तस्कर छाड्न नमान्दा मन्त्रीले गरे तीन एसपीको सरुवा

Bimlendra-Nidhi_281256586काठमाडौं, कात्तिक ३ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गैरकानुनी आदेश अस्वीकार गर्दा तीन प्रहरी उपरीक्षक (एस्पी) कारबाहीमा परेका छन् । गैरकानुनी काम गर्ने अभियुक्तलाई छाड्न नमानेका कारण निधिको ठाडो आदेशमा तीन जिल्लाका नेतृत्व गरिरहेका एसपीलाई कारबाहीस्वरूप सरुवा गरिएको हो ।

आफूअनुकूल काम नगरेकालाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नभएको मौकामा सोमबार प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको छ । प्रहरी महानिरीक्षक अर्याल अमेरिकामा रहेको बेला मन्त्रीको आदेश अस्वीकार गर्न नसकी कार्यवाहक प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नै उनीहरूलाई सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालयको नियमित सरुवा बाँकी हुँदै मन्त्री निधिले गम्भीर अपराधमा संलग्न रहेका आफ्ना कार्यकर्ता छोड्न अटेर गरेको र अवैध हुन्डी कारोबारीलाई पनि छाड्न नमानेका कारण तीन एसपीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानेका हुन् । मधेस आन्दोलनका क्रममा पर्सा पुगेका राजुबाबु श्रेष्ठ, धनुषा पठाइएका रामदत्त जोशी र सिरहा पठाइएका श्याम ज्ञवालीलाई मन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले नियमित सरुवाभन्दा पहिला नै प्रधान कार्यालय झिकाएको छ ।