धनुषाधाम – आगामी असोज २ गतेका लागि निर्धारण गरिएको २ नं। प्रदेशको चुनावी प्रचारमा हिंडेका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले मंगलबार धनुषाका विभिन्न स्थानहरुमा चुनावी कार्यक्रममा सहभागी भएका छन् । चुनावी कार्यक्रमहरुमा सहभागिता जनाउँदै उनले मंगलबार दिउँसो धनुषाधाम नगरपालिका वडा नं। २ को मंगलपुर एवं वडा नं। ३ को तेजनगरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना पार्टीहरुले चुनावको मुखमा सपनाको व्यापार गर्ने गरेको र आम मतदातालाई आर्थिक लोभलालच देखाएर प्रभावित पार्न खोजेको भन्दै त्यस्तो हर्कतका विरुद्ध जनता सचेत भएर आफ्नो अमूल्य मतको रक्षा गर्नुपर्ने बताए ।

उनले पुराना दलहरुले चुनावमा धेरै आश्वासन दिने र बाचा गर्ने तर चुनावपछि ती सबै बाचा विर्सेर भ्रष्टाचारजन्य गतिविधिमा डुब्ने गरेको भन्दै त्यस्तो झुठो सपनाको पछाडि नलाग्नसमेत मतदातालाई आग्रह गरे ।

देशको राजनीति फोहोर भएकोले त्यो फोहोर राजनीति सफा गर्नकै लागि नयाँ शक्तिको उदय भएको बताउँदै संयोजक डा। भट्टराईले भने – ‘जसरी पोखरीको माछा कुहिएपछि गन्हाउँछ, त्यसैगरी राजनीति पनि फोहोर भएर गन्हाएको छ । त्यो फोहोर सफा गर्ने आँट गर्नैपर्छ, नयाँ शक्तिले नयाँ यात्रा सुरु गरेर त्यो आँट गरेको छ ।’

उनले युवा र नयाँ पुस्ता मिलेर अब देशलाई नयाँ विकल्प दिनुपर्ने बताउँदै राजनीतिलाई पेशा नभई सेवाभावको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा धनुषाधाम नगरपालिकाको प्रमुख पदका दाबेदार नवराज बास्कोटाले आफू इमान्दारितापूर्वक जनताको सेवा गर्ने उद्देश्य राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले धनुषाधाम नगरपालिकाको धार्मिक एवं पर्यटकीय विकासका लागि आफू निरन्तर लागिरहने अठोट व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० सँगको साझेदारीमा निर्वाचनमा होमिएको नयाँ शक्तिले धनुषाधाम नगरपालिकाको उपप्रमुखमा लछुमनियादेवी यादवलाई उठाएको छ । त्यस्तै पार्टीले वडा नं। १ को वडा अध्यक्ष पदमा केशर मुखिया, २ मा श्रवण कुमार यादव, ३ मा शिवजी मण्डल, ४ मा मसुधन यादव, ५ मा चुनिशरण यादव, ६ मा सुवन यादव, ७ मा सन्तोष यादव र वडा नं। ९ को अध्यक्ष पदमा रञ्जीव यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रमोद कुमार यादवले जानकारी दिए ।