काठमाडौं । नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११३८ को स्वागतार्थ पोखरामा शुक्रबार बृहत भिन्तुना र्‍याली निकालिएको छ ।

नेवा खलः कास्कीको आहृवान तथा पृथ्वीचोक कचा खलः, पृथ्वीचोक मिसा पुचः र पृथ्वीचोक ल्याम्हः पुचःको संयुक्त आयोजनामा शुक्रबार पोखरामा न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो ।

समुदायले प्रत्येक वर्ष कार्तिक शुक्लपक्षको प्रतिपदा (हिन्दूहरुको गोवर्द्धन पूजा या नेवारहरुको म्ह:पूजा) का दिन नयाँ वर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा लोकप्रियता बढ्दै गएको पाइएको छ ।

सो समुदायका नयाँ तथा परिपक्व पुस्तामा उक्त संवतलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न देखिएको जोश र जाँगरले संवत् लोकप्रिय बन्दै गएको हो । यस वर्ष ११३८ ने.सं. मनाउनका लागि चित्तरञ्जन नेपालीको संयोजकत्वमा नागरिक स्तरबाट समिति समेत गठन गरिएको छ ।

वि.सं.को कात्तिक शुक्ल पक्षको दिनमा यस संवतका प्रवर्तक शंखधर साख्वाले केही जनताको केही ऋणी तिरेर उनीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा नयाँ संवत् प्रचलनमा ल्याइएको बताइन्छ ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार शंखधर भन्ने एक व्यापारी थिए, व्यापार गर्दागर्दै उनी धेरै धनी भएपछि गरिब जनतालाई ऋणमुक्त गरेका थिए । कान्तिपुरका एकजना साधारण नागरिक साख्वाले चलाएको संवत नेपालको मौलिक संवत भएपनि कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ ।

कार्तिक शुक्ल पक्ष प्रतिपदाको सूर्योदसँगसँगै नेपाल सम्वतको नयाँ वर्ष सुरु हुन्छ । नव वर्षलाई नेपाल भाषामा ‘न्हू दँ’ भनिन्छ । नेपालमा औपचारिक रूपले यो संवत् चन्द्रशमशेरको कार्यकालसम्म प्रचलनमा रहेको विश्वास छ ।