सबै राजनीतिक दलहरु आर्थिक विकासकामा प्रतिवद्ध भए छिट्टै समृद्धि : महत

कञ्चरपुर, पुस २६ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय ढंगले विभाजित गर्ने विकृतिपूर्ण राजनीति नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।
सुदूरपश्चिमी जिल्लाहरुको भ्रमणको क्रममा कञ्चरपुर पुगेका नेता डा. महतले भने, बर्षौदेखि एकजुट भै मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम हुँदैछ । यो विकृतिपूर्ण राजनीति हो र यसलाई हामीले बढावा दिनु हुँदैन, बन्द गर्नुपर्छ । संसारमा सबैले मानेको राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक व्यवस्था नै भएकाले यस व्यवस्थामा अहिले सबै राजनीतिक दलहरु उभिएको उनले बताए । छन ।
उनले नेपालका सबै राजनीतिक शक्तिहरु अहिले लोकतान्त्रिक राजनीतिक प्रणालीमा आइसकेको र उनीहरुले कांग्रेसले अंगालेको आर्थिक नीति नै अगाल्न थालेकोले पार्टीका सबैले गौरव गर्नुपर्ने बताए । उनले भने, ०४६ को परिवर्तनपछि नेपालको अर्थतन्त्रको आधुनिकीकरण गरेको र पूर्वाधारको जग बसाएको कांग्रेसले हो । आज गाउँ गाउँमा सडक पुग्नु, शैक्षिक र स्वास्थ्य संस्थाको विकास, खानेपानीमा पहुँच, सञ्चार तथा उड्ड्यान क्षेत्रको विकास कांग्रेसको आर्थिक नीतिका कारणले भएको हो ।
नेता डा. महतले आगामी दिनमा आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, स्वदेशमै प्रशस्त रोजगारी सिर्जना हुनुपर्छ, स्वदेशी तथा विदेशी लगानीलाई कसैले पनि रोक्ने चेष्टा गर्नुहुँदैन । लगानी परिचालित नभै मुलुक र मुलुकबासीको उन्नति संभव छैन ।
सबै राजनीतिक दलहरु आर्थिक विकासका लागि पूर्ण प्रतिवद्धताका साथ लागेमा छिटै नै समृद्धि हासिल गर्न सकिने उनले बताए । संगठन सुदृढिकरण अभियान अन्तर्गत कञ्चनपुर जिल्ला कांग्रेसले आयोजना गरेको सो कार्यक्रममा सभापति हरि बोहोरा, सांसद रामकृष्ण यादव, बहादुरसिंह थापा, चन्द्रा जोशी, पूर्व सांसद गंगादत्त जोशी, भोजराज बोहोरा, क्षितिज भण्डारी लगायतका वक्ताहरुले सवचार व्यक्त गरेका थिए ।

Loading...