काठमाडौं, २७ पुस । नयाँ शक्ति पार्टी, नेपालले नेपालमा मौलाइरहेको भ्रष्टाचार समृद्धिको बाधक भएको भन्दै भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बढी विवादमा आएको र यसबाट संस्थाको गरिमा र विश्वास घटेको उक्त पार्टीले ठहर गरेको छ । ‘घर घरमा नयाँ शक्ति अभियान – २०७३’ लाई व्यवस्थित र प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक आन्दोलन निर्माणका निम्ति गठित जनपरिचालन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको उपस्थिति र समितिका संयोजक रामकुमार शर्माको अध्यक्षतामा यसै साता बसेको बैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक तथा सामाजिक मुद्धाहरुलाई लिएर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । ३ चरणमा सम्पन्न हुने सामाजिक तथा राजनीतिक अभियानअन्तगर्त पार्टीले गाउँदेखि केन्द्रसम्म भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी परिपत्रमा भनिएको छ, ‘सबैभन्दा भ्रष्ट व्यक्तिलाई आयोगको प्रमुख बनाईनु र स्वार्थमा लाग्ने भएपछि महाअभियोगको नाटक रच्नु दुवैले आयोगको गरिमा र विश्वास घटेको छ । यस्तो स्थितिमा अधिकार सम्पन्न, स्वतन्त्र एवम् निष्पक्ष लोकपाल गठन गरिनुपर्दछ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ । त्यसले मात्र भ्रष्ट शासक, प्रशासक र नेताहरुलाई कारवाहीको दायरामा ल्याउन सक्दछ ।’
भ्रष्टाचारविरुद्ध भण्डाफोर कार्यक्रममा लोकपाल गठनका लागि बहस, अन्तरक्रिया, धर्ना, सत्याग्रह गर्नेदेखि भ्रष्टाचार वा फौजवादी अभियोगमा सजायँ पाएका भ्रष्ट नेताहरुको भण्डाफोर गर्दै चुनावमा उम्मेदवार हुनबाट रोक्नेसम्म कार्यक्रम रहेका छन् । यसैगरी ठुला नेता, कर्मचारी, उद्योगपति, व्यापारीहरुको भ्रष्टाचार एवम् अनियमितता पत्ता लगाई मुद्दा हाल्नेदेखि संसद विकास कोषको रकम दुरुपयोगविरुद्ध अभियान चलाउनेसम्मका कार्यक्रम रहेका छन् ।