सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन

सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन

के–के काम भयो ?
क्यानले मूलपानीमा मैदान निर्माण कार्य सन् २००७ देखि थालेको हो । सरकारले मैदान सम्याउन एक करोड बजेट उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको थियो । लामा कन्ट्रक्सनले ०६४ मा ८० लाख रुपैयाँमा मैदान सम्याएको थियो । त्यही वर्ष गौरा कन्स्ट्रक्सनले चार करोडमा पेभिलियन निर्माण गर्ने ठेक्का पायो । गौराले तीन वर्षमा पेभिलियन निर्माण सक्दै क्यानलाई हस्तान्तरण गरिसकेको छ । ०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए । सातवटा पिच निर्माण गर्न १५ लाख लगानी लागेको थियो । ०६९ मा गौराले ६५ लाख रुपैयाँ लगानीमा पर्खाल बनाएपछि मैदान निर्माण कार्य रोकिएको छ ।

के–के काम बाँकी छ ?
निर्माण कार्य रोकिए पनि मूलपानी मैदानले स्वरूप भने लिइसकेको छ । मैदानलाई खेल्नयोग्य बनाउन तीनवटा काम बाँकी रहेको क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाले जानकारी दिए । ‘पिचलाई पूर्णता, मैदानको सतह मिलाउने र तारबार लगाउन सके खेल्नयोग्य हुन्छ,’ लामाले भने, ‘त्यसका लागि बजेट पनि धेरै लाग्दैन । लगभग १७ लाख बजेट उपलब्ध भए ४५ दिनभित्र मैदानलाई खेल्नयोग्न बनाउन सकिन्छ ।’

क्रिकेट मैदान बनाउन सरकार सकारात्मक
मूलपानी मैदानलाई खेल्नयोग्न बनाउन सरकार सकारात्मक रहेको खेलकुदमन्त्री दलजित श्रीपालीले नयाँ पत्रिकालाई बताए । ‘जे कारणले निर्माण कार्य हुन नसके पनि मूलपानी मैदान सरकारको सम्पत्ति हो,’ श्रीपालीले भने, ‘मैदानलाई खेल्नयोग्य बनाउन तत्काल कदम चाल्छु ।’ श्रीपालीले मूलपानी मैदानको हालको अवस्थाबारे अध्ययन गरेपछि मात्र काम अघि बढाउने पनि बताए ।

अख्तियार मुद्दाले काम हुन सकेन
०६९ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङसहित ११ जना क्यानका पदाधिकारीसहित १५ जनालाई मूलपानी मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो । अख्तियारले पदाधिकारीबाट एक करोड ४३ लाख र त्यसको असुलउपर मागसहित मुद्दा दायर गरेको थियो । त्यसलगत्तै मैदान निर्माण ठप्प भयो । ‘अख्तियारको मुद्दापछि निर्माण कार्य रोकिएको हो,’ आङबुहाङले नयाँ पत्रिकासँग भने, ‘हामीले मैदानको सतह मिलाउनेबाहेक अन्य काम सकेका थियौँ ।’ दुई वर्षपछि पदाधिकारीले सफाइ पाएका थिए । त्यसको एक महिनापछि भएको क्यानको निर्वाचनपछि नेपाली क्रिकेटको विवादले चरम रूप लियो, जसका कारण आइसिसीले क्यानलाई निलम्बन ग-यो ।

तल्लो मैदानको अवस्थामा पनि उस्तै
सरकारले निर्माण कार्य थालेको मूलपानीको तल्लो रंगशालाको कार्य पनि ढिलाइ भएको छ  । गत वैशाखसम्म सक्ने गरी सम्झौता भएको तल्लो मैदानको निर्माण कार्य सकिने मितिको अझै टुंगो छैन । ‘तल्लो मैदानको निर्माण कार्य ८० प्र्रतिशत सकिएको छ,’ खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले नयाँ पत्रिकासँग भने, ‘जग्गा मुआब्जाको विवादका कारण अहिले रोकिएको छ ।’ उनका अनुसार ५२ आना मुआब्जा विवाद मिलाउन जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया अघि बढेको छ । ‘मुआब्जा विवाद हामी चाँडै टुंग्याउँछौँ, त्यसपछि निर्माण कार्य तीव्र गतिमा अघि बढ्छ,’ उनले भने । मैदानको पहिलो चरणको कामका लागि प्रेरा-प्रतिष्ठा-मुन्ना एन्ड आचार्य जेभीले १४ करोड ६३ लाख २४ हजारमा ठेक्का पाएको थियो । उक्त कार्य अझै सकिएको छैन ।

परिषद् आफैँ अग्रसर
परिषद्ले मूलपानी क्रिकेट मैदान निर्माण गर्न क्यानलाई जिम्मेवारी दिएको थियो । त्यसवेला क्यानका पदाधिकारीले मैदान भए आफैँले रंगशाला बनाउने प्रतिबद्धता गरेका थिए । पछि पदाधिकारीले परिषद्सँग मैदान बनाउन आर्थिक सहयोग मागेको राखेपअन्तर्गत निर्माण विभाग प्रमुख अरुण उपाध्याय बताउँछन् । ‘पहिले क्यानका पदाधिकारीले जग्गा उपलब्ध भए आफैँ रंगशाला बनाउने भनेका थिए, तर उनीहरूले विस्तारै परिषद्सँग सहयोग माग्न थाले,’ उपाध्यायले भने । उनका अनुसार परिषद्ले ०७१ सालदेखि मैदान बनाइरहेको छ ।

१५ करोडभन्दा धेरै बजेट निकासा
मूलपानी क्रिकेट मैदानको निर्माण कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक वर्ष बजेट निकासा गरिरहेको छ । परिषद्ले आर्थिक वर्ष ०६९-७० देखि ०७२-७३ सम्म १५ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको देखिन्छ । मूलपानीमा तल्लो र माथिल्लो मैदान भए पनि मूलपानी क्रिकेट मैदान शीर्षकमा बजेट निकासा भएको परिषद्का आर्थिक विभाग प्रमुख कपिलमणि पोरखेलले बताए । ‘हामीले प्रत्येक वर्ष मूलपानी मैदान शीर्षकअनुसार बजेट निकासा गरिरहेका छौँ,’ उनले भने ।

परिषद्का अनुसार आव ०७१-७२ मा आठ करोड ४५ लाख ५६ हजार र ०७२-७३ मा ६ करोड १८ लाख बजेट निकासा भएको थियो । त्यस्तै, मैदानमा तारबार लगाउन आव ०७०-७१ मा पाँच लाख ७८ हजार विनियोजन भएको थियो । आव ०६९-७० मा तल्लो मैदानका लागि भनी एकपटक ३० लाख र अर्कोपटक ५० लाख निकासा भएको पोखरेलले बताए ।