रोल्पा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले बम विस्फोट गराउनेहरु अपराधी भएको बताएका छन् । शुक्रबार सदरमुकाम लिबाङमा आयोजित वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै महराले राष्ट्रविरोधी, जनता विरोधी शान्ति विरोधीतत्वले निर्वाचन विथोल्न बम पड्काईरहेको बताएका हुन् ।

निर्वाचनसभामा भाग लिन दाङको घोराहीबाट लिबाङ जाँदै गरेका नेता महरालगायतका माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरि शुक्रबार विहान लिबाङ नजिकै बम विस्फोट गराईएको थियो । बम विस्फोटपछि आयोजित सभालाई सम्बोधन गर्नेक्रममा महरा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व निर्वाचन भाँड्न लागिरहेको छ । त्यहीं तत्व, जो जनविरोधी, राष्ट्रविरोधी छन् । शान्ति चाहँदैनन्, उनीहरुले नै यदाकदा बम फड्काउने दुस्साहस गरिहेका छन्’, वरिष्ठ नेता महराले भने, ‘तपाईंहरुको प्रयास अराजनीतिक, अपराधिक र देशमा अशान्ति मच्चाउनेछन् ।’

नेता महराले कुनै पनि शक्तिले निर्वाचन विथोल्न नसक्ने दावि गरे । ‘हामी तिमिहरुका बमले कुनै पनि हालतमा डक्मगाउदैनौँ’, उनले भने, ‘तिमीहरुको कुनै पनि तागतले चुनाव रोकिदैन । हामी दुई तिहाई सिटसहित विजयी हुन्छौँ ।’