काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकमध्ये एक हुन्– उज्ज्वल थापा । उनी काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । अर्का संयोजक रवीन्द्र मिश्र मिडियामा छाइरहेका बेला थापा भने खासै चर्चामा छैनन् ।

पहिलोपटक संसद भवन छिर्न थापाले काठमाडौं-५ बाट कांग्रेस र एमालेका दुई ‘हेभीवेट’ उम्मेदवार प्रकाशशरण महत र ईश्वर पोखरेललाई पन्छाउनुपर्ने छ । के यो सम्भव होला ? अघिल्लो चुनावमा पनि थापा काठमाडौं-५ बाटै लडेका थिए, तर, सफल भएनन् ।

काठमाडौं क्षेत्र नम्बर ५ को चुनावी अवस्थाबारे कुराकानी गर्ने क्रममा हामीले थापालाई केपी ओलीले गरेको कटाक्षका विषयमा यसरी सोध्यौं–

केपी ओलीले त मेस्सीले खेलिरहेको ठाउँमा केटाकेटीहरु भकुण्डो खेल्न आए भनेर विवेकशील साझा पार्टीलाई दह्रो कटाक्ष गर्नुभयो नि ?

मैले पनि सुनेँ । मचाहिँ उहाँलाई मेस्सी होइन, पेले भन्न चाहन्छु । पेले अहिले ७७ वर्षको हुनुभयो, आफ्नो समयमा उहाँले तहल्का मच्चाउनुभयो । तर, अहिले खेल्न सक्नुहुन्न । उहाँले अहिलेका खेलाडीहरुलाई प्रोत्साहन र मार्गदर्शन गर्न सक्नुहुन्छ ।

ओलीजी पनि सायद ७० नाघिसक्नुभयो । उहाँले अब पेलेले जस्तै बिश्राम लिनुपर्ने बेला भइसकेको छ । अबका मेस्सी त हामी हौं ।

चुनाव नजिकिँदै गर्दा विवेकशील पार्टीको चर्चा निकै बढेको छ, कत्तिको उत्साहित हुनुहुन्छ ?

पक्कै पनि उत्साहित छु । जनता आजित भएका छन् पुराना दलहरुसँग । लोकतन्त्र आएको २७ वर्ष भयो । जनताले केही पाएनन् । यहीबेलामा हाम्रो उपस्थितिले राजनीतिमा ताजा हावाको सञ्चार भएको छ ।

तपाईंको चुनावी अभियान कहाँ पुग्यो ? मतदाताहरु के भन्छन् ?

घरदैलोमा २५० किलोमिटर हिँडेँ होला । यस क्रममा विभिन्न उमेर समूहका हजारौं संख्यामा मतदाता भेटिसकेँ । उहाँहरुको प्रतिक्रियाबाट अत्यन्त उत्साहित छु ।

धेरै मतदाताहरुको पुराना राजनीतिक दलहरुप्रति वितृष्णा र आक्रोश पाइन्छ । उहाँहरुको रीस मैले थामिरहेको छु । उहाँहरुभित्र पीडा छ, बेदना छ । उहाँहरुका कतिपय कुरा म फेसबुकमा पोष्ट गर्छु ।

विवेकशीललाई भोट दिने भनेर टोलमा, परिवारमा डिस्कस गरिसकेका छौंं भन्नुहुन्छ । हामीले धेरै कन्भिन्स गर्नैपर्दैन । तैपनि म डबल कन्फर्म गर्छु । मतदाताहरु नयाँलाई टेस्ट गर्ने मुडमा हुनुहुन्छ ।

तपाईं ०७० सालमा पनि काठमाडौं ५ बाटै चुनाव लड्नुभएको थियो होइन र ?

त्योबेलामा हामी अपरिचित थियौं । छरछिमेकीले नै चिन्थेनन् । पार्टीका बारेमा कसैलाई थाहा थिएन । कुकुर चुनाव चिन्ह लिएका थियौं । कयौंले मजाकको विषय पनि बनाए । तैपनि मेरो ११ सय ६३ भोट आएको थियो ।

यसपालि माहोल अर्कै छ । हामीले विवेकशील पार्टीलाई चिनाइराख्नु पर्दैन । प्रायः मान्छेहरुलाई, चाहे युवा हुन् वा बुढा, यो पार्टीको बारेमा पहिल्यै थाहा हुन्छ । म कसरी थाहा पाउनुभयो भनेर सोध्छु । कोही मिडियाबाट भन्छन् । कोही साथीभाइबाट भन्छन् । बुढाबुढीहरुले चाहिँ विदेशबाट छोरा, छोरी, नाति, नातिनीले फोन गरेको थियो भन्छन् । वास्तवमा विदेशमा बसेका नेपालीहरुबाट हामीले ठूलो सपोर्ट पाएका छौं । उहाँहरुले विदेशमै बसेर हाम्रो प्रचार गरिरहनुभएको छ ।

तपाईं यहीँको स्थानीय भएकाले उम्मेदवार बन्नुभएको हो कि अरु कारण पनि छन् ?

यो क्षेत्रमा म जन्मेको मात्र नभएर पढेको, बढेको अनि धेरथोर योगदान पनि छ । मेरो राजनीति नै यही एरियाबाट सुरु भयो । भूकम्पका बेला यो क्षेत्रमा हामी निकै खटिएका छौं । बूढानीलकण्ठदेखि लिएर लाजिम्पाट, पानीपोखरीसम्म बेलाबेला बसेको भएर राम्रो स्थानीय सम्पर्क र सम्वन्ध स्थापित गरेको छु ।

अर्को कुरा, स्थानीय चुनावले यो क्षेत्रमा हाम्रो पार्टीको राम्रो पकड रहेको सिद्ध गरेको छ । त्यसैले सबैको आग्रह र आफ्नै इच्छासमेत भएकाले यो क्षेत्र रोजेँ ।

दुई ठूला पार्टीका हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैहुनुहुन्छ, जित्ने आशा गर्नुभएको छ ?

उहाँहरु पार्टीबाट ब्राण्डेड हेभीवेट मात्र हो । जनताबाट ब्रान्डेड हेभीवेट होइन । ईश्वरजी दुईचोटि हारिसक्नुभयो । पहिले जित्नुभएको थियो, पछि लगातार हार्नुभयो । उहाँ त्यति लोकप्रिय नेता होइन । पानी ट्यांकीको प्रकरण अझै ताजै छ । प्रतिगमन आधा सच्चियो भनेर राजाको सरकारमा मन्त्री खान गएको पनि जनताले बिर्सिएका छैनन् ।

अर्कोतर्फ, प्रकाशशरणजी त यो ठाउँका लागि नयाँ हो । यो क्षेत्रमा उहाँको कुनै योगदान छैन । नरहरीजीले खासै विकासको काम नगर्दा पनि उहाँलाई दोस्रोपटक जनताले चुज गरे । किनकि उहाँको छवि राम्रो थियो । तर, प्रकाशशरणजीको त्यस्तो छवि छैन । उहाँ उर्जामन्त्री भएका बेलामा १६ घन्टासम्म लोडसेडिङ हुन्थ्यो भन्ने जनताले भुलेका छैनन् ।

स्थानीय चुनावको नतिजा हेर्दा त यो क्षेत्रमा एमाले नै बलियो देखियो नि हैन र ?

एमालेले स्थानीय चुनावमा यो क्षेत्रबाट ७४ सय भोट ल्याएको हो । हामी विवेकशील र साझा पार्टीको कुल भोट ६६ सय थियो । हामी धेरै पछाडि होइनौं । त्यसमाथि विद्यासुन्दरजीका कारणले एमालेका धेरै मतदाता भड्किएका छन् । त्यो असन्तुष्ट मत आउने हामीलाई नै हो ।

भनेपछि, यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भयो ?

त्रिपक्षीय भन्दा पनि द्वीपक्षीय प्रतिस्पर्धाको सम्भावना देख्छु । ईश्वरजी पहिलेदेखि नै यो क्षेत्रमा भएकाले राम्रो संगठन बनाउनुभएको होला । तर, प्रकाशशरणजीको त्यस्तो छैन । अन्तिम समयमा आएको उहाँको उम्मेदवारी यहाँका कांग्रेसजनमै सर्वस्वीकार्य हुन सकेको छैन । प्रतिस्पर्धामा उहाँलाई पछाडि नै देख्छु ।

मतदातालाई के भनेर भोट माग्दै हुनुहन्छ ?

नेपाली कांग्रेस, एमाले, माओवादीलाई पटकपटक टेस्ट गर्नुभयो । हामी नयाँ उर्जा र असल नियत बोकेर आएका छौं । हामी डेलिभर गर्न आएका हौं । ठूल्ठूला प्रोमिस गर्दैनौं । तर, बोलेका कुरा पूरा गर्छौं । एकपटक हामीलाई दिनुहोस् भन्न चाहन्छु ।

प्रसंग बदलौं । तपाईंका समकक्षी रवीन्द्र मिश्र मिडियामा अत्यधिक चर्चामा हुनुहुन्छ । तर, तपाईंको त खासै चर्चा सुनिँदैन नि ? उहाँको छायाँमा परेजस्तो लागेको छैन ?

उहाँको एड्भान्टेज त्यही हो । उहाँ मिडिया ब्याकग्राउन्डबाट आउनुभएको, उहाँको दक्षता त्यसमा छ । त्यहीअनुसार मिडियाले फलो गरेका छन् । कभरेज दिएका छन् ।

मेरो आफ्नै तरिका छ । म थोरै बोलेर धेरै काम गरिरहेको हुन्छु । मेरो खुबी भनेको आधाघन्टा बोलेर कसैलाई कन्भिन्स गर्ने भन्दा पनि काम गरेर उसलाई प्रभावित पार्ने हो ।

मलाई मिडियामा आफ्नो थोरै पब्लिसिटी भयो भनेर चिन्ता छैन । मैले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दा ३–४ लाखले हेर्छन् । मिडियामा नआए पनि सोसल मिडियाबाट जनतामा पुगेकै छु ।

फेरि, अहिले मान्छेहरुले कसले के बोल्यो भन्दा पनि के गर्‍याे भन्नेतिर बढी ध्यान दिन्छन् जस्तो लाग्छ ।

दुई शीर्षनेता नै दुई शैलीको भएपछि कसरी ट्यूनिङ मिल्छ त ?

दुईजनाको फरक शैलीले त झन् ब्यालेन्स मिलाएको छ । हामी एक अर्काका परिपूरक झैं भएका छौं । एक रथका दुई पांग्राजस्तै । मेरोमा ‘क्वाइट लिडरसिप’ बढी देखिन्छ, रवीन्द्रजी तर्कशील हुनुहुन्छ । दुवैबीच राम्रो ट्यूनिङ छ ।

पार्टी एकतापछि मुख्य पदलाई नै दुई चिरा बनाउनुभयो, के दुईमध्ये एकजनालाई संयोजक मान्न सकिँदैनथ्यो ?

त्यसमा व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ । दुई पार्टीलाई एक ठाउँमा ल्याउने कुरा हामी दुईजनाले साइन गर्दैमा हुँदैन । महाधिवेशनबाट मात्रै हाम्रो एकता प्रक्रिया औपचारिकरुपमा पूरा हुन्छ । त्यसपछि एक मात्र अध्यक्ष हुनेछन् ।

अहिले हामी दुवैजना संयोजक भनिए पनि विशेषाधिकार हामीले केही पनि लिएका छैनौं । यो सेरेमोनियल पद हो । पार्टी सामुहिक नेतृत्वमा चल्छ । संयोजन समितिका ८ जनाजति शक्तिशाली छन्, हामी पनि त्यही हो ।

पहिले दुवैलाई सहसंयोजक भनिएको थियो, अहिले कसरी संयोजकमा बढुवा हुनुभयो ?

सहसंयोजक भन्दा अलिकति भ्रम पैदा भयो । हामीभन्दा माथि कसैलाई संयोजक बनाउन ठाउँ खाली गरिएको भन्ने कुराहरु आए । कतिपयले बाबुराम भट्टराईका लागि सो ठाउँ छोडिएको भनेर पनि भ्रम छरे । त्यसैले सहसंयोजकलाई संयोजक बनाएका हौं ।

बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकताको सम्भावना चाहिँ के छ ?

अहिले हामी चुनावमै केन्द्रित छौं । त्यतातिर ध्यान नै छैन । निर्वाचन सकेपछि अधिवेशनको माहोलमा जान्छौं । वडा, जिल्ला हुँदै राष्ट्रिय महाधिवेशन गर्छौं ।

महाधिवेशनमा पनि तपाईं र रविन्द्र मिश्र दुईजनाबीच नै अध्यक्षको भिडन्त हुने त होला नि ?

त्यो अहिले भन्न सकिँदैन । हामी अहिले त चुनावमा पूर्णरुपमा फोकस छौं । म सांसद भएँ भने अध्यक्षको भूमिका निर्वाह गर्नसक्छु कि सक्दिनँ सोच्नुपर्छ । अध्यक्षमा हामी दुई नै उठ्नुपर्छ भन्ने छैन । रञ्जु दर्शना पनि उठ्न सक्नुहुन्छ । किशोर थापा पनि उठ्न सक्नुहुन्छ । पुरानो राजनीतिक पार्टीले जस्तो पदकै लागि लडाइँ गर्ने होइनौं हामी । फेरि, जो अध्यक्ष भए पनि उ सर्वशक्तिमान हुँदैन । सामुहिक नेतृत्वमा चल्ने हो ।

भनिन्छ कि तपाईंहरुसँग कुनै स्पष्ट राजनीतिक दर्शन नै छैन, न हाँसको, न कुखुराको चालमा हुनुहुन्छ…

राजनीतिक पार्टी भन्नेवित्तिकै यहाँ कि राइट कि लेफ्ट हुनुपर्ने बुझाइ छ । हामी न राइट हौं, न लेफ्ट । अहिले विश्वराजनीति हेर्नुभयो भने राइट र लेफ्टभन्दा पनि सेन्टरमै फोकस देखिन्छ । लेफ्ट खुट्टाले मात्रै हिँडन खोज्दा पनि लडिन्छ र राइट खुट्टाले मात्रै हिँड्न खोज्दा पनि लडिन्छ । त्यसैले हामी राइट–लेफ्ट गर्दै उकालो यात्रा गर्न चाहन्छौं ।

तर, रविन्द्र मिश्रले त हामी सेन्टर लेफ्ट हौं भन्नुभएको थियो नि ? अलिकति लेफ्टतिर झुकाव होइन ?

म त्यो मान्दिनँ । उहाँले टेक्निकल कुरा गर्नुभएको हो । अमेरिकामा डेमोक्रेट पार्टीलाई के भन्ने ? कसैले सेन्ट्रल लेफ्ट नै भन्छन् । फ्रान्समा म्याक्रोनलाई के भन्ने ? नेपालमा लेफ्ट भन्नेवित्तिकै एक्स्ट्रिम कम्युनिष्ट र राइट भन्नासाथ एक्स्ट्रिम कन्जरभेटिभ भनेर बुझिन्छ । हामी दुवैको मिश्रण हौं । २१ औं शताब्दीको आवश्यकता यही हो ।

शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढी हुनुपर्छ । तर, व्यापार, उद्यमशीलता, लगानी निजी क्षेत्रलाई छोडिदिनुपर्छ । यो हाम्रो आधारभूत मान्यता हो । कुनै पनि देश उद्यमशीलताबिना अगाडि बढ्दैन । काम गरीखाने वातावरण नबनाई हुँदैहुँदैन । र, लोकतन्त्रलाई संस्थागत चेक एन्ड ब्यालेन्स सिस्टममा लैजानुपर्छ ।

केही दिनअघि तपाईं सफा टेम्पोबाट ओर्लंदै गरेको फोटो सामाजिक सञ्जालमा आएको थियो । धेरैले खाली टेम्पुमा फोटो खिचेर नाटक गरेको समेत भने । तर, तपाईंले कुनै स्पष्टीकरण दिनुभएन नि ? के गरेको त्यो ?

स्पष्टीकरण दिनुपर्ने आवश्यकता नै ठानिनँ । त्यो एउटा इनोसेन्ट फोटो थियो । खाली टेम्पोमा नै खिचेको फोटो थियो । मैले चुनावी क्याम्पेनमा प्रयोग गरेको सफा टेम्पोबाट ओर्लंदा खिचिएको हो । टेम्पोमा ‘जल्नेहरु जलिरहन्छ, उज्ज्वल चलिरहन्छ’ लेखिएको थियो ।

त्यो तस्वीरको चर्चा भएकोमा म खुशी नै छु । किनभने त्यसले एक किसिमको पब्लिसिटी ‘स्पार्क’ गर्‍याे । फलतः मेरा बारेमा जान्ने मानिसहरुमा उत्सुकता बढायो । यो मान्छे फेक हो कि के हो भनेर उनीहरुले मेरो ब्याकग्राउन्ड चेक गरे । मैले स्पष्टीकरण दिनुभन्दा मानिसहरु आफैंले यथार्थ पत्ता लगाएको राम्रोे हो नि ।

सामाजिक सञ्जालमा आक्रामक र खर्चिलो प्रचार गरिरहनुभएको देखिन्छ । त्यसका लागि कति बजेट छुट्याउनुभएको छ ?

हेर्दा मात्रै खर्चिलो हो । फेसबुकमा १ डलर खर्च गर्दा पनि न्यूजपेपरलाई विज्ञापन दिएको भन्दा बढी प्रभाव पर्छ । अहिले ‘वर्क हार्ड’ भन्दा पनि ‘वर्क स्मार्ट’को समय हो ।

रञ्जु दर्शना चुनाव लडेका बेला हामीले १ लाख डलर फेसबुकमा खर्चियौं भनेर हल्ला चलाइयो । तर, हाम्रो वास्तविक खर्च करिब ३ हजार डलर मात्रै थियो । यसपालि पनि त्यही हाराहारीमा खर्च होला ।

अरु पार्टीहरुले विभिन्न सञ्चार माध्यममा विज्ञापनका लागि गरिरहेको खर्च हेर्दा हाम्रो खर्च केही पनि होइन । हामी आचारसंहिताले दिएको सीमाभन्दा एकदमै तल बसेर चुनाव सक्छौं । २५ लाखभन्दा धेरै कम हुन्छ ।

कार्यकर्तालाई खुवाउनु पियाउनु पर्दैन ?

हामीसँग कार्यकर्ता नै छैनन् । हामी क्याडरलेस पार्टी हौं । स्वयम्सेवकहरु हुनुहुन्छ । उहाँहरु आफैं आउनुहुन्छ । अभियानमा गएका बेला जुस, चिया, दुनोट खाइएला । त्यत्ति हो । केही फुलटाइमर साथीहरुलाई बाहेक अरुलाई केही गर्नुपर्दैन ।

काठमाडौं बाहिरचाहिँ विवेकशीलको अवस्था के छ ?

काठमाडौं बाहिरको अवस्था पनि म त एकदम राम्रो देख्छु । साथीहरु औधि उत्साहित छन् । काठमाडौंबाट जानेहरुले र विदेशबाट फोन गरेर परिवारलाई पहिल्यै विवेकशीलको विषयमा बताएको र भोट हाल्न आग्रह गरेको पाएका छौं ।

विवेकशील साझा योपटक राष्ट्रिय पार्टी बन्ला ?

नेपाली राजनीतिको कुसंस्कार भनेको ‘ओभर प्रोमिस अन्डर डेलिभर’ हो । त्यसको विपरित हामीले ‘अन्डर प्रोमिस ओभर डेलिभर’ गर्न खोजेको हो । म आफैं यो मूल्यमान्यता बोकेको मान्छे हो । हामीले बोलेभन्दा बढी गरेर देखाउँछौं ।

चुनावमा कति सिट जित्ने लक्ष्य छ ?

हामीले ठ्याक्कै क्याल्कुलेट गरेका छैनौं । तर, आशावादी चाहिँ के छौं भने सहजै थ्रेसहोल्ड पार गर्नेछाैं र उल्लेख्य संख्यामा भित्र छिर्नेछौं । प्रतिनिधिसभा र प्रदेश सभामा दुबैमा हाम्रो उपस्थिति हुन्छ । अझै ६ दिन बाँकी छ । त्यतिञ्जेल बढीभन्दा बढी नेपालीहरुको मन जित्न प्रयास गर्ने हो ।

तपाईंहरुका एकाध उम्मेदवारलाई छोडेर अरु सबै अपरिचित छन् । के आधारमा उम्मेदवार छान्नुभो ?

हामीले निकै फिल्टर गरेर उम्मेदवार उठाएका छौं । सबै क्षेत्रमा उम्मेदवार उठाउन सक्थ्यौं । तर, १५७ जना मात्रै उठायौं । यति उम्मेदवार छान्न पनि हामीलाई धौधौ पर्‍याे । किनभने हामीले अरु पार्टीले जस्तो जोकोहीलाई टिपेर उम्मेदवार बनाउन मिल्थेन । नयाँ अनुहार वा युवा भनेर मात्र हुँदैन । उहाँहरुको इमान्दारी र निष्ठा चेक गरेका छौं । उहाँहरुको केही न केहीमा विज्ञता भएको हुनुहुन्छ । सबै विचार गरेर मात्रै समानुपातिक र प्रत्यक्ष उम्मेदवार उठाएका छौं ।

विवेकशीलबाट जितेर आउने सांसद पनि अरु पार्टीका भन्दा कुन अर्थमा फरक होलान् ? सबै उस्तै त होलान् नि ?

हामी वाचडगको भूमिका खेल्छौं । आम नेपालीसँग जनप्रतिनिधिको सम्वन्ध बलियो राखिराख्छौं । जनआकांक्षा अनुरुपका ऐनहरु पास गराउन हाम्रो भूमिका हुनेछ । कुनै पनि नराम्रो काम हुन लाग्दा खबरदारी गर्नेछौं र मिडियासँग मिलेर त्यसमा अवरोध पुर्‍याउनेछौं । अरु पार्टीका राम्रा मान्छेहरुलाई पनि साथ लिएर अगाडि बढ्नेछौं ।

समग्रमा भन्दा, आम नेपालीहरुले नाक ठड्याएर ‘यस्तो पो मेरो सांसद हुनुपर्छ’ भन्ने अवस्था सिर्जना हुन्छ । नेपालको संसदलाई अबको पाँच वर्षमा मर्यादामा राख्न हाम्रा सांसदले योगदान दिनेछन् । अरु पार्टीका राम्रा मान्छेहरु एक्लो हुँदैनन् ।

अनलाइन खबर बाट