काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एवम् एमाले चितवनका नेता मंसिरको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाइ दिने चेतावनी दिएका छन् ।

चितवनमा केही हप्ता अगाडि चितवन एमालेले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नेता ज्ञवालीले प्रचण्ड र माओवादीलाई  हराईदिने चेतावनी दिएका हुन् । ‘एउटा माघले मात्रै जाडो जाँदैन । माघ त फेरि पनि आउँछ’, ज्ञवालीले प्रचण्डलाई चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘यस पटक त माघै लाग्नु पर्दैन मंसिर मै चुनाव छ ।’

आफूलाई भरतपुरमा हराउन प्रचण्डले सुनको सिक्री बितरण गरेको आरोप लगाएका एमाले नेता ज्ञवालीले भने, ‘देवी ज्ञवालीले झण्डै ३ सय मतले जित्ने भएपछि बालुवाटारमा बैठक बस्यो । बैठकमा वकिलहरू राखियो । अब के गरी देवी ज्ञवालीलाई हराउने भनेर योजना बन्यो । रमण श्रेष्ठ महान्यायाधीवक्तालाई त्यहाँ राखियो । उनले त्यो ऐन पल्टाए । ऐनका गलत प्रयोजनलाई हेरेर मतपत्र च्यात्ने । च्यातेपछि कब्जा भन्ने कुरा लेख्न लगाउने । अनि निर्वाचन आयोगलाई धम्काउने ।’

ज्ञवालीले भनेका छन्, ‘अदालतमा मुद्दा हाले छन् भने नेविसंघको हिजोको उपाध्यक्षलाई हामीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश (गोपालप्रसाद पराजुली) बनाइ हालेका छौँ । त्यहाँ पनि धम्काउने । जसरी पनि छोरीलाई जिताउने ।’

‘मसँग चुनावमा २ सय ६० मतले हारेकी रेणु अनेकौ धाँधली गरेर अर्बौं रुपियाँ खर्च गरेर दोस्रो चरणमा अदालतलाई किनेर, निर्वाचन आयोगलाई किनेर जिताइयो’, उनले भनेका छन्, ‘म शारदानगरमा सावित्री गुरुङलाई भेट्न गएको थिएँ । त्याहाँ अर्की बहिनी आएकी थिइन् । दिदीले बहिनीलाई सोध्नु भयो । बहिनी कहाँ भोट हालेको । ती बहिनीले घाँटीमा सिक्री देखाउँदै मैले त यही सिक्रीमा हालेको भनिन् । मलाई जसले सिक्री दियो त्यसैलाई हालिदिए । एउटा भोट मान्छे–मान्छेलाई सिक्री बाँडेर किन्ने धाँदली गरे हराए ।’‘जनतालाई धाँदली गरेर जितेर मान्छे कुर्सीमा बसेर सिधा हेर्न सक्दैन’, उनले भनेका छन्, ‘रेणुले जितेर के गर्ने जसले ठाडो शिरले हेर्न सक्दैन । जसले गर्वसाथ कुरा गर्न सक्दैन । मैले कुर्सीमा बसेर साइन गर्न पाइन तर देवी ज्ञवाली जनताको दिलदिलमा बसेको छ । अब कांग्रेस र माओवादी एकीकरण गरे हुन्छ ।’