मधेसभित्रै मधेशीबाट उत्पीड़नमा परेको वर्ग र समुदायको अधिकारका लागि पहल गरिदिन मुश्लिम समुदायका अगुवाले माओवादी केन्द्रका अध्क्षय प्रचण्डलाई आग्रह गरेका छन् ।

चुनावी अभियानमा आज बिहान सप्तरीको राजबिराज पुगेका अध्यक्ष प्रचण्डसँग भेट गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । भेटका क्रममा उनीहरुले सरकारी सुबिधाहरूमा मधेशी समुदायले आरक्षण पाए पनि त्यसको फाइदा मधेशका टाठाबाठाहरूले मात्र उपभोग गरिरहेको गुनासो गरे ।

 

मुस्लिम प्रतिनिधिले भने, ‘मधेश मात्रै भनेर वर्गीकरण गर्दा मेडिकलदेखि निजामतीसम्म मधेशका हुनेखानेहरूले मात्रै फाईदा लिने तर, दलित, मुस्लिम समुदायहरूले त्यसबाट लाभ लीन सकेका छैनन । हामीलार्इ बिशेस अधिकारका लागि पहल गरिदिनु पर्यो ।’

मुस्लिम समुदायलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले दलित, महिला र मुस्लिम समुदायलाई विषेश अधिकार दिन माओवादी केन्द्रले लामो संघर्ष गरेको बताए । प्रचण्डले भने, ‘हाम्रो संघर्षका कारण अहिलेको संविधानमा कतिपय अधिकार संस्थागत गर्न सफल भएका छौ ।सामाजिक न्यायदेखि मुस्लिम र अन्य अल्पसंख्यक समुदायका अधिकार भएपनि कार्यान्वयन गर्ने चुनौती छ ।’

मुस्लिम समुदायको अधिकारका लागि माओवादीले मात्र संघर्ष गरेको र यसकै कारण देश धर्म निरपेक्ष हुन सकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘तपाईहरूले त आँखा चिम्लेर माओवादीलाई समर्थन गर्नु पर्छ ।, उनले भने, ‘शत्रु र  मित्र को हो चिन्नुपर्छ । अरु पार्टीबाट मुस्लिम समुदायको अधिकारको पहल सम्भव छैन ।’