गोरखा– पहिलो चरणमा निर्वाचन सम्पन्न भएको गोरखामा २ सय ८२ मतदान केन्द्रबाट ल्याएका मतपेटिकाहरु सिसी क्यामेराको निगरानीमा राखिएको छ।

बुधबार भएको सर्वदलीय र सर्वपक्षीय छलफलमा बिहीबार साँझ ५ बजेबाट मतगणना थालिने र गणना अवधिभर सिसी क्यामेराको निगरानी गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसको निगरानी हुनेछ।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जिल्ला अदालतमा र क्षेत्र नम्बर २ को मतगणना जिल्ला समन्वय समितिको भवनमा गरिने भएको छ। प्रत्येक घन्टामा गणनाको ताजा अवस्था माइकबाट गराइने र जिल्ला प्रशासन कार्यलयको सभाहलमा मिडिया सेन्टरको व्यवस्थापन गरिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।

दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा अधिकांशको ध्यान क्षेत्र नम्बर २ मा रहेको छ। सो क्षेत्रमा पूर्व प्रधानमन्त्री एवंनयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार रहेकाले सर्वत्र चासोका साथ हेरिएको छ।