भ्रामक समाचारको पछि नलाग्न अर्थमन्त्रालयको आग्रह

अर्थमन्त्री पुत्र भन्छन् – यो माओवादी बदनाम गर्ने खेलबाहेक केही होइन

काठमाडौं, पुस २७ – केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा संलग्न रहेको भनेर मंगलबार प्रकाशित एक समाचारको मन्त्रालयले खण्डन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री महरा पुत्र तथा उनका निजी सचिव राहुल महराले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका हुन् । उनले भ्रमात्मक समाचारको पछि नलाग्न समेत सबैसँग आग्रह गरेका छन् ।

मंगलबार दृष्टि साप्ताहिकले सुन तस्करीमा अर्थमन्त्री महरालाई जोडेर एक समाचार प्रकाशित गरेको थियो । दृष्टि एमालेनिकट पत्रिका मानिन्छ ।
‘आज एउटा साप्ताहिक पत्रिकामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुन बरामद भएको घटनामा माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नाम जोडेर भ्रमपूर्ण समाचार प्रकाशन गरेको देखियो,’ राहुलले फेसबुक स्ट्याटसमार्फत भ्रमात्मक समाचारको खण्डन गर्दै लेखेका छन्, ‘उक्त घटनाका सम्बन्धमा स्वयं माननीय उपप्रधानमन्त्रीज्यूबाट, मन्त्रालयका सचिव तथा सम्बन्धित निकायलाई बोलाएर घटनाको गम्भीर ढंगले छानबिन गरी दोषीलाइ कारबाही गर्न निर्देशन दिइसक्नुभएको र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो र भन्सार बिभागले अनुसन्धान गरिरहेको अवस्थामा माननिय मन्त्री ज्यूको नाम मुछेर अनावश्यक र भ्रमपूर्ण समाचार प्रकाशन गरेकोले उक्त समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ ।’
अर्थमन्त्री महराका अर्का छोरा निर्मल महरा एटमले त यसलाई गोयबल्स शैलीको संज्ञा दिएका छन् । उनले विगतमा युद्ध जितिरहेको माओवादीले हार्यो भनेर लेख्नेहरुले फेरि उस्तै गोयबल्स शैलीमा भ्रम फैलाउन खोजेको उल्लेख गरेका छन् । ‘हामिले युद्ध जितिरहँदा माओवादीहरु सखाप भए भनेर लेख्ने तिम्रा गोयबल्स शैलीहरु फेरि पनि जारी राख । त्यसले कुनै असर गर्ने छैन, बरु तस्कर र अपराधीहरु को हुन छिट्टै सार्वजनिक गर्न सरकारलाई सहयोग गरिने छ’ एटमले फेसबुक स्ट्याटसमा लेखेका छन् । एटमले पत्रकारिताको आफ्नै अस्तित्व भएको उल्लेख गर्दै यथार्थतामा बाँच्न र इष्र्या, डाहा र बार्गेनिङ नगर्न सुझाएका छन् ।