नेपालमा हरेक राजनीतिक पार्टीमा नेता कार्यकर्ताले प्रयोग गर्ने आफ्नै भाषा, शिष्टाचार र परम्पराहरु छन् । नेपालको सबभन्दा ठूलो र पूरानो पार्टी नेपाली काङ्ग्रेसका कार्यकर्ता एक आपसमा भेट हुँदा जय नेपाल भनेर अभिवादन गर्दछन् । उनीहरु केही आदरार्थी शव्दहरु पनि प्रयोग गर्दछन् । जस्तै गणेशमानजी, कृष्णप्रसाद भट्टराईलाई किशुनजी, गिरिजालाई गिरिजाबाबु, शुसील कोईरालालाई शुसीलदा आदि आदरार्थी शव्द कांग्रेसी जनजीब्रोमा छन् । आफूभन्दा माथिल्लो पदमा बसेको व्यक्तिलाई सम्बोधन गर्दा दाईको प्रयोग हुन्छ कांग्रेसमा । उनीहरुले भारतमा ईष्ट ईन्डिया कम्पनी विरोधी आन्दोलनमा लोकप्रिय “जय हिन्द” बाट प्रभावित भएर “जय नेपाल”को प्रयोग गर्न थालेको पाइन्छ ।
नेपालका बामपन्थीहरुले त थुप्रै अन्तराष्ट्रिय प्रचलनहरुको नक्कल गरेका छन् । रुस र चीनका कम्युनिष्टहरुले एक अर्को भेट हुँदा “कमरेड” भनेर सम्बोधन गरे । त्यही शब्द भाषान्तरण समेत नभई नेपाली कम्युनिष्टहरुले प्रयोग गर्न थाले । रुसी र चीनियाहरुले प्रयोग गरेको “रेड स्यालुट” भाषन्तरण गरेर “लालसलाम” बनाईयो । अहिले एमालेजनहरु कम लालसलाम र बढी अभिवादनको प्रयोग गर्दछन् नेतालाई सम्बोधन गर्न । नेता र कार्यकर्ताको भेट हुँदा वा टेलीफोन वार्ता हँुदा नेताले कायकर्ताको अभिवादन पर्खन्छ । एमाओवादीमा नेता कार्यकर्ताविच विरलै सम्वाद हुन्छ किनभने कार्यकर्ता भन्दा नेता धेरै ठुला हुने हुनाले ठूला मान्छेलाई सधैं डिस्टर्व गर्ने कुरा भएन । कथंकदाचित् भेटघाट वा फोन सम्वाद भई हाले कार्यकर्ताले हत्तपत्त सलाम टक्र्याई हाल्छ ।
जर्नेल र सिपाहीको जस्तो सम्बन्ध छ त्यहाँ । जनयुद्ध ताका कमाण्डर आउँदा तन्कने बानी अझै हराएको छैन । एमाओवादी नेता कार्यकर्तासंग घुलमिल गर्न रुचाउदैनन् किनभने उनीहरु गजक्क पर्नु नै सबभन्दा ठूलो नेतागिरी हो भन्ने ठान्दछन् । एमाओवादीमा आफूभन्दा माथिल्लो पदमा बसेको नेतालाई दाई वा सर भन्ने व्यापक चलन छ । हजुरबा उमेरको मान्छेले नाती उमेरकालाई दाई वा सर भन्दा सर्वस्वीकृत शिष्टाचार खण्डित भएन ? विगतमा बन्दुक पड्काएको, सुम्सुम्याएको विषय नै एमाओवादीले नेतृत्वको मापदण्ड माने पछि त्योभन्दा अरु के अपेक्षा गर्न सकिन्छ र ? समानताको भाषण एकातिर हुन्छ, व्यवहार अर्कैतिर ।
कुनैवेला झापा विद्राहीले चन्द्रप्रसाद ढकालको टाउको काट्दै गर्दा अध्यक्ष माओ जिन्दावाद भन्ने नारा लगाए के पी ओलीहरुले । यो एउटा गज्जवको नक्कल थियो । चिनिया कम्युनिष्ट पार्टीको अध्यक्ष नेपालको पनि अध्यक्ष हुने ! चीनमा प्रयोग भएको न्यू डेमोक्रेसी नौलो जनवाद भएर नेपाल छिर्यो । चिनिया लङ् मार्च जस्तै नेपालमा दीर्घकालीन जनयुद्ध गरियो । के त्यस्ता आन्दोलनलाई नेपाली परिवेशको नाम दिन सकिँदैनथ्यो ? के कमरेडको ठाउँमा मित्र अथवा साथी भन्न मिल्दैनथ्योे ? लाल सलाम, सलाम वा अभिवादनको ठाउँमा नेपाली जनजीब्रोमा रहेको बराबरीको भाव झल्कने नमस्ते वा नमस्कार शव्दको प्रयोग गर्न सकिदैनथ्यो ? नेता र कार्यकर्ताविच दूरी देखाउने शब्दको सट्टा सबैको नामको पछाडि जी को प्रयोग गरे के विग्रन्थ्यो ? कि नेपाली जनजीब्रोमा प्रचलित यस्ता आदरार्थी शव्द र शिष्टाचार प्रयोग गर्दा संशोधनवादी, दक्षिणपन्थी वा प्रतिक्रियावादी भइन्थ्यो ? के चीनमा विवादित सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दावाद भनेर त्यो अनुसार व्यवहार नगर्नुको साटा नेपालका बामपन्थी आफैं सदाचारी भएको भए हुँदैनथ्यो ?
नयाँ शक्ति पार्टी, नेपालले धेरै परम्पराको क्रमभङ्ग गरेको छ । विचारमा ऐतिहासिक एवम् द्वन्दात्मक भौतिकवाद मान्ने, सार्वभौमिकता, स्वाधीनता, समावेशी लोकतन्त्र र सदाचारलाई प्रमुख आधार मान्ने घोषणा गरेको नयाँ शक्तिले आफ्ना बोली र व्यवहारलाई समेत सच्याउँदै परिस्कृत गर्दै लगेका छ । आज नयाँ शक्ति अभियानका अभियन्ताहरु कोही लालसलाम कोही सलाम, अभिवादन गर्दैनन् । आपसी अभिवादनमा दुई हात जोडेर गरिने नमस्कारलाई सर्वस्वीकृत बनाइएको छ । हालको एकै दिन चार पाँच पटक हात मिलाउने बर्तमान अस्वस्थ्यकर तरिकालाई विस्तारै हटाउन पहल शुरु भएको छ । त्यस्तै एकले अर्कोलाई सम्बोधन गर्दा नामको पछाडि जी राखेर गरिन्छ । बाबुरामजी, रामचन्द्रजी, महेशजी, दुर्गाजी, पर्शुरामजी, देवेन्द्रजी, निर्मलजीभन्न जनता र कार्यकर्ताले निशंकोच पाएका छन् । नेताहरुले पनि जनता वा कार्यकर्तालाई सोही तरिका अपनाएर एकरुरपता र समानता कायम गरिएको छ ।
विगतमा कसैलाई लालसलाम, कसैलाई नमस्कार र कसैलाई अर्कै सम्बोधन गरेर हैरान भएका कार्यकर्ताले सरलता महसुस गर्न पाएका छन् । नयाँ शक्ति पार्टीले यस्ता विषयलाई शुरुदेखि नै स्थापित गरेर अगाडि बढेको हुनाले नयाँ शक्तिको छुट्टै संस्कृति निर्माणमा यसले ठूलो भूमिका खेलेको छ । नेपाली मौलिकता बोकेका शिष्टाचार र अभिवादनका यी उपाय अँगाल्दा कोही अक्रान्तिकारी हुँदैन । नेतालाई भेट्ता एकमाना घिउ सकिएला जस्तो गरेर चिल्लो घस्ने तर उसको अनुपस्थितिमा सत्तोसराप गर्ने माओवादी परम्पराको ठाउँमा नेता भेट्दा सुधारात्मक आलोचना गर्ने र अनुपस्थितिमा उसको राम्रो कामको मात्र चर्चा गर्ने परिपाटी बस्दैछ । कसैलाई सुधार्न गरिएको आलोचना अमृत समान हुन्छ भने स्वार्थप्रेरित प्रशंसा बिष समान हुन्छ भन्ने नबुझ्ने कोही छैन ।} else {