सरकार टिकाउनका लागि दलहरूले ठूलो मन्त्रिपरिषद् बनाउने अभ्यास हुँदै आएका छन् । तर, ४० भन्दा बढी संख्यामा मन्त्रिपरिषद् बनाइए पनि कुनै पनि सरकार दुई वर्ष टिक्न सकेका छैनन् । ०४८ यताका २४ सरकारमध्ये आठवटा सरकारमा मन्त्रीको संख्या ४० देखि ५४ सदस्यसम्मका छन् । तर, धेरै मन्त्री भएका सरकार नै ६ महिनादेखि १८ महिनासम्म मात्र चलेको इतिहास छ ।

कुनै ठूला राजनीतिक घटनाक्रम र सन्दर्भले भन्दा पनि सत्ता राजनीतिको खेल, दलभित्रैको चरम मनमुटावजस्ता कारणले धेरै मन्त्री बनाइएका सरकार पनि लामो समयसम्म टिक्न सकेको देखिँदैन । कतिसम्म भने ०४८ र ०५६ मा कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार बनाए पनि यी दुवै सरकारले पूरै कार्यकाल काम गर्न सकेनन् । ०४८ को पहिलो सरकार दुई वर्ष दुई महिना टिके पनि ०५६ को सरकार भने १० महिनामा नै ढल्यो ।

कांग्रेसभित्रको चरम गुटबन्दी, कांग्रेस र एमालेको अस्वस्थ राजनीतिक खेल, सत्तामा जसरी पनि पुग्ने शैलीजस्ता कारणले तेस्रो ठूलो शक्तिका रूपमा थोरै मात्र सिट भएको राप्रपाबाट लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले समेत दुई–दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाए । चन्द ०५४ मा ६ महिना र ०५९ मा ८ महिना प्रधानमन्त्री भए । थापा ०५४ मा ६ महिना र ०६० मा एक वर्ष प्रधानमन्त्री बने । सत्ता स्वार्थका कारण राप्रपा फुट्दै कांग्रेस र एमालेको सत्ता सहयोगी बन्नेदेखि नेतृत्व गर्नेसम्मको अवस्था आयो ।

SOURCE : NAYAPATRIKA