन्दै उनले गर्वले आफ्नो छाती फुलेको बताए । तर, नेपालमा भएको नकारात्मक टीका टिप्पणीले भने मन दुखेको प्रधानमन्त्रीको गुनासो छ ।
भारतको गोवामा भएको ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच लिडर लाउन्जमा संयुक्त भेट भएको थियो । सम्मेलनमा सहभागी भएर सोमबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यो भेटलाई दुर्लभ र सुखद संयोग भनेका हुन् ।p
चिनियाँ राष्ट्रपति भेटेर फर्कने क्रममा लाउन्जमा बसिरहेका बेला सी आफू भएको ठाउँमा आएको र करिव २० मिनेट खुलेर कुरा भएको प्रधानमन्त्रीले बताए ।
आफू र चिनियाँ राष्ट्रपति सीबीच नेपाल भ्रमणका साथै विगतमा भएको सहमति कार्यान्वयन लगायतका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्री प्रचणडले जानकारी दिएका छन् ।
आफ्नो दक्षिणतिर मोदी र उत्तरतिर सी बसेको प्रसंगबाट सम्वाद सुरु गर्दै आफूले त्रिदेशीय साझेदारी र त्यसबाट नेपालले लाभ लिन चाहेको कुरा राखेको प्रचण्डले बताए । उनले भने, ‘यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ । तर, कुनै समझदारी भएको होइन ।’pp
अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा आफूले नेपालको हितको पक्षमा दह्रोसँग कुरा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले मोदी र सीसँगको संयुक्त भेटपछि आफ्नो छाती गर्वले फुलेको बताए । उनले अघि भने, ‘तर, यहाँ नकारात्मक कुराहरु पनि भएछन् । मलाई नराम्रोसँग चित्त दुखेको छ ।’
आफूले नेपालको शीर ठाडो हुने गरी भूमिका खेल्दा पनि नकारात्मक रुपमा हेरिएको उनको गुनासो छ ।