चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहजिल्ला चितवनमा मतदान गर्दै स्थायित्व र समृद्धिको नयाँ यात्रा सुरु भएको बताएका छन्।

चितवन- ३ भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको आधारभूत विद्यालय शान्तिपुरमा मतदान गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले शान्ति प्रक्रिया हुँदै संविधान निर्माणपछि यसको कार्यान्वयनमा आइपुग्दा विकास र समृद्धिको नयाँ यात्रा सुरु भएको महसुस आफूले गरेको बताए।

अध्यक्ष दाहालले संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि संस्थागत गर्ने ऐतिहासिक निर्वाचन भएकाले यसलाई उत्सवमय बनाउनुपर्नेमा जोड दिए।

पहिलो पटक चितवनबाट उठेका क्षेत्र नम्बर ३ का उम्मेदवार दाहालले मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन्।

दुई पटक प्रधानमन्त्री भइसकेका दाहाल यसअघिका निर्वाचनमा रोल्पा, काठमाडौं क्षेत्र नम्बर १० र सिरहा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए।