दुर्घटनापछि स्थगित डुङ्गा सेवा पुनः सञ्चालन

इलाम, कात्तिक ३ । दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ ।

गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि डुङ्गा सञ्चालन स्थगित गरिएको थियो । यात्रुको सहजतालाई मध्यनजर गर्दै कोदोबारी दोभानमा डुङ्गा सञ्चालन गरिएको हो । यसअघि पनि सोही स्थानबाट डुङ्गा सञ्चालन हुँदै आएको थियो ।

dunga

दुर्घटनास्थल लोदिया दोभानमा भने अझसम्म डुङ्गा सञ्चालनमा आउन नसकेको चन्द्र तामाङले जानकारी दिनुभयो । अहिले चण्डालघाटमा सञ्चालित डुङ्गाका लागि १० र कोदोबारीको डुङ्गाका लागि सातवटा लाइफ ज्याकेटको व्यवस्था गरिएको छ ।

बाँकी लाइफ ज्याकेट र ट्युब महमाई गाविसले अन्य सहयोगी निकायसँग सहकार्य गरी खरिद गरी वितरण गर्ने गाविस सचिव चन्द्र पौडेलले बताए । दुर्घटनालाई मध्यनजर गर्दै प्रहरी चौकी र गाविस कर्मचारीको निगरानीमा अहिले डुङ्गा सञ्चालन भएको हो ।
माईखोलामा अब डुङ्गा सञ्चालन गर्दा एकपटकमा १५ जनाभन्दा बढी यात्रु चढाउन नपाइने भएको छ । माईखोलामा भएको डुङ्गा दुर्घटनापछि बसेको महमाईका राजनीतिक दल संयन्त्रको भेलाले यस्तो निर्णय गरेको हो । डुङ्गामा चढ्ने सबै यात्रुले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । सम्भावित दुर्घटना न्यूनीकरण, सुरक्षित र व्यवस्थित सञ्चालन गर्नका लागि डुङ्गामा चढ्ने यात्रुको नाम, थर, वतनसहितको रेकर्ड राखिने भएको छ ।

मनपरी शुल्क असुल्दै आएका डुङ्गा व्यवसायीले अबदेखि जिल्ला विकास समिति इलामसँग २०७० साल साउनमा भएको सम्झौतामा उल्लेख भएबमोजिमको मात्र शुल्क उठाउन पाउनेछन् । तोकिएभन्दा बढी शुल्क उठाएमा कारबाहीको दायरामा ल्याउन सकिने गाविस सचिव पौडेलले बताए । यसअघि माईखोलामा सञ्चालित डुङ्गाले रु ३० देखि दुई सय रूपैयाँसम्म शुल्क लिँदै आएका थिए ।