काठमाडौं । दुई देशबीच हुने उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक र नाका खुला गर्नेबारे सम्झौता गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले जानकारी दिए । तर, चिनियाँ पक्षले भने नाका संख्या घटाउने तयारीमा रहेको बुझिएको छ । ‘सुरक्षाको दृष्टिकोणबाट पनि चीन धेरै नाका नखोल्ने पक्षमा छ,’ मन्त्रालयका एक अधिकारीले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले छलफलमा राखिने सबै नाकामा दुई देशबीच सम्झौता हुने विश्वास व्यक्त गरे ।

चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदै छ । दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।
चिनियाँ टोलीमा त्यहाँको यातायात मन्त्रालय, पराराष्ट्र, गृह, अर्थ, वाणिज्य मन्त्रालयलगायत तिब्बत क्षेत्रका प्रतिनिधि रहेका छन् । त्यस्तै, नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गर्नेछन् । गृह, अर्थ, वाणिज्य, पराराष्ट्र, कानुन मन्त्रालयका सहसचिव टोलीमा छन् ।

नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ । तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला हुन् । भूकम्पपछि तातोपानी–खासा नाका पूर्ण रूपमा बन्द भएपछि अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ
संशोधन सम्झौतामा प्रस्तावित नाकाहरू :

रसुवागढी–हिल्सा
रसुवागढी–कोराला
खासा–कोराला
रसुवागढी–डोल्पा
खासा–डोल्पा
रसुवागढी–डोल्पा
रसुवागढी–दार्चुला
खासा–दार्चुला
रसुवागढी–बझाङ (ताक्लाकोट)
खासा–बझाङ (ताक्लाकोट)
रसुवागढी–ओलाङचुङोला
रसुवागढी–किमाथांका (संखुवासभा)