को हेभी वेट ? मेरा सामु सबै ‘अन्डर वेट’ हुन् ।

प्रदेश २ का जुनसुकै ठाउँमा एउटै प्रश्न र चर्चा सुनिन्छ– ‘धनुषा ३ मा निधिले जित्लान् कि महतोले ?’ कांग्रेसका विमलेन्द्र निधिले यही आसपासबाट पछिल्ला दुवै चुनाव जितेका छन् । सर्लाहीमा २०७० मा हारेका महतो जिल्ला सरेर यसपालि यहाँ आएका छन् । निधिले मन्त्री हुँदा क्षेत्रमा ‘विकास’ दौडाएका छन् । महतोले मधेस आन्दोलनको नेतृत्व गरेर राजनीतिक प्रभाव छाडेका छन् ।

क्षेत्र ३ धनुषाको दक्षिणी भागको पिँधमा पर्छ । यसमा जनकपुर उपमहानगरपालिकाका २५ मध्ये १७ वडा, नगराइन नगरपालिका र विदेह नगरपालिकाको ९ नम्बर वडा पर्छन् । साथमा दुई गाउँपालिका मुखियापट्टी मुसरनिया र धनौजी छन् । जनकपुरको मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरमा जितेपछि महतो यता आउन हौसिएका हुन् । राजपा कार्यकर्ताले त्यही जनमतलाई आफ्नो विजयको मूल आधार भन्दै आएका छन् तर यस क्षेत्रमा परेका जनकपुर र विदेहका वडाका अध्यक्ष एवं अन्य गाउँपालिकाका प्रमुखको मत जोड्दा कांग्रेसको सबैभन्दा बढी १८ हजार ४ सय ६३ छ । दोस्रोमा राजपा र संघीय फोरम जोड्दा १७ हजार १ सय १६ र तेस्रोमा वाम गठबन्धनको यसकै हाराहारी १५ हजार १ सय ३५ मत देखिन्छ ।

यो अवस्था हेर्दा वाम गठबन्धन पनि खासै पछाडि छैन । दुई पक्षीय भनेर परिचित यस क्षेत्रमा त्रिपक्षीय भिडन्त नै देखिन्छ । माओवादी उम्मेदवार बिनाविभागीय राज्यमन्त्री रामसिंह यादव गुनासो गर्छन्, ‘निधि र महतोको मात्र प्रसंग उठाइन्छ । यहाँका मतदाताले नातावाद र वंशवादको विकल्प खोजेका छन् । त्यसको विकल्प म हुँ । वामशक्तिको जनधरातल पनि यस क्षेत्रमा बलियो छ ।’

धनुषा ३ मा निधिले जित्लान् कि महतोले ? यसबीचमा गरिएको कुराकानी :

 

‘मेरा अगाडि सबै अन्डर वेट’

 

विमलेन्द्र निधि

राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ ? 

केको प्रतिस्पर्धा ? मेरो कसैसँग प्रतिस्पर्धै छैन । मिडियाले ‘हेभी वेट’ भन्दै तुलना

गरेको पाउँछु । शब्द चयनमा तिनको त्रुटि छ । को हेभी वेट ? मेरा सामु सबै ‘अन्डर वेट’ हुन् ।

महतो तपाईंकै क्षेत्रमा किन आउनुभयो होला ?

त्यो उहाँलाई नै सोध्नुहोस् । सागरनाथ जंगलबाट हराउँदै, बिर्सिंदै, भुत्लिंदै आउनुभयो होला ।

उहाँ त तपाईं मधेसविरोधी भएकाले जसरी पनि हराउन आएको भन्नुहुन्छ नि ? 

उहाँ आफैं मधेसविरोधी हो । उहाँ नक्कली मधेसवादी हो । संघीय सीमांकनबिनाकै संविधान ल्याउन समर्थन गरिसक्नुभएको थियो । उहाँहरूले संघीयता माग्नुभएको थिएन । खालि एक मधेस एक प्रदेश भन्नुहुन्थ्यो । मधेसमा चाहिँ संघीयता चाहिँदैन र ? पछि संविधान जारी गर्ने बेला उहाँहरूले पाप गर्नुभयो । यही संविधानअन्तर्गत चुनाव लड्न अहिले लाज लागेन ?

‘ठीकै व्यक्तिसँग लड्दै छु’

 

राजेन्द्र महतो

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गरिरहनुभएको छ, कस्तो अनुभूति हुँदै छ ? 

धेरै राम्रो अनुभूति भइरहेको छ । मधेसविरोधी संविधान बनाउने, भूमिका निर्वाह गर्ने, मधेस आन्दोलनमा गोली चलाउने र मधेसको राजधानी जनकपुरलाई दुरवस्थामा राख्ने व्यक्तिविरुद्ध लड्ने मैले अवसर पाएको छु । ठीकै व्यक्तिसँग लडेको छु ।

तपाईं निधिसँगै भिड्न आउनुभएको हो कि संयोग मात्रै हो ?

दुइटा कारण हो । एउटा त जनकपुर मधेसको राजधानी, आत्मा, बल र केन्द्र हो । त्यसको दुरवस्था हटाउन यहाँबाट मधेसवादीले जित्नु जरुरी छ । दोस्रो कारण– २५ वर्षदेखि यहाँबाट जनताको भोट लिएर जिते पनि उहाँ (निधि) ले जनता र यस ठाउँका लागि केही गर्नुभएन । एक व्यक्ति मात्र अडिदिएको भए मधेसविरोधी संविधान बन्ने थिएन । उहाँमाथि मधेसको नजर थियो तर उहाँले धोका दिनुभयो । उहाँलाई सबक पनि सिकाउनु छ ।

तपाईंहरू दुईमध्ये जसले हारे पनि संसद्मा एउटाको अभाव खड्किँदैन ? 

मधेसविरोधी परास्त भएको खण्डमा हामी खुसियाली मनाउनेछौं ।

तपाईंले हार्नुभयो भने ?

त्यो कल्पनै नगरौं ।