काठमाडौ । काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको थियो । जिल्लामा ५८ जना उम्मेदवार चुनावनी प्रतिस्पर्धामा थिए । जसमध्ये १३ जना उम्मेदवारले सय मत पनि प्राप्त गर्न सकेनन् ।
चार उम्मेदवारले वाम गठवन्धनलाई सहयोग गर्ने घोषणा गरे पनि उनिहरुको चुनाव चिन्हमा मतदान भएको छ । स्वतन्त्र उठेका नोर्बु लामाको १३ मत भए ।
उनले गठवन्धनमा गंगाबहादुर दोङ्गलाई सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै कांग्रेस विपी तर्फका उम्मेदवार मोहनबहादुर रायमाझीले ४४, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार शाहले ३४, लिबरल डेमोक्रेटिक पार्टीका शान्ता तामाङले १३ र नेपाः राष्ट्रिय पार्टीका सुन्तलाकाजी श्रेष्ठले ३३ मत प्राप्त गरे । नयाँ शक्ति पार्टीका तिलकबहादुर लामाले गठवन्धनका दोङ्गलाई सहयोग गरे पनि १ सय ८ मत खसेको थियो ।

यी हुन् सय मत कटाउन नसक्ने उम्मेदवार
निर्वाचनमा सय मत पनि नकटाउन धेरै जना उम्मेदवार पाइएको छ । जसमध्ये नेपाल मजदुर किसान पार्टीका दिलबहादुर विकले ३३, नेमकिपाकै चण्डिका छुँकाले ९०, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका शोभा विश्वकर्माले ३, नयाँ शक्ति पार्टीका रामकुमार खड्काले ५३, स्वतन्त्र उम्मेदवार मिलनकुमार गौतमले १६, स्वतन्त्र सुरेशप्रसाद धितालले ४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सुर्दशन हुमागाईँले ६१ मत प्राप्त गरे भने संघीय समाजवादी फोरमका राजेन्द्र खड्गीले ८५ मत प्राप्त गरे ।

४६ जनाको जमानत जफत

काभ्रेमा ५८ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए । जसमध्ये विजेतासहित १२ जना उम्मेदवारहरुको जमानत जोगिएको छ भने बाँकी ४६ जनाको जमानत जफत भएको छ । कुल खसेको सदर मत मध्ये १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै परिणामसँग जोडिएका विभिन्न तथ्यहरू पनि बाहिर आउन थालेका छन् । निर्वाचनमा जित्नकै लागि भनेर उम्मेदवारी दिनेहरूमध्ये एकजना खुसी हुने र धेरैजना दुःखी हुने अवस्था पनि आउने गरेको छ । अझ जसको जमानत नै जफत भएको हुन्छ, उसको दुःखको कुरा गरिसाध्य नै हुँदैन ।