०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा थोरै नेता मात्रै पूर्णकालीन भएका थिए । ती थोरै नेतामध्येका एक हुन् – ध्रुव पराजुली । पार्टीलाई फलाउने फुलाउने काममा महत्त्वपूर्ण योगदान गरेका पराजुली यतिबेला माओवादीमा छैनन् । माओवादीले बाटो बिराएको भन्दै सिन्धुपाल्चोक जिल्लामा गुमनामप्राय: जीवन बिताइरहेका पराजुली जनताको नाम भजाएर फाइदा लुट्ने काम मात्रै भएको बताउँछन् ।

०५२ सालबाट प्रारम्भ भएको जनयुद्धमा सुरुवातकै चरणदेखि लाग्ने नेताहरुमध्ये एक तपाईं एक हुनुहुन्छ । ज्यान हत्केलामा राखेर माओवादी आन्दोलनलाई फुलाउने/फलाउने काम गर्नु भयो । त्यसको फल अरुले धमाधम टिपिरहँदा तपाईं भने पार्टी नै छाडेर गुटमनाम बसिरहनु भएको छ । किन यस्तो निर्णय लिएको ?

सारभूत रुपमा भन्दा म अहिलेको माओवादी जस्तो हुन सकिनँ, माओवादी मजस्तो हुन सकेन । माओवादी र मबीचको मिलनबिन्दू टाढा भएकैले यो पार्टीबाट अलग भएँ भन्दा सही होला ।

तपाईंले खोजेको माओवादी पार्टीचाहिँ कस्तो हो त ?

पहिलो कुरा माओवादी पार्टी विधि–संगत ढंगले चल्नुपर्ने थियो, तर माओवादीमा विधिले कहिल्यै ठाउँ पाएन ।माओवादीमा विधिले स्थान नपाउँदा नेता होइन, महाराजा जन्मिए । यो लगाम बिनाको घोडाजस्तै भयो । अर्को कुरा, कुनै पनि पार्टी पारदर्शी हुन जरुरी हुन्छ । माओवादी जस्तो वलिदानले स्थापित पार्टी अझै पारदर्शि हुन आवश्यक थियो । तर, यसमा अवसरवादी पार्टीमा भन्दा चर्को अरापदर्शिता देखापर्‍यो ।

समस्या त सबैतिर भइहाल्छ । समस्याबाट भाग्नेभन्दा पनि त्यसलाई निर्मूल पार्नतिर लाग्नुलाई वुद्धिमानी ठानिन्छ । समाधानतिर लाग्नु भएको भए तपाईंले खोजेको जस्तो माओवादी पार्टी बन्थ्यो कि ?

पार्टीलाई पारदर्शिसँगै विधिसंगत बनाइयो र आन्तरिक जनवादलाई व्यवस्थित गरियो भने कम्युनिजम नै लागू नभए पनि पार्टी सुदृढ बन्छ भन्ने मेरो विश्वास थियो । त्यसैले शान्ति प्रक्रियामा आएपछि लामै समय संघर्ष गरियो । ०६४ देखि ०७२ सम्म त पार्टी बनाउने भनेर गतिलै सँग लागियो । तर, हाम्रो प्रयासले केही हुन सकेन । जनयुद्धको अवसानपछि पार्टी पेन्डुलम भयो । हारको विकल्प जित र जितको विकल्प हार हुन्छ । तर पार्टी बीचमा रहँदा न हार, न जितको अवस्थाबाट गुज्रियो । यो पेन्डुलमको अवस्थाले देश र जनतालाई निकास नदिने सर्वमान्य कुरा थियो । तर, यो स्थितिमा पुगेको पार्टीलाई आन्तरिक जनवादको अभ्यास र पारदर्शिताको माध्यमबाट माथि उठाउने कुरा छलफलभन्दा माथि उठ्न सकेन । संसदीय प्रतिष्पर्धाबाहेक अर्को विकल्प दिन नसकेपछि माओवादी छाडेँ । छाडे पनि विगतप्रति कुनै गुनासो र पश्चाताप छैन ।

पार्टीभित्रको जुन बेथिती तपाईंले औंल्याउनु भयो, यसबारे पार्टी नेतृत्वबाट तपाईंले कस्तो पतिक्रिया पाउनु भयो त ?

लाभका कुरासँग मेरो खासै चासो थिएन । त्यसैले माओवादीको हरेक बैठकमा पार्टीले बाटो बिरायो, यसलाई पारदर्शी र व्यवस्थित बनाउनु पर्‍यो भनेर कुरा राख्नै म नै हुन्थेँ । देश र जनतालाई निकास दिन पहिचानसहितको विधिमा पार्टी संगठन चल्नुपर्छ भन्ने थियो । पार्टी नेतृत्वले पनि चीन, रसिया र उत्तर कोरियाको जस्तो नभएर आफ्नै मौलिकता अनुरुपको पार्टी बनाउनु पर्छ भन्ने गरेको थियो । तर, कुरा राम्रा गरे पनि व्यवहार कहिल्यै सुध्रिएन । कांग्रेस–एमालेको जस्तै व्यवहार देखाउन थालेपछि मैले नअल्मलिइकन पार्टी छाड्ने निष्कर्ष निकालेँ ।
हजारौंको बलिदानले स्थापित भएको पार्टी यतिधेरै अव्यवस्थित, अपारदर्शीचाहिँ किन र कसको कारणले भएको होला ? के लाग्छ तपाईंलाई ?
माओवादी दुर्गतिको दोष म व्यक्ति विशेषलाई दिन चाहन्नँ । व्यक्ति विशेषका कारण माओवादी कमजोर बनेको हुँदै होइन । पहिलो कुरा त हामी विगतमा अलि बढी आदर्शवादी बन्यौं । जनवाद, समाजवाद, कम्युनिजम ल्याउने कुरा आदर्श मात्रै थिए । जनयुद्धलाई उचाइ दिनका लागि पनि हामीले बढी आदर्शका कुरा गर्‍यौं कि ! दोस्रो कुरा, नेपालका छिमेकी देशहरुको आ–आफ्नै स्वार्थ छन् । नेपालको भूराजनीतिक अवस्थितलगायत कारणहरुले पनि माओवादी पार्टीलाई बिगार्‍यो जस्तो लाग्छ । तर हाम्रा छिमेकीहरुको चासो भए पनि प्रभावलाई न्यून पारेर सन्तुलित रहन सकिथ्यो । तर, माओवादी पार्टी यसमा चुक्यो ।

भनेपछि तपाईंहरुले हिजो देखेको सपना अब कहिल्यै पूरा नहुने गरी थला परेको हो ?

निकट भविष्यमा हामीले देखेको सपना पूरा हुने सम्भावना छैन । तर यसो भन्दैमा सम्भावनाको अन्त्य नै भयो भन्ने कुरामा म सहमत छैन । आज पूँजीवादको पनि विकल्प खोजिँदैछ । समाजवादको मृत्यु नै भयो भन्न त सकिन्न तर कम ब्याक हुन असम्भव देखिन्छ । पेरुमा क्रान्ति हुनुभन्दा अगाडि त कम्युनिजमको अन्त्य नै भयो भनिएको थियो । तर, पेरुले केही आश जगाएको थियो । त्यही आशाले हामीलाई उत्साहित बनाएको थियो । गोन्जालोको गिरफ्तारीपछि त्यही सम्भावना पनि अन्त्य भयो । तर, नेपालमा धिपधिप बलेको थियो । हामीलाई जनताले पनि साथ दिएका थिए । तर, विदेशीहरुको सामाना गर्ने सामथ्र्य नहुँदा हामी क्षति भोग्न बाध्य भयौं ।

माओवादी आन्दोलनको एउटा शक्ति विप्लव र वैद्य अहिले पनि पुरानै रटान लगाइरहेका छन् । यिनले पार लाउलान् त ?
हामी हिजो १०–१२ वर्षसम्म हिँडेको बाटो हो त्यो । फेरि पनि हामी त्यही बाटो हिँड्ने हो भने परिणति दोहोरिने छ । अर्को कुरा उहाँहरुसँग हामीले २० –२५ वर्ष सहकार्य गर्दा कति सामथ्र्य र ताकत छ भनेर राम्ररी बुझेका छौं । त्यसैले मचाहिँ त्यतातिर लागिनँ ।

पछिल्लो समय प्रचण्डले १० महिना सरकार सञ्चालन गरेपछि उनले परिपक्वता देखाएको भन्नेहरु धेरै देखिएका छन् । प्रचण्डको कार्यशैलीबाट पनि त्यस्तै देखिन्छ । यसबाट प्रचण्ड सही बाटोमा फर्केका हुन भन्ने अर्थ लगाउन मिल्छ ?
प्रचण्डको नियतमा त कुनै शंका नगरौं ! तर, प्रचण्डले १० महिने सरकारका पालामा गरेको कामलाई मैले म्याद गुज्रिएको ‘आउटडेटेड’ औषधिका रुपमा बुझेको छु । यो काम यसअघि सरकार सञ्चालन गर्दा प्रचण्डले गर्नुपर्ने थियो । उहाँका अनुभवका सीमाले काम गरेको एकातिर होला, तर जनताले माओवादीलाई पर्खिएको देखिएन । उज्यालो नेपाल अभियानको वैशाखी टेक्न खोजियो, काठामडौं र यस आसपासका क्षेत्रको अँध्यारो त माओवादी सरकारले हटाएकै हो । तर, त्यति गर्दा पनि जनताले पत्याएनन् । यसर्थ निको हुन्छ कि भनेर म्याद गुज्रिएको औषधिलाई मानिसले रोज्न त खोज्छन् तर यसले काम भने गर्दैन । माओवादी म्याद गुज्रिएको औषधि जस्तै हो ।

उसो भए अब माओवादी आन्दोलनको मूल नेतृत्व कम व्याक हुने सम्भावनाको अन्त्य भयो ?

हो, अब प्रचण्ड नेतृत्वको पार्टी २०६४ सालकै जस्तो शक्तिशाली पार्टीका रुपमा कम ब्याक हुने सम्भावना एकदमै कमजोर छ । आशा गरौं मेरो विश्लेषण आउँदा दिनमा गलत सावित हुनेछ । म यसमा नै खुसी हुनेछु । तर, गतिमति हेर्दा तंग्रिने सम्भावना कम देख्छु ।
तर अरुभन्दा त माओवादी अझै पनि प्रगतिशील नै देखिन्छ नि होइन र ?

कांग्रेस धेरै राम्रो र सुदृढ देखिँदैन । एमाले पनि कस्तो पार्टी हो भन्ने प्रष्टै देखिएको छ । हिजोसम्म भारतकै पाउमा लुटपुट गरेको पार्टीले माओवादीको राष्ट्रवादको नारा हाइज्याक गरेर कति दिन टिक्ला र ? मदन भण्डारी फाउन्डेसनका नाममा भारतले कति पैसा पठाउँछ त्यो त देखिएकै छ नि, होइन र ? अहिलेका यी सबे कुरा त देखाउने दाँत मात्रै हुन भित्र चपाउने दाँत त अरु नै छन् । प्रमुख भनिएका दल कुनै पनि ठीक छैनन् ।

अब एकैछिन तपाईंको संघर्षपूर्ण जीवन तर्फ लागौं । जीवनको लामो समय माओवादी आन्दोलनका लागि समर्पण गर्नु भयो । पछाडि फर्किएर हेर्दा कस्तो लाग्छ ?

म जुन उद्देश्यका निम्ति माओवादी आन्दोलनमा लागेँ, त्यसमा मेरो अलिकति पनि पश्चाताप र हीनताबोध छैन । बिना लोभ लालच देशका लागि जे गर्न सकेँ, त्यसले मलाई मेरो विगतप्रति गौरवको अनुभूति गराएको छ । विगतको संघर्षको व्याज खोज्ने मान्छे म नभएकाले मलाई मेरो विगतप्रति दु:ख छैन । म जबसम्म जीवित हुन्छ, आफ्ना लागि आफैं गर्नेछु । अरुसँग मेरो कुनै अपेक्षा छैन, बरु सकेँ भने देश र जनताका लागि अझै समर्पित हुनेछु । मैले के पाएँ भन्दा नि के दिएँ भन्ने ढंगले म सोच्छु ।

तस्बिर अनलाइनखबर

तपाईंका समकालीन र पछि पार्टीमा लागेकाहरु मन्त्रीलगायतका लाभका पदमा पुगिरहेका छन् । तपाईं गाउँमा गुमनाम जीवन बिताइरहनु भएको छ । यी सबै दृश्य हेर्दा त कता कता गल्ती गरेछु जस्तो लाग्छ होला ?

मन्त्री हुनु मेरो अभिष्ट छँदै थिएन । यदि हिजो मैले मन्त्रीको लालसा देखाएको हुन्थेँ भने म धेरैपटक मन्त्री बनिसकेको हुन्थेँ । अहिले पनि मलाई त्यो टाढाको विषय जस्तो लाग्दैन । म आफ्नो निर्वाचन क्षेत्रबाट उठेँ भने अहिले पनि जित्न सक्छु । तर मेरो अपेक्षा, अभिष्ट र रुचि त्यतातिर पटक्कै हुँदै भएन । मेरो मोह त विधिको राजनीतिमा हो, जनताले अपनत्व महसुस गर्ने व्यवस्थामा हो ।

लाभको पद विगतमा नजिकै आएको भन्नु भयो । पार्टीले मन्त्री बन्न पनि पनि अफर गरेको थियो हो ?

हो, पार्टीबाट यस्ता थुप्रै अवसर मलाई मिलेको थियो । तर, मैले कहिल्यै त्यस्ता लाभको पदमा रुचि देखाइनँ । स्थानीय तह निर्वाचनअघिकै सन्दर्भमा कुरा गरौं, दुई महिनाअघि मात्रै प्रचण्डले पार्टीमा आउनुस् प्रदेश या संघ, एउटाको टिकट सुनिश्चित भयो भन्नु भएको थियो । उहाँले मेरो विश्वास लाग्दैन भने लेखेर दिन्छु समेत भन्नु भएको थियो ।

अनि प्रचण्डलाई के जवाफ दिनु भयो त ?

मैले मलाई टिकट होइन, मूल्य, निष्ठा र इमानको राजनीति चाहिएको हो भनेँ । जनताप्रति हिजो गरिएको प्रतिवद्धताको इमान्दारिता मैले खोजेको हो, पद र प्रतिष्ठा होइन भनेर भनिदिएँ ।
प्रचण्ड सुध्रिएकै जस्तो देखिएको छ, अब कमजोरी सुधारेर अघि बढे त के बिग्रियला र ?

सकारात्मक ढंगले सोच्ने कुरामा म असहमति राख्दिनँ, यो राम्रो कुरा हो । तर माओवादीको समस्या त प्रचण्ड मात्रै होइनन् नि ! प्रचण्ड वरिपरिको घेरा माओवादीको मूल समस्या हो । प्रचण्डको सकारात्मक पक्षलाई मद्दत गर्ने खालका मान्छे कति जना छन् भन्ने कुरा त मलाई राम्रैसँग थाहा छ नि !

खासमा प्रचण्डको पार्टीको समस्या चाहिँ के हो ? कुन घेराले प्रचण्ड तपाईंहरु जस्ता त्यागी नेता बाहिरिँदा पनि निरीह बनिरहेका छन् ?

माओवादीमा सबै एकसे एक छन् । माओवादीका कसैले पनि आफूलाई सेकेन्ड म्यानभन्दा तल ठान्दैनन् । प्रचण्डका नजिकका भनिएका मान्छेहरुले नै आफूलाई एकसे एक सेकेन्ड म्यान ठान्छन् । अब एउटा पार्टीमा फस्ट, सेकेन्ड, थर्डको पोजिसनमा बस्न नेता तयार भएनन् भने के होला ? अहिले माओवादीमा भएको यही हो । माओवादीका सबै नेता आफूलाई प्रचण्डपछिको दोस्रो नेता ठान्छन् ।

यसको मतलब प्रचण्ड ठीक छन् भन्ने होइन । प्रचण्ड ठीक थिए भने त उनले गल्ती भएका कुरामा विद्रोह गर्न सक्नुपथ्र्यो नि । तलबाट त धेरै विद्रोह भयो, तर अर्थ राखेन । प्रचण्डले माथिबाटै विद्रोह गर्न सक्थे तर गरेनन् ।

तपाईं केही समय बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा पनि जोडिनु भयो नि होइन ?

औपचारिक रुपमा म नयाँ शक्ति गइनँ । मैले यो पार्टीको कुनै सदस्यता लिइनँ । तर, म यसका छलफलहरुमा भने सहभागी भएँ । यसरी छलफलमा भाग लिनुको केही कारणहरु छन् । कारण के हो भने मैले माओवादी पार्टी त्यागे पनि कसैले विश्वास नै गरेनन् । माओवादी छाडेको पुष्टि गर्नकै लागि मैले नयाँ शक्तिमा गएको जस्तो गरेको हुँ । धेरैलाई पत्यार नलाग्न सक्छ, माओवादी छाडेको पुष्टि गर्न त्यसरी नयाँ शक्तिमा जाँदा समेत कोही मैले माओवादी छाडेँ भनेर पत्याउँदै पत्याउँदैनन् ।

बाबुरामले दिएको नारा त राम्रै छन् नि होइन र ?

बाबुरामले नयाँ शक्ति गठन गरेपछि म पनि छलफलमा सहभागी भएँ । उनले मेरा कुरा खासै सुनेजस्तो लागेन । अनि बाबुरामले पनि गरिखाने भएनन् भन्ने लाग्यो र अब म तपाईंको पार्टीमा छैन है भनेर जानै छाडिदिएँ । देश बनाउने बाबुरामको नियतमा शंका नगरौं तर पूर्वप्रधानमन्त्री र अर्थमन्त्री भएकै आधारमा उनलाई कसले सुनिदिने ?

हिजोआज चाहिँ केमा व्यस्त हुनुहुन्छ ?

परम्परागत ढंगको खेतीपाती छ, त्यसैले खान पुग्छ । त्यही खेतीपाती सम्हालेर बसिरहेको छु ।
कहिलेसम्म यसरी बस्ने त ?

माघसम्म यसरी नै बस्ने विचार छ, त्यसपछि विचार गरौंला ।

त्यसपछि के गर्ने विचार छ ?
राजनीतिबाट म टाढिएको छैन । प्रदूषित राजनीतिलाई सही बाटोमा हिँडाएर कसरी अघि बढ्ने भनेर अहिले पनि चिन्तन गरिरहेको छु । तपाईंहरुलाई सरप्राइज दिने गरी भोलिका दिनमा स्वतन्त्र ढंगले केही गर्न पनि सक्छु । तर, लोभ, लालचमा फसेर कुनै पार्टीमा जानेवाला छैन ।

देश बनाउन हिँडेको एउटा हाइप्रोफइल नेता घर बनाउँदै हिँडेको भन्ने कुरा आएको थियो । कति घर बनाउनु भयो सिन्धुपाल्चोकतिर ?

भूकम्पले घर ध्वस्त बनाएको थियो । ओत लाग्ने ठाउँ नभएपछि बास बनाएको हुँ ।

९९ जनाको केन्द्रीय कमिटि हुँदा केन्द्रीय सदस्य, पछि पोलिटब्युरो सदस्यसमेत हुनुभयो, अहिले सामन्य जीवनयापन गर्दा कस्तो महसुस भइरहेको छ ?

१५–१६ वर्षदेखि सार्वजनिक जीवन बाँचेकाले मलाई निजी जीवन के हो भन्ने नै थाहा थिएन । यहाँ ९९.९ ले निजी जीवन बिताउँछन् । ०.१ प्रतिशत मान्छेले मात्रै सार्वजनिक जीवन बिताउँछन् । ०.१लाई नै हामीले ९९.९ मानेका रहेछौं । ९९.९ ले ज्यूने जीवनको मस्ती र मजा अर्कै हुँदो रहेछ ! अहिले १/डेढ वर्षदेखि त्यही निजी जीवनको मज्ला लुटिरहेको छु ।

जनताहरुबाट यसरी बस्दा कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

जनताको घेरामा त परिरहन्छु नि ! यसरी भएन भनेर गुनासाहरु लिएर आइरहन्छन् । मैले अन्तिममा कन्भिन्स गर्न नसकेपछि पर्खनुस्, समय आउँछ भनेर भन्ने गरेको छु ।

जनयुद्धमा ठूलो सपना देखाइयो । धेरै शहीद भए, घाइते पनि उत्तिकै छन् । तपाईंहरुजस्ता इमान्दार नेताहरु केही जोर नचलेर पछि हट्नु भएको छ । घाइते र शहीद परिवारमाथिको यो अपमान भएन र ?

जे जति लगानी जनयुद्धमा गरियो त्यसप्रति गुनासो, खेद, दु:ख, आक्रोस र घृणा व्यक्त गर्दा हाँसोको पात्रो भइन्छ । त्यसैले आफ्नो योगदान प्रति गर्व गर्न म सबैलाई आग्रह गर्न चाहन्छु । घाइते र शहीद परिवारलाई उचित सहयोग गर्न म माग गर्न चाहन्छु ।साँघुबाट