काठमाडौं । आफ्नै रेकर्ड ब्रेक गरेर ५४ सदस्यीय मन्त्रिपरिषदको भार नेपाली जनताको टाउकोमा थोपर्ने ऐतिहासिक अवसर शेरबहादुर देउवाले पाएका छन् । आधुनिक नेपालको इतिहासमा सम्भवतः देउवा नेतृत्वको यो मन्त्रिपरिषद सबैभन्दा जम्बो हुनेछ । किनकि नेपालको संविधानले अब नयाँ संसद निर्वाचनपछि २५ सदस्य भन्दा ठूलो आकारको मन्त्रिपरिषद गठन गर्न रोकेको छ ।

इतिहासमा देउवा नै यस्ता नेता बने, जसले २० वर्षअघि इतिहासकै सबैभन्दा जम्बो मन्त्रिपरिषद बनाएका थिए । र, आफ्नो नाममा रहेको सो विकृतिको रेकर्ड उनी आफैंले तोडेर इतिहासको एक कालखण्डको खाता बन्द गरेका छन् । त्यसैले भन्नै पर्ने हुन्छ-नेपाली राजनीतिमा विकृतिका संवाहकको बहीखाता तयार हुन्छ भने एक नम्बरमा देउवाकै नाम लेखिनुपर्छ ।

शेरबहादुर देउवा एक लचिला पात्र हुन् । सिद्धान्त, बिचार र आदर्श नभएको मान्छे जोसँग पनि मिल्न लचिलो बन्न सक्छ र जस्तोसुकै सम्झौता गर्न तयार हुन्छ । यही लचिलो र सम्झौतापरस्त स्वभावकै कारण देउवा विभिन्न कालखण्डमा फरक-फरक शक्तिबाट प्रयोग हुन सहज पात्र बने ।

गिरिजाप्रसाद विरुद्ध एमालेले प्रयोग गर्‍यो । लोकतन्त्र विरुद्ध राजाले प्रयोग गरे । राजा बिरुद्ध माओवादीले पनि प्रयोग गरे । भारत विरुद्ध अमेरिकाले प्रयोग गर्‍यो, प्रकारान्तरले चीनविरुद्ध भारतले प्रयोग गर्दैछ ।

पद, पैसा र पावरका लागि जोसँग पनि सम्झौता गर्ने स्वभावकै कारण देउवा राजनीतिमा टिकिरहेका छन् । चारपटक प्रधानमन्त्री बन्दा पनि उनको त्यो सत्तामोह अझ उदात्त बनेर प्रकट भइरहेको बुझ्न सकिन्छ । आफूले भनेको आइजीपी नबनाएवापत उनले किचन क्याबिनेटकै पात्र गृहमन्त्री बिमलेन्द्र निधीलाई समेत बाँकी राखेनन् भने अरुको हबिगत के होला ?

पदका लागि देउवा एक मिनेट पनि पर्खिन सक्दैनन् भन्ने उदाहरण मनमोहन अधिकारी र प्रचण्डको हकमा देखाइसकेका छन् । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएर टिचिङ अस्पतालको आइसियुमा छटपटाइरहेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी विरुद्ध ०५२ असोजमा अविश्वास प्रस्ताव ल्याउँदा उनले एक दिन पनि पर्खिन मानेनन् ।

मृत्युसँग लडिरहेका पिता समानका नेतालाई उनले अपमानजनक ढंगले हटाएर प्रधानमन्त्री बनेदेखि नै नेपाली राजनीतिमा विकृतिको विजारोपण भयो । लगभग त्यही शैलीमा उनले गिरिजाप्रसाद कोइरालालाई ०५८ मा सत्ताच्यूत गर्न राजालाई उकासेका थिए । होलेरी काण्डपछि उनी सत्तामा पुग्न सफल भए ।

एक टेलिभिजन कार्यक्रममा आफूलाई प्रश्न सोध्ने नागरिकलाई हप्काउँदै ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भनेर मुख थुन्न खोज्ने देउवाले उनका यी दर्जन विकृतिमाथि प्रश्न सोध्ने जनताको मुख सधैं बन्द गर्न सक्ने छैनन् ।

चौथोपटक प्रधानमन्त्री बन्न उनलाई कुनै अड्चन थिएन । प्रचण्डले छाड्छु भनेकै थिए । तर, पहिलो चरणको चुनाव सफलतापूर्वक सम्पन्न गरेका प्रचण्डलाई दोस्रो चरणको चुनाव गर्न नदिई उनले सत्ताप्रतिको आशक्ति प्रकट गरे ।

पार्टीमा कोइरालाहरुले परिवारवाद लादेको भन्ने नारा लिएर कांग्रेसभित्र बैकल्पिक नेतृत्वको अभ्यास गरेका देउवा,कांग्रेसको सभापति भएपछि शासन सत्ताको डिफ्याक्टो बागडोर पत्नी आरजु देउवाको हातमा छ । मन्त्रीहरुले ठेक्कापट्टाका फाइलमा हस्ताक्षर गर्नुभन्दा अघि ‘भाउजूलाई सोध्नुपर्छ’ भन्ने अवस्था देउवाले सिर्जना गरेका छन् ।

कांग्रेसजनले देउवाका बारेमा गर्ने मूल्यांकनका धेरै ठेली भइसकेका छन् । पार्टीभित्र देउवाको कार्यशैलीबारे बोल्ने अधिकार कांगे्रसजनलाई नै छ । तर मुलुकको प्रधानमन्त्रीका रुपमा देउवाले नेपाली राजनीतिलाई दिएका केही विकृत उपहार इतिहासका हरेक मोडमा बहस हुनैपर्छ । किनकि एउटा शासक बहुलठ्ठी हुँदा र विवेक गुमाउँदा त्यो देशको पुस्तौं पुस्ताले सजायँ भोग्नुपर्छ ।

देउवाले आफू प्रधानमन्त्री भएका बेला कमैया मुक्ति, सुदुरपश्चिमको भौतिक पुर्वाधार विकास लगायतका कतिपय सकारात्मक काम नगरेका होइनन् । तर, उनले गरेका श्रृंखलावद्ध अनुचित र अनावश्यक निर्णयहरुले नेपाली राजनीतिलाई विकृत बनाएको छ भने उनको निधारमा विकृतिको टीका लागेको छ ।

नेपाली राजनीतिलाई विकृत बनाउने देउवाका एक दर्जन विकृत कार्य एकपटक पुनः स्मरण गरौं ।

विकृति १ः पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले २०५३ सालमा इतिहासकै जम्बो मन्त्रिपरिषद गठन गरे । ५२ सदस्यीय मन्त्रिपरिषद गठन गरेर उनले पहिलो विकृतिको टीका लगाए ।

विकृति २ः सत्ता टिकाउन जुनसुकै काम गर्न तयार हुने देउवाले तत्कालीन राप्रपाका सांसदहरुलाई बैंकका रेडलाइट एरियामा लगेर राखेको चर्चा चल्यो । अविश्वास प्रस्ताव फेल गराउन उनले राप्रपाका ४ सांसदलाई बैंकक पुर्‍याएको चर्चा चले पनि यसबारे अहिलेसम्म कतैबाट अनुसन्धान भएको छैन ।

विकृति ३ः नेपालको राजनीतिमा सुरासुन्दरी काण्ड मच्चाउने पनि देउवा सरकार नै रहेको बताइन्छ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार टिकाउन सत्तापक्षका सांसदलाई काठमाडौंकै तारे होटलमा सुरा र सुन्दरीसहित राखेको विषय नेपाली राजनीतिको इतिहासजस्तै बनेको छ ।

विकृति ४ः नेपाली राजनीतिलाई विकृत बनाउने र राज्यकोष दोहन गर्ने सन्दर्भमा देउवा सधैं उदार रहे । सांसदहरुलाई भन्सार छुटमा गाडी सुबिधा दिलाएर करोडौं राजश्व मार्ने काम पनि देउवा प्रधानमन्त्री भएकै बेलामा २०५३ मा भयो । सांसदको भन्सार छुट दुरुपयोग गरेर दलाल ब्यापारीले फाइदा लिए ।

विकृति ५ः देउवा प्रधानमन्त्री भएकै बेलामा नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै खुलेआम सुन तस्करीलाई छुट दिइयो । सुन तस्करीको लाइन मिलाउनेमध्येका भनिएका दीपक बोहोरालाई नै उनले अहिले आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिँदा मुछिँदै मन्त्री बनाएका छन् । नेपालमा सबैभन्दा ठूला भ्रष्टाचारका प्रकरण देउवा प्रधानमन्त्रीत्वकै बेला भए ।

विकृति ६ः देउवा दोस्रो पटक प्रधामन्त्री भएका बेला ०५९ जेठमा स्थानीय निकायका निर्वाचित प्रतिनिधिको ५ वर्षे कार्यकाल सकियो । उनले स्थानीय चुनाव पनि गराएनन् र जननिर्वाचित प्रतिनिधिको म्याद थप्न पनि मानेन् । लोकतन्त्रको जरा मास्ने कार्यको श्रीगणेश उनले त्यही बिन्दुबाट गरेका थिए ।

विकृति ७ः सत्ताका लागि देउवा जे पनि गर्छन् भन्ने उदाहरण उनले पार्टीको निर्देशन अवज्ञामात्र गरेनन्, कांग्रेस पार्टी नै फुृटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए । पार्टीले उनलाई स्वेच्छारी निर्णय नगर्न, भ्रष्टाचारमा संलग्न मन्त्रीलाई हटाउन र दरवारसँग साँठगाँठ नगर्न चेतावनी दिएको थियो । तर, उनले पार्टीनै फुटाइदिए ।

विकृति ८ः स्थानीय निकाय मासेलगत्तै उनले ०६१ सालसम्मका लागि निर्वाचित र बाँकी रहेको एकमात्र जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा भंग गरे । तत्कालीन राजाको चाहनाबमोजिम संसद भंग गरेर जंगबहादुर बन्न खोजेका शेरबहादुरलाई ६ महिना नपुग्दै चुनाव गराउन असक्षम घोषित गर्दै राजाले अपदस्थ गरेर शेरलाई स्याल बनाइदिए ।

विकृति ९ः जतिबेला अछाम, हुम्ला, मुगु, बाजुरा जस्ता जिल्लामा भोकमरीले जनता मरिरहेका थिए । त्यतिनै बेला राजाको प्रधानमन्त्री बनेका देउवाले गोरखाका राजालाई गुन तिर्न राजपरिवारको भत्ता बढाउने निर्णय गरे ।

देउवाले क्याबिनेटबाट निर्णय गराएर राजपरिवारकी सदस्य हेलेन शाहलाई डेढ करोड उपचार खर्च पनि दिलाए ।

विकृति १०ः जनप्रतिनिधिमूलक संस्था विघटन गरेर प्रजातन्त्र दरवारलाई बुझाएका देउवाले सडकमा फालिँदा पनि राजाको आश गर्न छाडेनन् । जुन अभियोग लगाएर उनी हटाइएका थिए, त्यो पुष्टि नभई वा राजाले गल्ती भयो नभनी उनी आफैं प्रतिगमन आमा सच्चियो भन्ने एमालेको साथ लिएर पुनः राजाकै टिके प्रधानमन्त्री बन्न पुगे । उनले त्यसपछि भनेका थिए-गोरखाका राजाबाट न्याय पाएँ ।

गोरखाका राजाबाट न्याए पाएँ भनेको ७ महिना नपुग्दै देउवा तिनै गोरखाली राजा राम शाहका खलकबाट पुनः बर्खास्त भए र दोस्रो पटक लोकतन्त्र दरबारमा बुझाए । राजाबाट २ पटक बर्खास्त हुँदा र शाही आयोग लगाएर भ्रष्टाचार प्रकरणमा जेल हाल्दा पनि उनले पछिसम्म गणतन्त्रमा जान मानेका थिएनन् ।

विकृति ११ः देउवा चौथोपटक प्रधानमन्त्री बन्नुअघि नै कांग्रेसको सभापति भए । न्यायिक सर्वोच्चता मान्ने कांग्रेसको आदर्शलाई कुल्चेर उनले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराए र सिंगो न्यायपालिकालाई दीर्घकालीनरुपमा त्रासमा राख्न हरसम्म हर्कत गरे । आफू अनुकुल नहुनासाथ लोकतन्त्रका कुनै पनि मूल्य मान्यता मान्दिनँ भन्ने उनले प्रष्ट सन्देश दिए ।

विकृति १२ः चौथो पटक प्रधानमन्त्री भएपछि पनि देउवाको चरित्र फेरिएन । धेरैले अब देउवा सुधि्रने अपेक्षा गरेका थिए । उनले ५४ सदस्यीय मन्त्रिपरिषद गठन गरेर इतिहासको आफ्नै रेकर्डमात्र ब्रेक गरेका छैनन्, राजनीतिमा विकृतिको बाहक मै हुँ भन्ने स्वीकार गरेका छन् ।

इतिहासको प्रश्नबाट देउवा भाग्न सक्छन् ?

बाढी पीडितले गाँस र बास पाएनौं भनेर रुवाबासी गरिरहेका बेला देउवाले पूर्वपञ्चहरुलाई फुटाएर दीपक बोहोरा जस्ता पात्रलाई मन्त्री नबनाई नहुने भाउँतो किन आइलाग्यो ? इतिहासले देउवामाथि यो प्रश्न गरिरहनेछ ।

एक टेलिभिजन कार्यक्रममा आफूलाई प्रश्न सोध्ने नागरिकलाई हप्काउँदै ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भनेर मुख थुन्न खोज्ने देउवाले उनका यी दर्जन विकृतिमाथि प्रश्न सोध्ने जनताको मुख सधैं बन्द गर्न सक्ने छैनन् ।