४६ पछिको चारवर्षे खुला राजनीतिमा उदाएका नेपालका चर्चित राजनीतिक पात्र हुन् जननेता मदन भण्डारी । उनी जनताको बहुदलीय जनवादका सूत्रधार, एमालेका तत्कालीन महासचिव पनि हुन् । उनी त्यो वेला नक्सालस्थित जगन्नाथ तिवारीको घरमा डेरा गरीमा बस्थे । त्यो सानो डेराभित्र बसेरै भण्डारीले जबजको रूपरेखा कोरेका थिए । आज भण्डारी छैनन्, तर उनी डेरा बसेको ‘तिवारीनिवास’ उस्तै छ । सो निवासका घरबेटी बा बुढ्यौलीको सामना गरिरहेछन् । भण्डारीको तीनवर्षे आखिरी दिनका घरबेटी बा, जगन्नाथ तिवारीले ती दिन स्मरण गरे र साथ दिए, पुत्र सुवर्णनिधिले पनि ।

शुरोजंग पाण्डेले तयार पारेको फिचर :

नन्दीरात्रि मावि नक्साल मार्गको १५ कदमअघि दाहिनेतर्फ । साँघुरो गल्ली । दिएको ‘लोकेसन’ पछ्याउँदै जाँदा हरियो रङको घर भेट्न खासै सास्ती परेन । गेटमै झुल्किएका थिए, सुवर्णनिधि तिवारी । उनको स्वागतमा हाम्रो नमन रह्यो ।

उद्देश्य पहिल्यै निश्चित थियो । उनले बूढा बा जगन्नाथ तिवारीतिर हामीलाई डोहोर्‍याए । काँसझैँ फुलेका तिवारी (मदन भण्डारीका घरबेटी बा) आफ्नै बिछ्यौनामा भित्ताको अडेस लगाएर बसिरहेका थिए ।

उमेर कति भयो बाको ? प्रश्नमा उसवेलाकै शैलीको जवाफ फर्काए, ‘चार बीस ६ ।’ ८६ वर्षका वृद्धसँग मदन भण्डारीको आनीबानी बुझ्न उत्सुकता बढिरहेको थियो । किनभने, कुनै वेला विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ तरंग पैदा गरेका नेता भण्डारीको तीनवर्षे आखिरी दिन तिनै ‘तिवारी बा’को घरको डेरामा बितेको थियो ।

‘हुनेखानेहरू’को राजधानी सहर, काठमाडौंको एक मात्र रात्रिकालीन पुरानो त्यो विद्यालयमा गरिखाने वर्गका छोरा–छोरीको हुल किताब च्यापेर भित्रिन्थ्यो, र्मिमिरे साँझमा । त्यही मार्ग हुँदै हरेक साँझ नेता भण्डारी पनि थोत्रो साइकल चढेर छेउकै तिवारी निवासको डेरामा छिर्थे । प्रशासनको आँखा छल्ने भूमिगत जीवनबाट भर्खरै खुल्ला बनेका भण्डारीले तिनै तिवारीको डेराबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिए, चार–पाँच वर्षमै । तिवारी बाको तेस्रो तलाबाट परम्परागत कम्युनिस्ट आन्दोलनलाई चुनौती दिँदै भण्डारीले विश्व अनुभवको जगमा जनताको बहुदलीय जनवादको कार्यक्रमको खेस्रा तयार पारे । भण्डारीको डेरा जुन अहिले तिवारी परिवारको पूजा कोठा बनेको रहेछ ।

कार्पेट नबिछ्याइएको नग्न दुई कोठाको भित्तापट्टि काठका दराज छन् । खाली दराज, त्यतिवेला भरिभराउ थिए रे ! तर, अहिले मदन सम्झाउने कुनै अवशेष भेटिन्नन्, यी कोठामा । ‘दराज त त्यतिवेला भरिभराउ थिए, उहाँ अध्ययन र लेखनमा बढी व्यस्त देखिनुहुन्थ्यो । पत्रकारलाई कतिपटक यही कोठाबाट चर्चित अन्र्तवार्ता दिनुभयो,’ घरबेटीपुत्र सुवर्णनिधिले देखाउँदै भने । हामीले सम्झियौँ– सायद डेराका भित्ताका तिनै दराज मदनको जबज सिद्धान्तका जीवितझैँ लाग्ने प्रमाण हुन् ।

‘उहाँ खुला राजनीतिमा देखिएपछि ०४८ सालको वैशाखमा डेरा बस्न आइपुग्नुभो, केही समयपछि हाम्रै घरलाई पार्टी कार्यालय पनि बनाउनुभो’, जगन्नाथका पुत्र सुवर्णनिधि बिस्तारै ३६ वर्षअघिको त्यो क्षणमा घोत्लिँदै गए, ‘उहाँ नै मदन भण्डारी हो भन्ने कुनै जानकारी थिएन । खुला परिवेशमा भाषणले चर्चा पाउन थालेपछि बल्ल हामी उहाँको व्यक्तित्वबारे परिचित भयौँ ।’

तीनतले त्यो घरको माथिल्लो तलाको फ्ल्याटमा भण्डारीले निधनअघिका तीन वर्ष श्रीमती विद्या (राष्ट्रपति), दुई छोरी (उषाकिरण र निशाकुसुम)सँग बिताएका थिए ।

खुल्ला मञ्चमा तत्कालीन राजा वीरेन्द्रलाई जनताले दिएको मानोमा असन्तुष्टि भए श्रीपेच खोलेर आफूसँगै चुनावमा भिड्न खाली मैदानमा आउन चुनौती दिएपछि भण्डारी अन्तर्राष्ट्रिय रूपमै चर्चित नेता बन्दै गए । विम्बसहितका उनका लयात्मक हरेक भाषण चर्चित बन्दै जाँदा तत्कालीन एमालेप्रति जनआकर्षण पैदा हुँदै गयो ।

त्यो पृष्ठभूमिमा प्रतिभाशाली नेताको सुरक्षा चिन्ता पार्टीलाई हुनु स्वाभाविकै थियो । त्यस्तै, चिन्ताबीच नेता प्रदीप नेपाल, स्थानीय हरिबहादुर सिंह, विजयकुमार श्रेष्ठ, अच्युत न्यौपानेमार्फत भेटिए, नक्सालमा कृष्णनिधि तिवारी । राष्ट्र बैंकका पूर्वकर्मचारी तथा व्यवसायमा संलग्न उनी एमालेकै सक्रिय कार्यकर्ता थिए ।

पार्टीको निरिक्षण अवलोकनपछि उनै कृष्णनिधिले दाइ जगन्नाथको सुरक्षित घरको तेस्रो तलामा भण्डारीको डेरा व्यवस्थापन गरिदिएका थिए, मासिक १५ सय रुपैयाँमा । ‘भुइँतलामा ४ कक्षासम्म पढाइ हुने अनमोल ज्योति बोर्डिङ स्कुल, दोस्रो तलामा बोर्डिङकै प्रिन्सिपल बस्नुहुन्थ्यो । हामीले उहाँलाई सबैभन्दा माथिको तेस्रो तलाको फ्ल्याटमा राख्यौँ ।’ वृद्ध घरबेटीले असजिलो पारामा लर्बराउँदै भने ।

भण्डारीको डेरा तय गर्नुअघि गल्लीमा सुरक्षित वैकल्पिक बाटो हेरिएको थियो रे ! घरको उत्तरतिर चौडा खुला बाटो भएकाले घर पछाडिपट्टिबाट आवत–जावत गर्न सकिने वैकल्पिक बाटो प्रयोग गर्न सकिने गरी भण्डारीलाई राखिएको कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठ बताउँछन् । श्रेष्ठसहित नक्सालकै ४ सक्रिय कार्यकर्ताहरू अनिलकुमार मानन्धर, लिलनजंग थापा र विजयकुमार श्रेष्ठले भण्डारीको सुरक्षाको जिम्मेवारी लिएका थिए । पार्टीको निर्देशनमा प्रायः कार्यक्रममा उनीहरू भण्डारीको सुरक्षार्थ खडा हुन्थे । डेरामा फर्किएपछि पनि मदनलाई त्यो टोलीले अबेरसम्म घर बाहिर सुरक्षा दिन्थ्यो । भोलिपल्ट त्यो टोली बिहानै त्यसैगरी घरबाहिर र कार्यक्रममा खडा भइहाल्थ्यो ।

‘उहाँ प्रायः कोट, पाइन्ट, कमिज र कालो टोपीमा देखिनुहुन्थ्यो । छालाको जुत्तामा फाटेको मोजा पनि लगाएको देख्थ्यैँ । हक्की स्वभावको हुनुहुन्थ्यो,’ घरबेटीपुत्र सुवर्णनिधि भन्छन्, ‘साधारण जीवनशैली, मीठो र प्रभावशाली बोली थियो, उहाँको ।’ तिनताका विद्या (वर्तमान राष्ट्रपति) र सुवर्णकी हजुरआमा मिलेर छतमा बत्ती कातेको, गफिएको उनी अझै झल्झली सम्झिन्छन् । एउटै घरका सदस्य जसरी बसेका थिए, भण्डारी परिवार । भाडा तिर्नेदेखि कुनै पनि विषयमा कहिल्यै दोहोरो तितो–पिरो सम्बन्ध नभएको उनी सम्झिन्छन् ।
बहुदलीय व्यवस्थापछि ०४८ वैशाखमा पहिलो आमनिर्वाचनको घोषणापछि भण्डारी पार्टीलाई जिताउन झन् सक्रिय हुँदै गए । कांग्रेसले चुनावमा कार्यगत एकता अस्वीकार गरेपछि भण्डारी काठमाडौंको १ र ५ मा उम्मेद्वारका रूपमा खडा भए । काठमाडौं– १ मा भण्डारीका मुख्य प्रतिस्पर्धी थिए– तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई र ५ मा कांग्रेसकै हरिबोल भट्टराई । चुनावी प्रचारका लागि बिहान ६ बजेतिरै थोत्रो साइकल र ह्यान्डब्यागसहित मदन तयार हुन्थे । कहिलेकाहीँ हतारका वेला भरतलाल, अनिल, कृष्णनिधिलगायतले पालैपालो मोटरसाइकलमा कुदाउँथे । लिलनजंग भने तिनताका भण्डारीको गाडी ड्राइभर बनेर खटिएका थिए । डेरामा माधव नेपाल, प्रदीप नेपाल र काठमाडौंका निश्चित नेताको बाक्लो आवत–जावत देखिन्थ्यो ।

चुनाव जितेलगत्तै मदन, घरबेटी हजुरआमाको आशीर्वाद लिन डेरामा आइपुगेका थिए । ‘आमाले दुबो र फूलको माला लगाएर दहीको सगुन खुवाउँदै मन्त्री, प्रधानमन्त्री बनेर देश राम्रो बनाउन आशीर्वाद दिनुभो,’ घरबेटी बा जगन्नाथ भावुक मुद्रामा स्मरण गर्छन्, ‘उहाँले आमाको खुट्टा समाएर ढोग्नुभो, आमाको आशीर्वादअनुसार काम गर्ने संकल्प गर्नुभो, निकै खुसी लागेको थियो, त्यतिवेला हामीलाई ।’

भण्डारीले जहिले पनि ‘घरबेटी बा’लाई बुबा सम्बोधन गर्थे रे ! एउटै परिवारका सदस्यजस्तो मदनको त्यो व्यवहारबाट निकै खुसी लाग्ने गरेको उनी स्मरण गर्छन् । ‘उहाँ त महात्मा गान्धीभन्दा पनि माथिको नेता हुनुहुन्थ्योजस्तो लाग्छ । बुद्धि र क्षमता गान्धीको भन्दा माथि थियो । उहाँ साँच्चिकै विद्वान् हुनुहुन्थ्यो । बोली, वचन र व्यवहार साह्रै असल, त्यस्तो मान्छे सायदै कम जन्मिन्छन्,’ वृद्ध जगन्नाथ आत्मविश्वासका साथ भन्छन्, ‘उहाँ भइदिएको भए पक्कै प्रधानमन्त्री, राष्ट्रपति बन्नुहुन्थ्यो । जनता साथमा थिए, अहिलेजस्तो देशको हविगत हुन्नथ्यो, पक्कै देशको परिस्थिति अर्कै हुन्थ्यो ।’

 

नक्सालकै डेरामा छँदा नेता भण्डारीको ३ जेठ, २०५० मा चितवनको दासढुंगामा सवारी दुर्घटनामा रहस्यमय निधन भयो । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएका भण्डारीको निधनले सिंगो देश शोकमा डुब्यो । अन्तर्राष्ट्रिय क्षेत्र पनि तरंगित बन्यो । उनको पार्टी एमालेले मात्रै होइन, मदनको निधनलाई बुद्धिजीवी र आमनागरिकको ठूलो पंक्तिले अझै षड्यन्त्र र रहस्यमय मान्दै आएकै छ । त्यसो त निधनको रहस्य पत्ता लगाउन थुप्रै आयोग बने । तत्कालीन जिप ड्राइभर अमर लामा जेल परे । तर, उनको त्यो दुर्घटनाको वास्तविक रहस्य भने अझै पत्ता लागेको छैन । घरबेटी जगन्नाथ र उनको परिवार मात्रै होइन, मदनको सुरक्षार्थ अहोरात्र खटिने भरतलाललगायतको समूह अमर लामाको मृत्युले त्यो दुर्घटना अझ रहस्यमय भएकोमा विश्वस्त देखिन्छन् । ‘त्यतिवेला उपत्यकाबाहिर एक महिनाको कार्यक्रम बन्यो । पश्चिमबाट झापा, मोरङ, सुनसरीलगायतका पूर्वी क्षेत्रमा लामो प्रशिक्षण कार्यक्रम राखिएकाले हामीलाई पार्टीले सुरक्षार्थ नखटाएजस्तो लाग्छ । नियमित सुरक्षार्थ खटिने कार्यकर्ता भरतलाल भन्छन्, ‘सधैँ हामी खटिन्थ्याैँ, तर त्यतिवेला किन खटाइएन ? उहाँको निधनपछि मलाई सैयौँपटक यो प्रश्नले घोत्ल्याइरह्यो । संयोग त्यस्तो हुन सक्छ, तर त्यही कारण पनि मलाई घटना अझ रहस्यमय लाग्छ ।’ दुर्घटनाको केही महिनापहिलेदेखि मदनको निजी ड्राइभरको रूपमा खटिएका अमर लामाको अस्वाभाविक व्यवहारले आफूहरू त्यतिवेला असन्तुष्ट रहेको उनी बताउँछन् । ‘हामी मात्रै होइन, पार्टी कार्यालयमा पनि धेरैले अमरलाई रुचाएका थिएनन् । डेरामा आउँदा पनि जहिले केटाकेटीलाई चकलेट बाँड्थे, उनको व्यवहारै अस्वाभाविकजस्तो लाग्थ्यो ।’ भरतलाल सम्झिन्छन् ।

३ जेठको त्यो दिन मदनको दुर्घटनाको खबर बेलुकीको टेलिभिजनबाट सुनेपछि घरबेटी बा जगन्नाथलाई पुत्र सुवर्ण र परिवारले सुनाउँदा निकै मर्माहत बने । ‘टेलिभिजनमा समाचार सुन्दै थियौँ । हाम्रा लागि त्यो दुःखद् खबर कल्पनाबाहिरको जस्तो लाग्यो । किनभने हामीले एउटै परिवारको सदस्य गुमाएझैँ लाग्यो । त्यो मर्माहत क्षणमा अलमलमा पर्‍याैँ । के गर्ने, कसो गर्नेजस्तो भयो,’ सुवर्ण भन्छन् । मदनलाई नजिकबाट सहयोग गर्ने भरतलालले भने दुर्घटनाको त्यो दुःखद् खबर पुतलीसडकको चिया पसलमा सुने । ‘मेरा लागि त्यो अप्रत्यशित खबर थियो, कुनै निर्णय नै गर्न सकिनँ, डेरा फर्किंदा विद्या दिदी (राष्ट्रपतिज्यू) मुर्छित भएर ढल्नुभएको थियो । त्यो दर्दनाक क्षणमा हामीचाहिँ उहाँकै अगाडि खडा थियौँ,’ भरतलाल भन्छन्, ‘के भनेर सम्झाउने, कुनै शब्द आएन, मुटु रोकिएजस्तो भा’कोथ्यो । जेठी उषाकिरण रोइरहेकी थिइन् । निशाकुसुम अलमलमा थिइन् । बिस्तारै मान्छेको घुइँचो लाग्यो, सहानूभूति प्रकट गर्नेबाहेक अरू केही गर्न सकिएन ।’

दुःखद् दुर्घटनाको दोस्रो दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अन्य थुप्रै नेता विद्यासहित परिवारलाई समवेदना प्रकट गर्न मदनको डेरामा पुगेका थिए । दुर्घटनाको कारण र दोषी पत्ता लगाउन काठमाडौंसहित देशका थुप्रै ठाउँमा आन्दोलन चल्यो । त्यही डेरामा वर्तमान राष्ट्रपति विद्यालाई केही महिना उनका भाइ देवेन्द्र र देवर कैलाशले सहारा दिए । केही समयमै सपरिवार विद्या अन्तै डेरा सरिन्, तर त्यसयता भने कोही पनि त्यो घर नफर्किएको जगन्नाथ बताउँछन् । यद्यपि, निशाकुसुमको बिहेको निम्तो मान्ने क्रममा राष्ट्रपति भण्डारीसँग भेटघाट र सामान्य कुराकानी भएको तिवारी परिवार बताउँछन् ।