काठमाण्डौ । चाबहिलमा रहेको ओम अस्पतालमा नाकको शल्यक्रिया गर्ने क्रममा बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

चार दिन अघि नाकको कुरकुरे हाड सोझ्याउन अस्पताल भर्ना भएका क्रममा उनको मृत्यु भएको थियो । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

‘ जन्मजातै उनको नाक थोरै बांगो थियो थियो, दुख्ने घोच्ने केही हुन्थेन, बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो,’ मृतकका श्रीमान बसन्त भट्टराईले भने । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा। राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले भने, शल्यक्रियापछिको उपचारपछि डाक्टरले कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको दाहालले सुनाए ।