काठमाण्डौं नियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन बुधबारदेखि चीनको राजधानी बेइजिङमा चलिरहेको छ। महाधिवेशन सफलताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख राजनीतिक दलका नेताहरूले चिनियाँ नेताहरूसमक्ष शुभकामना सन्देश पठाएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव सी जिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ अवधारणा, नयाँ विचार र नयाँ रणनीतिको निर्देशनमा चीनको अर्थतन्त्रले मध्य–उच्च वृद्धि गतिलाई कायम राखेकोमा सन्तोष प्रकट गरेका छन्।

देउवाले गरिबी निवारण लक्ष्य क्रमशः साकार गर्दै सरदर आम्दानी निरन्तर रुपमा बढाएको कुराप्रति पनि चासो प्रकट गरेका छन्। ‘यस महाधिवेशनले अन्तर्राष्ट्रिय र चिनियाँ परिस्थितिको गहिरो विश्लेषण गर्दै समयको माग अनुरूप योजना तथा विधान तर्जुमा गरेर चीनलाई अझै समृद्धि र विकासको उचाईमा पुर्‍याउने विश्वास लिएको छु’, देउवाले आफ्नो सन्देशमा लेखेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले शुभकामना सन्देशमा सी जिनफिङलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको नेतृत्वमा चिनियाँ विशेषतायुक्त समाजवादको कार्यले उत्कृष्ट उपलब्धि हासिल गरेको औंल्याएका छन्। उनले यस महाधिवेशनले चिनियाँ विशेषतायुक्त समाज निर्माणको सपनालाई साकार तुल्याउन सकोस् भन्ने शुभकामना दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता एवम् भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको सफलताको शुभकामना दिएको कुरा चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

त्यस्तै नेकपा(माले)केन्द्रिय समितिका महासचिव सीपी मैनाली, नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिका अध्यक्ष नारायणमान विजुक्छे लगायतका नेताहरूद्वार शुभकामना पठाइएको छ।

उनीहरूले १८औं महाधिवेशनदेखि सीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादको निर्माणमा ठूलो उपलब्धि हासिल गरेर नयाँ विकासको चरणमा प्रवेश गरेको उल्लेख गरेका छन्।

साथै सीको नेतृत्वमा विश्वको शान्ति सुरक्षाका लागि अर्थतन्त्र, राष्ट्रिय सुरक्षा आदि क्षेत्रमा चीनको प्रगति निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।

शुभकामना नेपालका नेताहरूले सीको बलियो नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी र चीनले अर्थतन्त्र, विज्ञान तथा प्रविधि, सँस्कृतिको निर्माण आदि क्षेत्रमा निरन्तर रुपमा नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने अपेक्षा पनि प्रकट गरेका छन्।