चितवन । नेपाली राजनीतिको नेतृत्वदायी भूमिकामा रहेका माओवादी केन्द्रका अध्यक्ष ६३ वर्षीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला युवाको जोशमा रातदिन नभनी चुनाव प्रचार अभियानमा सक्रिय छन ।  चितवन क्षेत्र ३ मा प्रचण्डका प्रतिस्पर्धीका रुपमा राप्रपा ‘प्रजातान्त्रिक’ का उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा छन् । उनलाई नेपाली कांग्रेसको पनि समर्थन छ । तर नेपाली कांग्रेसको आफ्नो उम्मेदवार नभएको र प्रचण्ड राष्ट्रिय राजनीतिको प्रमुख पात्र भएकाले कांग्रेस, राप्रपा लगायतका धेरै नेता र कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन । भने धेरैले भोट प्रचण्डलाई दिने अभियानमा छन ।

आफ्नो एकमात्र छोरा प्रकाशको निधनले पारिवारिक पिडामा रहेका प्रचण्ड आँशु लुकाएर चुनावी मैदानमा खटिरहेका छन् । बाँदरझुला र माडी नगरपालिकाको चुनावी अभियान सकेर फर्केका प्रचण्डले मंगलबारसम्म पश्चिम चितवनको पर्साढाप र भगाहासम्मको घरदैलो सकिसकेका छन् । चुनाव र समसामयिक विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग गरिएको  विशेष कुराकानी :

दशवर्षे जनयुद्धपछि, शान्ति प्रक्रिया मार्फत मुलुकलाई संविधान दिने काममा महत्वपूर्ण भूमिका खेल्नुभो, रोल्पा सिराहा हुँदै किन चितवन–३ छान्नुभो ?

परिस्थति हेरेर गम्भीर र साहसिक निर्णय गर्ने अवसर मलाई जुटेको छ । नेपाली जनताले मलाई त्यसै रुपमा विकास गरे । एउटै नेताले विद्रोह र शान्ति प्रक्रियाको नेतृत्व गर्दै संविधान निर्माण गर्ने अवसर कमै मान्छेलाई जुट्छ । विद्रोह, शान्ति प्रक्रिया र संविधान निर्माणमा मलाई जनताको साथ मिल्यो, अब विकास र संवृद्धिको नेतृत्व पनि प्रचण्डले गरोस भन्ने आम नेपाली जनताको चाहना रहेको छ ।

पहिलो पटक रोल्पा र काठमाडौंबाट चुनाव लडेँ, मेरो चाहना त चितवन आउने थियो । मैले पढेलेखेको हुर्के बढेको चितवनमा हो, तर त्यतिवेला विद्रोहको केन्द्र र देशको राजधानीको मनोविज्ञान नजोडीकन शान्तिप्रक्रिया टुंग्याउन संभव थिएन् । त्यो मनोविज्ञान जोड्नका लागि दुई ठाउँबाट उठेँ ।

दोस्रोपटक, सिराहाबाट चुनाव लडेँ, किनभने काठमाडौंबाट तराई टाढा–टाढा जाने खतरा थियो । कता कता अलगाववाद र विखण्डनवाद हावी हुने हो की भन्ने र मधेसी जनताको मनमा काठमाडौंले हामीलाई अपमान पो गरेको छ की भन्ने भावना विकास हुँदै थियो । अनि पहाडतिर चाहिँ मधेसमा अलगवावाद आउन लागेको चिन्ता ! यो दुरी कसले घटाउने भन्ने प्रश्न उठ्यो, अनि मैले नेतृत्व गरेको युद्धका क्रममा मधेसमा मात्र १३ सय मान्छेको ज्यान गएको छ । त्यसैले मधेस र काठमाडौं जोडनु मेरो दायित्व बन्यो दोस्रो पटक पनि चाहँदा चाहँदै चितवन आउन सकिँन् ।

अब देशमा ठुलो क्राईसिस छैन, त्यसैले अब आफू हुर्केबढेको जिल्लामा जानुपर्छ, विकास र संवृद्धिको काम चितवनबाट नै अगाडि बढाउनुपर्छ चितवनका सचेत जनताको अभिमत लिएर राष्टको संवृद्धिका लागि काम गर्नुपर्छ भनेर चितवन आएको हुँ ।

तपाईसँग चितवन विकासका एजेन्डाहरु के छन् ?

शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा चितवन एउटा हबको रुपमा विकास होस् भन्ने मैले चाहेको छु । दोस्रोपटक प्रधानमन्त्री हुँदा शक्तिखोरमा औधोगिक क्षेत्र निर्माणको कुरा भएको छ, यता चित्रवनमा राष्ट्रिय स्तरको रंगशाला निर्माणको बजेट निकासा भएर काम अगाडि बढेको छ ।भरतपुरमा प्रदर्शनी केन्द्र बनाउने काम अघि बढी सकेको छ । राष्ट्रिय स्तरको लिडर, बिद्रोह र शान्ति प्रक्रियाको लिडर भएको हुनाले यहाँबाट चुनाव लड्दा चितवन र राष्ट्रकै संवृद्धिमा योगदान हुन्छ भन्ने विश्वास जनताको रहेको मैले पाएको छु ।

नारायणीमा थप दुईओटा पुल निर्माण गर्दै, नारायणी र राप्ती नदीलाई अधिकतम उपयोग गरेर संवृद्धिको एउटा आधार तय गर्न सकिन्छ । गोलाघाटमा पुल, माडी र भरतपुर जोड्ने सुरुङमार्ग निर्माण गर्ने योजना सहित म चितवन आएको छ । मुख्य कुरा चाहीँ केरुङदेखि ठोरी हुँदै भारतसम्मको बाटो खोलेर चीन–भारतबीच व्यापारिक मार्गको निर्माण गर्दै चितवनको मुहार फेर्ने र एशसयाली मापदण्डको शहर बनाउने मैले सोचेको छु ।

तपाई दुरदृष्टि भएको नेता हो, कांग्रेसँग मिलेर १२ बुँदे संझौता हुँदै संविधान निर्माण गर्नुभो, अहिले किन कांग्रेसलाई छाड्नु भयो ?

कांग्रेसलाई छाडेको छैन, अहिले पनिन देउवा जिको सरकारमा हाम्रा मन्त्रीहरु छन् । यद्यपी उहाँले बिना विभागीय बनाउनुभो । मैले कांग्रेसलाई धोका दिएको पनि छैन । कांग्रेसको सरकार गिराउन वाम गठबन्धन गरेको पनि हैन । यो देशमा राजनीतिक स्थायित्व ल्याउन र विकास र संवृद्धिका लागि दुरदृष्टिबाट हेरेर यो निर्णय लिएका हौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालले कम्युनिष्ट शासन ल्याउन एमालेसँग मिलेको तपार्इलार्इ आरोप लगाएका छन् नी ?

प्रचण्डले कम्युनिष्ट सरकार बनोस भनेर चाहनु विल्कुल जाहेज र स्वभाविक छ । स्थानीय तहमा रोल्पा, रुकुम, जाजरकोट सल्यान, कालिकोटमा नेपाली कांग्रेसले त्यतिवेलाको प्रतिपक्षी एमालेसँग तालमेल गरेरे चुनाव लडेको थियो । मैले किन मिल्या प्रतिपाक्षीसँग भनेर कहिल्यै भनिन्, यद्यपी म त्यतिवेला प्रधानमन्त्री थिएँ । त्यतिवेला कांग्रेस र एमाले आठ–दश जिल्लामा मिल्दा सहि हुने ? मैले ७७ ओटै जिल्लाम मिल्छु भनेर के गल्ति गरेँ ?

तपाईले गिरीजाबावुसँग मिलेर १२ बुँदे संझौता गर्दा जुन सोच राख्नुभएको थियो, अहिले आएर कांग्रेर र माओवादी केन्द्र मिल्नुपर्छ भन्ने जनमत हुँदाहुँदै किन अर्को कदम चाल्नुभो ?

कांग्रेस र माओवादी मिलेको देख्न चाहने जनताको एउटा तप्का थिएन्, भनेर म भन्दिनँ, तर त्यसको लागि कांग्रेस नै तयार देखिएन् । स्थानीय तहको दुई नम्बर प्रदेशमा जसरी चुनाव भयो, त्यसबाट के देखिन्छ भने कांग्रेस नै तयार थिएन् । तत्कालको कुरा भन्दा कांग्रेसमा गाम्भीर्यताको कमी, यो विषयकोलाई उसले रणनीति बुझन् सेकन् ।

दीर्घकालिन रुपमा भन्नुहुन्छ भने अन्ततः कम्युनिष्टहरु नै मिल्नुपथ्र्यो । कांग्रेसहरु कांग्रेसँगै मिल्नुपथ्र्यो । देशको स्थिरता र विकासको निम्ती बिचार मिल्नेहरु नै एक ठाउँमा हुनुपथ्र्यो त्यसकारण म यता आएको छु ।

तपाई जहाँबाट उठेपनि जित्न सक्ने नेता हो, आज चितवन–३ मा कांग्रेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ किन ?

तपाईले कुरा बुझ्नुभएन, कांग्रेसँग प्रतिस्पर्धा गर्न पाएको भए खुसी हुन्थेँ, तर यहाँ त कांग्रेस छैन । समर्थन गर्ने कुरा अलग हो । यहाँ कांग्रेसका इमानदार, निष्ठावान, लामो संघर्ष र इतिहास भएका पुराना नेताहरु कांग्रेसको यो निर्णयबाट धेरै चिन्तित, असुन्तुष्ट हुनुहुन्छ । अब बुढेसकालमा हलो ? राप्रपलाई समर्थन गर्नुपर्ने १ उँहाहरुलाई कहिँ कतै चित्त बुझेको मैले देख्दिनँ ।

शान्ति संझौताको हस्ताक्षरकर्ता गिरीजाबावुले मृत्युशैयाबाट शान्ति प्रक्रिया टुंग्याउने र देश सम्हाल्ने तपाईको जिम्मा भनेर जनुभएको थियो । यो कुरा कांग्रेस र आम जनताले पनी थाहा पाएकै छन् । शेरबहादुर जि ले मलाई संसदको रोष्टमबाटै राजनेता भन्नुभएको थियो, अब अहिले मैले चितवन बाट लड्छु भन्दा कांग्रेसले ठिक छ उहाँलाई नै समर्थन गर्छौ भनिदिएको भए मैले मञ्चबाट शेरबहादुरलाई पनि राजनेता भन्थेँ । कत्ति राम्रो हुन्थ्यो !

कांग्रेसका यहाँ वरिष्ठ ठुला–ठुला नेताहरु छन् उनिहरुलाई दिएको भए सम्मानजनक स्वस्थ प्रतिस्पर्धा गर्थे, तर उहाँहरु उल्टो बाटो हिँड्नुभो । विपीको समाजवादको धारा गिरिजाबावुको शान्ति संझौता र गणतन्त्रको धारासँग यो हलोलाई समर्थन गर्ने कुरा मिल्या छ त ?

कांग्रेसका निष्ठावान कार्यकर्तालाई के भन्नुहुन्छ ?

तपार्इहरुले नैतिकताको आधारमा विपी र गिरिजाबावुको लाईनको अधारमा मलाई समर्थन गर्नुपर्छ । तपाईहरुले हँसिया हथौडामै भोट हाल्नुपर्छ भनेर मैले भन्ने गरेको छु । उहाँहरुलाई त्यसो गर्न गाह्रो, पार्टीले हलोमा निर्णय गरेको छ । राप्रपालइ समर्थन गरेको छ । हाम्रा केही साथीहरुले भन्छन्, हलो भाँचियो भनेर । म त्यही भाषा त धेरै भन्न चाहन्न, किनभने यहाँको राप्रपाकाे १९ बर्षसम्म जिल्ला अध्यक्ष भएको मान्छे अहिले माओवादीमा प्रवेश गर्नुभो । सयौं कार्यकर्ता लिएर आउनुभएको छ । त्यसकारण उहाँको हलो पनि अब सग्लो छैन्, कांग्रेसका साथीहरु त्यही बोकेर हिँडिराख्नुभा छ । त्यसो हो भने, निष्ठावान कार्यकर्तालाई मैले के भनेको छु भने, विपीको भनाई अनुसार निर्णय गर्न अप्ठ्याराे परेको बेलामा एकमुठी माटो समानुस छातीमा राख्नुस अन्तरआत्माले जे भन्छ त्यही गर्नुस् । हामी पनि अब लोकतान्त्रिक तरिकाबाट नै समाजवादमा जाने भनेका छौं त्यसैले सिद्धान्तमा पनि ठुलो खाडल छैन त्यसैले इमान्दार कार्यकर्ताले छातीमा हात राखेर सोच्दा प्रचण्डलाई नै भोट हाल्ने देखेको छु ।

कांग्रेसले रेणुलाई जिताए, अब प्रचण्डलाई जिताउने पनी कांग्रेस नै हुन त ?

हैन, जित्न त गठबन्धन र जनताको मतका आधारमा जितिन्छ । मलाई चितवनमा दुई पटक प्रधामन्त्री भएको एक मात्र नेताको रुपमा चितवनका जनताले हेरेका छन् । विकास निर्माण र समृद्धि गर्न सक्नेको नेता र राजनितीक परिवर्तनको बाहकको रुपमा पनी हेरेको पाएको छु । हिजो बाम गठबन्धन बन्नुभन्दा अगाडी नै पार्टीबाट म यहाँ आउने निर्णय भएको थियो । म एक्लै चुनाव जित्छु भन्ने आँटले आएको थिए, किनकी चितवनका जनताप्रती मलाई भरोसा थियो, छ । खाली पार्टी कत्ति ठुलो र सानोको कुरा हुँदैन कहिलेकाँही ब्यक्तित्व या आफुले खेलेको भुमिकाको कारण जनताले उभारको रुपमा समर्थन गर्छन् । मलाई त्यो विश्वास थियो, झन एमाले र माओवादी बिच पार्टी एकता गर्ने भनेर पार्टी एकता संयोजन समतिी बनेपछी र बाम गठन्धनको साझा उम्मेद्वारको रुपमा आएपछी मेरो जित त्यताबाट पनी सुनिश्चीत थियो । तर म चाहन्छु कांग्रेसले पनी मलाई समर्थन गरोस् ।

तपाई आफु कांग्रेसको पनी मत लिएर चितवन ३ बाट सर्वसम्मत निर्वाचित हुने चाहना हो ?

मेरो चाहना त्यही नै हो । हिजो हामी सवैले सहकार्यमा संविधान बनायौं । शान्ति सम्झौता गर्दा सात दलको तर्फबाट गिरीजा प्रसाद कोईरला र नेकपा माओवादीको तर्फबाट हस्ताक्षर गरेर शान्ति संभाmैता भयो । कांग्रेस एमाले र माओवादीको सहकार्यमा १२ बुँदे संझौता भयोे, भोली एमाले र माओवादीको पार्टी एकता भएपछि पनि कांग्रेसँग सहकार्य भईराख्न सक्छ । त्यसैले विकास निर्माण संमृद्धि र भोलिको राष्ट्रिय सहकार्यको निम्ति पनि कांग्रेसले मलाई दिनुपथ्र्यो भन्ने मेरो दाबी हो ।

बाम गठबन्धनको बहुमत आउने आधार के छ ?

तथ्यांक नै हेरे पनि हुन्छ । २०७० सालको संविधानसभाको निर्वाचन र स्थानिय तह चुनावको तथ्यांक नै हेर्दा मात्र पुग्छ । बाम भित्रको एकता मनभित्रै देखि छ । आज विहान मात्रै कमरेड ओलीसँग लामो कुराकानी भयो, ३२ जिल्लामा हामीलाई दुई तिहाई भन्दा बढी आएको निष्कर्षमा पुगेका छौं । दोस्रो चरणमा दुई तिहाईको टार्गेटमा छौं । कत्ति आउँछ भन्ने कुरा जनताले फैसला गर्छन ।

देउवाले कम्युनिष्टको बहुमत आउँदैन्, कम्युनिष्ट शासनमा रुन पनि पाईदैन भन्नुभा छ नी ?

यो कुराको जवाफ म देउवाजीकै भाषामा दिन चाहन्न । कांग्रेसले रुवायो हामी त्यसो गर्दैनौं भन्न पनि सकिन्छ । थुप्रै उद्योगधन्दा कल काराखाना कौडीको भाउमा बेचेर जनतालाई रुवायो, विकास, निर्माण संमृद्धि भएन हामी त्यसो गर्दैनौं कांग्रेसले रुवाएको रुवायै छ हामी हँसाउँछौं भनेर धेरै आरोपीत गर्न चाहन्न ।

तर, कुरा के भने बाम गठबन्धनको पक्षमा लहर आई नै सकेको छ, उहाँले बहुमत कुनै हालतमा रोक्न सक्नुहुन्न । आउदै भने पनि स्वीकारिन्छ, जनताको अभिमतको सम्मान हामी गर्छौ । लोकतन्त्रमा, शान्ति प्रक्रियामा प्रतिस्पर्धामा आईसकेपछि खेलको नियमलाई पलना गर्नै पर्छ ।