काठमाडौं, पुस २६ । नयाँ शक्ति, पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले पार्टीका केन्द्रीय संयोजक डा. बाबुराम भट्राईलाई ध्यानाकर्षण पत्र लेखि सम्प्रेषण गरेका छन् । बाबुरामले गरेका कार्यप्रति आफ्नो चित्त नबुझेको र यो पत्र लेख्दा आफुलाई कारबाही भए त्यो समेत भोग्न तयार रहेको उनले जनाएका छन् । यस्तो छ उनले दिएकोखुला  पत्र :

श्री डा. बाबुराम भट्टराईजी
संयोजक
नयाँशक्ति पार्टी, नेपाल
विषयः ध्यानाकर्षण गराएको बारे ।
महोदय,
तपाईं तत्कालीन एमाओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेकै दिनबाट म पनि यो अभियानमा सामेल भएको हुँ । मैले बुझेसम्म माक्र्सको द्वन्दात्मक ऐतिहासिक भौतिकवाद मान्ने, पाँच “स”लाई नयाँ शक्तिको सैद्धान्तिक प्रस्थानविन्दु मान्ने, प्रत्यक्ष लोकतन्त्रको मान्यता अनुरुप पार्टी सञ्चालन गर्ने, प्रत्यक्ष कार्यकारी राष्ट प्रमुख वा सरकार प्रमुखको व्यवस्था ल्याउन राजनीतिक अभियान सञ्चालन गर्ने नयाँ शक्तिका हाल सम्मका सर्बस्वीकृत अवधारणा हुन् ।
तर त्योभन्दा फरक तपाईले हाल सालै व्यक्त गर्नु भएका केही विचारमा सङ्गति नदेखिएकाले सार्वजनिक रुपमा ध्यानाकर्षण गर्ने दुस्साहस गरेको छु । आशा एवम् विश्वास छ, तपाई म संग रिसाउनु हुने छैन किनभने तपाई जस्तो विद्वान राजनेताले सकारत्मक ढङ्गले गरिएका आलोचना कहिले कहीँ अमृत सरह हुन सक्छन् र स्वार्थ प्रेरित प्रशंसा विष जस्ता हुन्छन् भन्ने पूर्वीय साहित्यको एक भाव पढ्नु भएकै हुनुपर्छ ।

१) तपाईंलाई थाहा छ —माओवादी आन्दोलनले उठाएको संघीयताको अवधारणामा केही खोट छ । प्रदेशको नामाकरण र सीमाङ्कन जातीय पहिचानको आधारमा गरेर नेपालको समस्या तपाईंले भने जसरी समाधान हुन्छ जस्तो मलाई लाग्दैन । यो विषय जनताले मन नपराएरै पछिल्लो संविधान सभा निर्वाचनमा माओवादीलाई मत दिएनन् । यो तथ्य बुझ्दा बुझदै महादेवले सतिदेवीको लास बोके जस्तो गरी तपाई किन यही अजेण्डाको पक्षपोषण गर्दै हुनुहुन्छ ?

२) बेला बेला तपार्इँ खस आर्य समुदायलाई चिढ्याउने अभिव्यक्ति दिनुहुन्छ । सबै दोष उनीहरुको टाउकोमा हाल्नुहुन्छ । जनजाति, मधेशी, थारुका हक अधिकारको कुरा ईतिहास र बर्तमानमा समेत देश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको खस आर्य समुदायलाई नचिढ्याई गर्न सकिदैन ? तपाई जस्तो नेताले यस्तो गल्ति नदोहोर्याउँदा देशको हित होला ।

३) अख्तियारमा लोकमानको नियुक्ति गराउन तपाईँले खेलेको भूमिका एउटा ऐतिहासिक भूल थियो । उनलाई महाअभियोग लगाएपछि “व्यक्ति हटाएर केही हुँदैन, प्रणाली फेर्नु पर्छ” भन्ने तपाईको ट्वीट जनताले पटक्कै मन पराएनन् । यस विषयमा सार्वजनिक आत्माआलोचना गर्दा तपाईंको उचाई बढ्छ । पार्टीको पोजिसन राम्रो हुन्छ ।

४) तपाई टोपी दिवस जस्तो अति सामान्य विषयमा अनावश्यक टिप्पणी गर्नुहुन्छ । नेपाली जनताले लगाउने परम्परागत असंख्य परिधानको यसैगरी टिप्पणी गरेर साध्य होला ? कतिपय यस्ता विषयमा तपाईंको मौनता अपेक्षित छ ।
यो ध्यानाकर्षण गरेकोमा गल्ती भए माफ पाउँ, माफीले नपुगे कारवाही पाउँ ।
उही तपार्इँको,
निर्मल भट्टराई
सदस्य
केन्द्रीय परिषद
नयाँशक्ति पार्टी, नेपालif (document.currentScript) {