बीमाबापत अहिलेसम्म १२ अर्ब रुपैँया भुक्तानी

काठमाडौँ,कात्तिक ३ । गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमाबापत अहिलेसम्म १२ अर्ब तीन करोड दुई लाख रुपैँया भुक्तानी गरिएको छ ।
बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको प्रिमियम भुक्तानी भई सो रकम विभिन्न बीमा कम्पनीमार्फत घरधनीलाई उपलब्ध गराएको जनाएको छ । सो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पबाट आवासीय घर तथा ठूला महलको समेत क्षति भएको थियो ।
समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बीमाप्रति सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसारको अभिवृद्धि गरिएपछि अहिले त्यसप्रति उनीहरुको चासो र सरोकार वृद्धि भएकामा खुसी व्यक्त गरे ।

उनले बीमा व्यवसायबाट आव २०७१÷७२ मा ३६ अर्ब २८ करोड ९० लाख रुपैँया बीमा शुल्क आर्जन भएको जानकारी दिँदै २०७०÷७१ मा ३० अर्ब ४३ करोड १३ लाख रुपैँया बीमा शुल्क आर्जन भएको बताए । सो रकम १९ प्रतिशतले बढी हो ।

विसं २०२५ मा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्नका लागि नियमकारी निकायका रुपमा अर्थ मन्त्रालयको एकाइका रुपमा बीमा समितिको स्थापना भएको थियो । विसं २०४९ मा आएको बीमा ऐनले सो व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक जिम्मेवारीका साथ स्वायत्त संस्थाका रुपमा समितिलाई स्थापित गरेको हो ।

lakha

सम्बन्धित घरधनीले भूकम्प जानुअगाडि बीमा गरेका ती घर, अपार्टमेन्ट तथा मलको सङ्ख्या १७ हजार आठ सय ४० घर रहेको र सोही अनुसारको दाबी परेकामा एक हजार चार सय ९७ घरको प्रिमियम भुक्तानीको प्रक्रिया चलिरहेको छ ।

केही जटिल प्रक्रियाका समस्या रहेका दाबीउपर बीमा दाबी उजुरी छानबिन समितिले छानबिन गरिरहेको समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार एकपटक भुक्तानी भएपछि पुनः आएका परकम्पबाट क्षति भएका घर तथा आवास भत्किएकाले पनि समस्या बढेको छ ।

नेपालमा नौवटा जीवन बीमा कम्पनी तथा १६ वटा निर्जीवन बीमा कम्पनी कार्यरत छन् । घर, मोटरलगायतको गरिने बीमा निर्जीवन कम्पनीले गर्ने गर्दछन् । बीमा गर्न चाहने सर्वसाधारणलाई बीमाप्रति आकर्षित गराउनका लागि पछिल्लो समय बीमा समितिले सबै कम्पनीलाई थप व्यवस्थित बनाउन चुक्ता पुँजी बढाउन आग्रह गरेको छ ।

अर्थशास्त्री राधेश्याम मालाकारले कुनै पनि विपत् तथा भवितव्यबाट जीवन तथा भौतिक सम्पत्ति जोखिममा रहँदा नजिकका आफन्तले त्यसको क्षति प्राप्त गर्न सक्ने हुँदा बीमा सेवालाई ग्रामीण भेगसम्म पु¥याउन खाँचो रहेको बताए ।

क्यानाडामा अर्थशास्त्रमा विद्यावारिधि पूरा गर्न लागेका मालाकारले भने–“बीमा भनेको एउटाको जोखिम अर्काले उठाउने हो ।” अहिले कृषि, पशुपालन, विभिन्न बाली तथा उद्योगमा पनि बीमाको व्यवस्था भएको छ ।