म्याग्दी । बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ ।

एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उनको ठूलै जिम्मेवारी छ । आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आएका छन् ।

श्रीमती र छोराको सहारामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँकै सार्वजनिक जग्गाको छाप्रोमा बस्छन् । दर्जीको अवस्था देखेका र हाल विदेशमा रहेका प्रदीप सुवेदी, भूमिराज कार्कीलगायतले रु एक लाख ४० हजार संकलन गरी उनलाई सहयोग गरेका छन् । दर्जीका दुई छोरा १२ र ६ कक्षामा अध्ययरत छन् ।

“गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाइले घरमा बिहानबेलुकी चुलो बल्छ,” दर्जीले भने। छोराको पढाइका लागि बेनीका नरेश श्रेष्ठले वार्षिक रु १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएपछि दर्जीलाई केही राहत मिलेको छ । उनको कान्छो छोराको आँखा पनि कमजोर छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त हुने भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधिको व्यवस्था गर्ने उनले बताए् ।

सार्वजनिक जग्गामा बनाएको छाप्रो नगरपालिकाले सडक विस्तार गर्न भत्काउने भएपछि दर्जी चिन्तित बनेका छन् । “छाप्रो भत्काएपछि मेरो उठिवास हुन्छ,” उनले भने । दृष्टिविहीन भएकाले गिटी कुट्नबाहेक अरु केही गर्न नसक्ने दर्जीले सहयोगको याचना गरेका छन् ।