त्रिदेशीय साझेदारीले क्षेत्रीय विकास र स्थिरता : चीन

‘नेपाल र भारत चीनका  मैत्रीपूर्ण छिमेकी देश हुन् । हामी विश्वास गर्छौँ यी तीन देशबीचको द्विपक्षीय सम्बन्धका अन्तत्र्रिmयाले सामाजिक र आर्थिक विकास मात्र होइन, क्षेत्रीय स्थिरता र विकासमा पनि योगदान दिनेछ,’ हुवाले पत्रकार सम्मेलनमा भनिन्, ‘चीन त्रिदेशीय सहकार्यमार्फत कसरी तीनै देशलाई समान विकासको फाइदा पुग्न सक्छ भनेर सम्भावना खोज्न चाहन्छ ।’

ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा प्रधानमन्त्री प्रचण्डले भारतीय  समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको अनौपचारिक भेटमा त्रिदेशीय साझेदारीको विषय उठाएका थिए । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले त्रिपक्षीय सहकार्यबारे छलफल भएको विषयमा पनि प्रवक्ता हुवास“ग जिज्ञासा राखेका थिए ।

विकासका रणनीति तय गर्न चीन तयार

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले नेपाल र चीन साझा हिमालय र नदीले जोडिएका नजिकका छिमेकी भएको बताइन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा उतारचढाव आए पनि नेपाल र चीनबीचको सम्बन्ध तीव्र गतिमा विकास भएको बताइन् । नेपालसँग समुदायबीचको सम्बन्ध बलियो बनाउने विकासका रणनीति तय गर्न चीन तयार रहेको पनि उनको भनाइ थियो ।

गोवामा प्रचण्ड र सीबीचको भेटमा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने र मूल हितमा एक–अर्कालाई सहयोग गर्नुपर्ने धारणा व्यक्त भएको प्रवक्ता हुवाले जानकारी दिइन् । हुवाले नेपाल र चीनबीच विकास साझेदारीका लागि सम्पर्क, खुला व्यापार तथा ऊर्जामा दुई पक्षबीच सहमति हुनुपर्नेमा जोड दिएकी थिइन् । भूकम्पपछिको पुनर्निर्माण, भौतिक संरचना सुधारसम्बन्धी परियोजना, सांस्कृतिक सम्पदाको मर्मतसम्भारलगायतमा थप सहयोग गर्ने चीनको चाहना रहेको पनि उनले बताइन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

लगानी बढाउन चिनियाँ उद्योगीलाई आह्वान
प्रवक्ता हुवाले चीनका ठूला लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिने बताइन् । उनले औद्योगिक पार्क, कृषिको आधुनिकीकरण, हाइड्रोपावरजस्ता क्षेत्रमा लगानी गर्न चिनियाँ उद्योगीलाई आह्वानसमेत गरेकी थिइन् । हुवाले नेपाल र चीनबीचको सम्बन्ध बलियो बनाउन पर्यटन, शिक्षा, संस्कृति, युवा, सञ्चार क्षेत्रका भ्रमण आदानप्रदान हुनुपर्नेसमेत बताइन् ।