दिक्तेल–जयरामघाट सडक छ महिनापछि सञ्चालनमा

खोटाङ, ३ कात्तिक – वर्षा लागेसँगै अवरुद्ध दिक्तेल–जयरामघाट सडक छ महिनापछि सञ्चालनमा आएको छ । वर्षातको पानीले खाल्डाखुल्डी पार्नुका साथै हिलाम्मे भएर अवरुद्ध बनेको सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।

गत जेठ दोस्रो हप्तादेखि अवरुद्ध सडक जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, स–शस्त्र प्रहरी र यातायात व्यवसायीले मर्मत गरेपछि सञ्चालनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताए । सचिव हिङ्माङका अनुसार अवरुद्ध सडक सञ्चालनमा आएसँगै दिक्तेलबाट जयरामघाटसम्म सिधा यातायातसमेत सुरु भएको छ ।

जयरामघाटदेखि दिक्तेलको मुडेसम्म मात्र आंशिक रुपमा यातायात सञ्चालन हुँदै आएकोमा जयरामघाटसम्म सिधा यातायात सेवा सुरु भएपछि यात्रुलाई समेत सहज भएको छ । दिक्तेल–जयरामघाट सिधा यातायात सुरु भएपछि दिक्तेलदेखि मुडेसम्म करिब दुई घन्टा हिँडेर बस चढ्नुपर्ने समस्या हटेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–जयरामघाट सडक सञ्चालनमा आएपछि दिक्तेलबाट दैनिक पाँचवटा बस सन्चालन गर्न थालिएको यातायात व्यवसायीले जनाएको छ । दसैँ मानेर सहर फर्कने यात्रुको चाप बढी भएकाले थप बस सञ्चालन गर्ने तयारीसमेत गरिएको सचिव हिङ्माङले जानकारी दिए ।

कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडक हरेक वर्ष वर्षातको समयमा अवरुद्ध हुने गरेको छ । करिब छ महिना मात्र सञ्चालन हुँदै आएको उक्त सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमा कालोपत्र हुन सकेको छैन ।

जिल्लाका अन्य सडक अझै अवरुद्ध छन् । तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।