एमालेको सहमतिबिना संविधान संशोधन हुन्न : मन्त्री भण्डारी

Shankar_Bhandari_Congressकावासोती, कात्तिक २ – वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन् । नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत उनले बताए । सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने वनमन्त्री भण्डारीले जानकारी दिए । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उनले बताए ।

संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय सभासहित केन्द्रको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ, मन्त्री भण्डारीले भने, “स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ ।” स्थानीय तहको पुनःसंरचनाका विषयमा संवैधानिक आयोग र सरकारबीचको केही कुरा मिल्न बाँकी छ कुरा मिलेन भने पनि चुनाव गर्नुपर्ने उनको जिकिर छ ।