बेनी ।भनिन्छ इतिहास आफै बोल्छ । तर ऐतिहासिक महत्व बोकेका सम्पदा तथा वस्तुको संरक्षण नगरी स्मृतिको गर्भमा नै इतिहासलाई तुहाइदिने हो भने भावी पुस्ता त्यस्ता इतिहासबारे अनभिज्ञ रहने नियति नआउला भन्न सकिँदैन ।

म्याग्दीको सदरमुकाम बेनीमा पनि संरक्षणको अभावमा एउटा इतिहासको यसैगरी अन्त्य भएको छ । इतिहासको अन्त्य गरी निर्माण गरिएको शहीद स्तम्भको पनि सम्मान हुन सकेको छैन । शहीदप्रति आदर र सम्मानभाव व्यक्त गरिनुपर्ने ठाउँ राजनीतिक दलका झण्डा गाड्ने ठाउँ बनेको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि रहेको पीपलको रूख, चौतारी र स्वर्गीय राजा वीरेन्द्रको सालिक स्थापना गरिएपछि नामकरण गरिएको वीरेन्द्रचोकको ऐतिहासिक महत्व रहेको छ । २०६२÷६३ सालको जनआन्दोलनमा राजा वीरेन्द्रको सालिक ढलाइएपछि एउटा इतिहासको अवसान भएको छ ।

सोही ठाउँमा २०६९ सालमा शहिद स्तम्भ निर्माण गरिएपछि सो चोक न त वीरेन्द्र चोकको नामले नै चिनिन सकेको छ न त त्यहाँ रहेको शहीद स्तम्भको कुनै सम्मान र जिल्लाको पहिचान झल्कने कुनै माध्यम नै बन्न सकेको छ ।

सम्पूर्ण ज्ञात–अज्ञात शहीदको स्मृतिमा निर्माण भएको शहीद स्तम्भले शहीदप्रतिको सम्मान र महत्वलाई उजागर गरी शहीदप्रति आदरभाव व्यक्त गरे पनि त्यस ठाउँमा पहिला रहेको राजा वीरेन्द्रको सालिकका बारेमा केही उल्लेख नगरिनुले एउटा इतिहासको अवसान भएको विभिन्न व्यक्तिले बताएका छन् ।

त्यसैगरी, म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्माले शासक गलत भए पनि इतिहास गलत नहुने बताउँदै स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई सुरक्षित राखिएको भए त्यो भावी पुस्ताका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले देशमा गणतन्त्र स्थापना भइसकेपछि राजा–महाराजाका मूर्ति, तस्बिर र सालिक हटाउने तथा त्यसको ठाउँमा गणतन्त्र स्थापनाका क्रममा शहीद भएकाको सालिक राखिएको स्वाभाविक नै भएको बताए । तर शहीद स्तम्भ निर्माणपछि शहीदको महत्व र सम्मानप्रति बेवास्ता गरिएको श्रेष्ठको भनाइ रहेको छ ।

“विभिन्न राजनीतिक दलले सो स्तम्भमाथि दलका झण्डा राख्ने गर्दछन्”, श्रेष्ठले भने, “के शहीद स्तम्भ राजनीतिक दलको झण्डा गाड्ने र स्तम्भमाथि चढेर भाषण गर्ने ठाउँ हो ? ”

त्यसैगरी, नेपाल बार एसोसिएसन म्याग्दीका सदस्य ठहरबहादुर भण्डारीले इतिहास बङ्ग्याउने अधिकार कसैलाई पनि नभएको बताउँदै शहीद स्तम्भ निर्माणसँगै पहिलाको इतिहासको पनि उल्लेख गरिएको भए उपयुक्त हुने र भावी सन्ततिलाई थाहा हुने विचार व्यक्त गरे।

शहीद स्तम्भ बेनी बजारको गर्विलो धरोहर हुनुपर्नेमा राजनीतिक दलबाट नै त्यसको अवमूल्यन गरिएको छ । सो चोकमा आयोजना हुने विभिन्न कार्यक्रममा दलले स्तम्भको शिरमा नै पार्टीको झण्डा गाडेर के कुराको, कस्तो सन्देश दिन खोजेका हुन् रु मानिसहरु अन्योलमा पर्ने गरेका छन् ।

विसं २०६२÷०६३ मा आक्रोश र उत्तेजनामा आएर राजा वीरेन्द्रको सालिक ढलाएका राजनीतिक दलले ६ वर्षपछि २०६९ सालमा निर्माण गरेको शहीद स्तम्भको महत्व, मर्यादा र सम्मानलाई समेत कुल्चिदिएका स्थानीय सरोकारवाला र बुद्धिजीवीले बताएका छन् ।

सालिकसँगै जिल्लाको पहिचान झल्कने कुनै चीज वा स्थानको चित्र राखिदिने हो भने बाहिरबाट पहिलो पटक बेनीमा आएका व्यक्तिका लागि त्यसले आकर्षित गर्न सक्ने उनीहरुको भनाइ रहेको छ ।

इतिहास भावी सन्ततिका लागि विगतको ऐना हो । इतिहासलाई पुजेर होइन संरक्षण गरेर आदर गरिनु पर्दथ्यो । विश्वकै तानाशाही मानिने जर्मनी सम्राट हिटलरका सालिक जर्मनीमा अझैसम्म पनि राखिरहनुको पछाडि जर्मनी हिटलरलाई पुज्दथे वा आदर गर्दथे भनेर अथ्र्याउन कसैगरी पनि सकिँदैन । म्याग्दीका राजनीतिक दल, सरोकारवाला र बुद्धिजीवीले पनि एउटा इतिहासको अवसान भएको टुलुटुलु हेरेर बसिरहनुबाहेक अब अरू के पो गर्न सक्लान र ?