गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीको विकल्प खोज्नु मुलुकका लागि अनिष्टको संकेत भएको बताएका छन् ।

गोरखा २ मा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राजनीतिक विवाद नउचाल्न आग्रह गरे । प्रचण्ड र ओलीले संयुक्त गठबन्धन गरेर संसदीय प्रणाली खारेज गर्छौ र साम्यवाद ल्याउँछौं भनेको भन्दै पौडेलले भने, ‘यो राष्ट्रका लागि अनिष्टको संकेत हो । पुनः द्वन्द्वमा धकेल्नु हो ।’

संसदीय प्रणालीको विकल्प खोज्नेहरुले राष्ट्र र जनताको अनिष्ट गर्न चाहेको उनको आरोप छ । ‘अध्यक्षत्मक प्रणाली अधिनायकतन्त्रको जन्म दिने, सद्दाम हुसेन जन्माउने सोच हो’ बाबुरामसहितका उम्मेदवारलाई भोट माग्न आयोजित सभामा पौडेलले भने, मैले प्रचण्ड र ओलीलाई भनेको छु, तिम्रो तागत छैन ।’

पौडेलले राष्ट्रपतीय प्रणालीको विरोध गरिरहँदा बाबुरामबारे भने केही बोलेनन् । नयाँ शक्तिका गोरखा २ का उम्मेदवार भट्टराई, जसलाई कांग्रेसले समर्थन गरेको छ, उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेका छन् ।