गोरखा ।  नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले आफ्नो कांग्रेससँगको सहकार्य देशको विकास र समृद्धिका लागि भएको बताएका छन्। गोरखाको घैरुङमा आयोजित कांग्रेस र नयाँशक्तिको संयुक्त सभामा बोल्दै उनले कांग्रेससँगको सहकायर्यको रणनीतिक महत्व र उद्देश्य रहेको दाबी गरे।

भट्टराईले माओवादी केन्द्रका साथीहरुले कांग्रेससँगको सहकार्यलाई प्रतिक्रान्ति, अवसरवाद भनेर गलत प्रचार गरेको बताए। ‘कांग्रेससँगको सहकार्य प्रतिक्रान्ति र अवसरवाद हो भने हिजो कांग्रेससँग मिलेर भरतपुरमा अनेक हतकण्डा अपनाएर छोरी जिताउनु के हो?’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले भने, ‘कांग्रेससँग मिलेर सरकार बनाउनु के हो? लाज पचाएर विनाविभागीय मन्त्री भएर तलब भत्ता खानु के हो?’

वाम गठबन्धनप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका भट्टराईले भने, ‘विन्सटन चर्चिलको भनाइ छ- बाटोमा भुक्ने सबै कुकुरलाई ढुंगा हान्दै बस्यो भने गन्तव्य/लक्ष्यमा पुगिँदैन। म त्यसरी ढुंगा हान्न लाग्दिन, आफ्नो बाटोमा हिँडिरहन्छु, तपाईंहरु पनि भुक्ने कुकुरको पछि नलागी आफ्नो काममा लाग्नुस्।’

उनले आफूलाई अस्थिर भनेर गरिने टिप्पणी आधारहीन भएको बताए। उनले भने, ‘म अस्थिर होइन, अडिग छु, हिजो राजतन्त्रका विरुद्ध म अडिग रहँदा राजतन्त्र गयो। अब देशको विकास र समृद्धिका लागि नरक जान परे पनि तयार छु। देशको विकास र समृद्धिका लागि म गतिशील भएको हो अस्थिर होइन।’

उनले एमाले र माओवादी केन्द्रले कम्युनिस्ट एकता गर्ने भनी जनतामा भ्रम छरेकाले त्यस्ता भ्रमको पछि नलाग्न मतदातालाई आग्रह गरेका थिए।