अग्नि सापकोटा, पेन्सन हुन लागेको शिक्षण पेसा छाडेर जनयुद्धमा होमिएका पात्र । युद्धबाट शान्ति प्रक्रियासम्म अवतरण गरेसँगै उनी कुनै न कुनै कोणबाट मूल राजनीतिको केन्द्रमै छन् । १० वर्षको अवधिमा दुईपटक मन्त्री भइसकेको अनुभव उनीसँग छ । राजनीतिक जीवनमा चार निर्वाचन लडेका उनी गणतन्त्रपछिका निर्वाचन लगातार जितेर ‘ह्याट्रिक’ गर्ने कम नेतामध्ये पर्छन् । हामीले सापकोटालाई चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव सुनाउन भने । उनले सुनाए :

०४८ : भण्डाफोर गर्ने अभियान

०३६ देखि तत्कालीन नेकपा (चौम)बाट आधिकारिक रूपमा राजनीतिक पार्टीमा आबद्ध भएँ । त्यतिवेला सिन्धुपाल्चोक साँगाचोकस्थित जनजागृति माविमा पढाउँथेँ । शिक्षण पेसामा सक्रिय रहँदा शिक्षक संगठनको उपाध्यक्ष र महासचिवसम्मको जिम्मेवारीमा पुगेँ । ०४८ मा निरन्तरको पेसा छाडेर पूर्णकालीन राजनीतिमा होमिएँ । एक वर्ष जागिर नछाडेको भए पेन्सन आउँथ्यो ।

०४८ को निर्वाचनमा उम्मेदवारी दिएँ, तर पराजित भएँ । हाम्रो पार्टीले नौ सिट जितेको थियो । मेरा लागि त्यो निर्वाचन पहिलो र नौलो थियो । त्यसो त निर्वाचन जितेर सरकारमा दाबी गर्ने उद्देश्य पार्टीको थिएन । आमजनतालाई हाम्रो पार्टीले सरकार नै बनाउन सक्छ भन्ने विश्वास पनि थिएन, सायद ।

म तत्कालीन संयुक्त जनमोर्चा, नेपाल (पार्टीको बाह्य मोर्चा)को केन्द्रीय सदस्य थिएँ । ०५१ मा केन्द्रीय स्तरमा आइपुगेँ । लगत्तै पार्टीले जनयुद्धको तयारी थाल्यो । सुरुवातमा सुदूरपूर्वको कमान्ड सम्हाल्ने जिम्मेवारी पाएँ ।

१७ माघ ०५२ मा सिन्धुपाल्चोकमा केही प्रहरी स्थानीय एक शिक्षकलाई पक्राउ गर्न गएका थिए । गाउँमा भएको एउटा झगडालाई लिएर ती शिक्षकलाई पक्राउ गर्न खोजिएको थियो । गाउँलेहरू उत्तेजित भएर प्रहरीलाई लखेटे । भाग्ने क्रममा एक प्रहरी खोलामा हामफाले र बेपत्ता भए । यो घटना भएकै दिनबाट सिन्धुपाल्चोकमा जनयुद्ध सुरु भएको मानिन्छ । १८ माघबाट मलाई देशव्यापी खोज्न थालियो, त्यही दिनबाट म भूमिगत भएँ ।

०५८ साउनमा सरकारी पक्षसँग वार्ता हुने भनेपछि सार्वजनिक भएँ । तर, उक्त वार्ता भंग भयो । म फेरि भूमिगत अवस्थामै फर्किएँ । जनयुद्ध सुरु भएयता शान्ति प्रक्रिया सुरु भएपछि मात्रै सार्वजनिक जीवनमा फर्किन पाएको हुँ ।

०६४ : २० हजार मतान्तर
पार्टीले जनयुद्धका क्रममा जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गर्नुपर्छ भन्ने कार्यनीतिक नारा अघि सारेको थियो । अन्ततः अन्तरिम संविधान निर्माण गर्दै हामी संविधानसभाको नारा स्थापित गर्न सफल भयौँ ।

०६४ को संविधानसभा निर्वाचन मेरो जीवनकै अविस्मरणीय रह्यो । त्यो समय माओवादीप्रति जनताको अभूतपूर्व लहर थियो, जुन निर्वाचन परिणामले नै देखाइदियो । सज्जन, इमानदार, देशभक्त, क्रान्तिकारीप्रति जनताको ठूलो अपेक्षा र विश्वास थियो भन्ने पुष्टि गर्‍यो । कतिपय बदमास, अपराधी, गुनडा, बलात्कारीलाई त्रास पनि थियो । तर, सधैँ सत्य र निष्ठाको जित हुन्छ भनेझैँ माओवादीले अपार जनमत पायो ।

त्यतिखेर निर्वाचन लड्नका लागि मैले टिकट पाउन कुनै समस्या नै खेप्नुपरेन । किनभने, पार्टीमा जनयुद्धभन्दा अघिदेखि निरन्तर योगदान गरेका कारण सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन पार्टीभित्र मलाई कुनै समस्या थिएन । मैले सर्वसम्मतिमा टिकट लिएँ । र, निर्वाचन परिणाम आइसक्दा प्रतिद्वन्द्वी एमालेका उम्मेदवारभन्दा अत्यधिक मतले विजयी भएँ । प्रतिद्वन्द्वी सुभाष कर्माचार्यजीको १० हजार मत पर्दा मेरो पक्षमा ३० हजार एक सय ५५ मत आयो । जनताले अत्यधिक बहुमतले जिताए ।

०६४ को निर्वाचनमा होमिँदा सचेत हुने त छँदै थियो, तर जनतामा ठूलो लहर भएकोले जित्ने कुरामा ठूलो चिन्ता पनि थिएन । हाम्रो पहलकदमी सहायक र जनताको पहलकदमी प्रमुख भएकै कारण मैले प्रतिद्वन्द्वीलाई २० हजार मतान्तरले जितेँ ।

संविधानसभाको निर्वाचन भएका कारण मैले जनताको अधिकार स्थापित हुने गरी संविधान निर्माण गर्छौं भन्ने मुख्य एजेन्डा लिएको थिएँ । जनतामाझ प्रतिबद्धता जनाउँदा संविधान निर्माणमा जोड दिए पनि ध्यानचाहिँ विकास निर्माणमै केन्द्रित थियो । बाटो, पुल–पुलेसा, शिक्षा, स्वास्थ, रोजगारीमा सुधारमा ध्यान दिइएको थियो । यी विषय पार्टीको प्रतिबद्धता–पत्रमा पनि समेटिएका थिए ।

हाम्रो प्रतिबद्धताअनुसार अपेक्षा राखेर जनताले सबैभन्दा धेरै मत दिएपछि माओवादीको नेतृत्वमा सरकार गठन भयो । पार्टीका अन्य साथीहरू मन्त्रिपरिषद्मा समेटिनुभयो । त्यतिखेर कांग्रेसले सरकार गठनमै चार महिना ढिला गराइदिएको थियो । सरकार बनिसकेपछि पनि तत्कालीन प्रधानसेनापति कटुवाल कान्डका कारण छिटो बाहिरिनुपर्‍यो । यसमा माओवादी अलि व्यावहारिक भएन कि भन्ने लाग्छ । किनभने, कटुवाल त्यसको तीन महिनापछि पदबाट स्वतः अवकास लिँदै थिए । उनलाई हटाउन हामीले हतार गर्‍यौं ।

त्यसपछि एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार गठन भयो । त्यो मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्रीका रूपमा पहिलोपटक सरकारमा सहभागी भएँ । मैले शिक्षकबाट सांसद हुँदै मन्त्रीसम्म तीन फरक सार्वजनिक जिम्मेवारी निर्वाह गरेँ ।

पहिलो संविधानसभा अवधिमा विकासका क्षेत्रमा ठूलो काम गर्न सकिएन, तर संविधान निर्माणमा उदाहरणीय भूमिका खेल्यौँ । संविधान निर्माणका लागि सडक र सदनबाट दबाब दियौँ । प्रतिफलस्वरूप अहिले संविधानमा मजदुर, किसान, आदिवासी, महिला, मधेसी सबैका माग स्थापित गर्न सकिएको छ ।

०७० : परिणाम आउँदै गर्दा डर
पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि मंसिर ०७० मा दोस्रो संविधानसभाका लागि निर्वाचन भयो । मैले सिन्धुपाल्चोक–२ बाटै उम्मेदवारी दिएँ । प्रतिस्पर्धी पनि पुरानै । सुभाष कर्माचार्यजीसँगै प्रतिस्पर्धा हुने भयो ।

पहिलोपटक अत्यधिक बहुमतले जितेकाले ०७० को निर्वाचन पनि जितिन्छ भन्नेमा ढुक्क थिएँ । तर, जितको अन्तरचाहिँ कम हुने आकलन थियो । ०६४ बाट ०७० सम्म आइपुग्दा हाम्रो संगठनात्मक स्थिति खस्केको थियो । संविधान नबनेका कारण पार्टीप्रति जनताको विश्वासमा शंका उब्जेको थियो ।

त्यतिवेला जनतासँग भोट माग्ने, प्रतिद्वन्द्वीबाट सचेत हुने र गाउँ–गाउँमा पुगेर खट्नुपर्ने छँदै थियो । अघिल्लो निर्वाचनमा जस्तो जनताको उभार र लहर थिएन । मैले भने ०४८ र ०६४ का निर्वाचन अनुभवलाई सदुपयोग गरेँ । मेरो क्षेत्रका मतदाताले मलाई विश्वास गर्नुभयो ।

मतगणना सुरु भएर प्रारम्भिक नतिजा आउँदै गर्दा देशभरबाट पार्टीलाई निराशाजनक मत आयो । उत्तराद्र्धतिर पुग्दा पनि अधिकांश स्थानमा माओवादी उम्मेदवार पछाडि परेका थिए । जति गणना बढ्दै गयो, उति डर लाग्दै गयो । पार्टीले त मतगणना बहिस्कार नै गर्ने निर्णय गर्‍यो । पार्टीमा मेरो जिम्मेवारी प्रवक्ताको थियो । पार्टीकै निर्णयअनुसार म पनि गणना छाडेर काठमाडौं आएँ ।

उसै त प्रतिस्पर्धा कडा थियो, अझ गोलाकारभित्रको हँसिया हथौडामा हाल्नुपर्ने भोट झुक्किएर हँसिया तारामा गएको धेरै देखियो । एकातिर गणनामा कोही नहुनु र धेरै भोट हँसिया तारामा पुग्नुले अन्तिम नतिजामा केही असर गर्ने हो कि भन्ने चिन्ताले गणना अवधिभर सतायो । तर, अन्ततः एक हजारजति भोटले जितेँ । ०७० को निर्वाचनमा बागमती अञ्चलभर हाम्रो पार्टीबाट विजयी हुने म मात्रै थिएँ ।

नयाँ संविधान बनेपछि कांग्रेस–एमालेको समीकरण भत्कियो । माओवादी र एमालेको समीकरण बन्यो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा वन तथा भू–संरक्षण मन्त्रीका रूपमा काम गर्ने मौका पाएँ । त्यो वेला परिस्थिति अन्त्यन्तै जटिल थियो । मुलुकले नाकाबन्दीको सामना गरिरहेको थियो । खासगरी काठमाडौं उपत्यकावासीले ग्यासको अभावमा खाना पकाउन सास्ती खेपिरहेका थिए ।

यस्तो अवस्थामा वन मन्त्रालयले जनतालाई के सहयोग गर्न सक्छ भन्ने खोजी गर्दै जाँदा हामीसँग भएको काठ, दाउरा जनतालाई बाँड्नुपर्छ भन्ने निर्णय भयो । हामीले डिपो खडा गरेर दाउरा दियौँ । नागरिकलाई केही राहत मिल्यो, यद्यपि पर्याप्त थिएन होला । मैले भूकम्पपीडितलाई ९० प्रतिशत छुटमा घर बनाउन काठ दिन्छु भनेको थिएँ । त्यो घोषणा पूर्वतयारीविना नै गरेको थिएँ । यद्यपि, कार्यान्वयन गर्नैपर्छ भनेर नियम, कानुनको अध्ययन थालेँ । प्राकृतिक प्रकोपबाट पीडित जनतालाई ९० प्रतिशत रोयल्टी छुटमा काठ दिने भन्ने निर्णय पुरानो मन्त्रिपरिषद्ले गरेको फेला पारेँ । त्यही निर्णयमा टेकेर विभिन्न स्थानमा काठ उपलब्ध गराउने डिपो स्थापना गरेँ । सुरुमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा डिपो खोलेँ । पहिलो चरणमा भूकम्पले अतिप्रभावित १४ जिल्लामा सहुलियतको काठ बाँड्ने डिपो खोलिएको थियो । त्यसअघि पनि भूकम्पपीडितलाई राहत वितरणमा जनअपेक्षाअनुसार खटेर काम गरेँ ।

०७४ : १० वर्षपछि फेरि भारी मतान्तर
एमाले–माओवादी गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय भयो । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्ने सवालमा माओवादीका तर्फबाट मसहित राजकुमार श्रेष्ठ र सरल सहयात्री तीनजनाको नाम पार्टी हेडक्वार्टरमा आएको थियो । यद्यपि, साथीहरूले ‘अग्नि सर उठ्ने भए हामी छाडिहाल्छौँ, हामी उहाँको प्रतिस्पर्धी हुन चाहन्नौँ भन्नुभयो ।

मैले नै साथीहरूको इच्छा पनि देखिएकाले पार्टी हेडक्वार्टरसम्म कुरा त लगौँ न भनेर जिल्लाबाट तीनजनाको नाम पठाउन आग्रह गरेको थिएँ । पार्टी हेडक्वार्टरले अन्तिममा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मेरो नाम अनुमोदन गर्‍यो र म गठबन्धनको साझा उम्मेदवार भएँ।

यसपटक मेरो क्षेत्र फेरिएको थियो । साविक तीनवटा क्षेत्रबाट सिन्धुपाल्चोकमा दुईवटा मात्र क्षेत्र तय भएका थिए । मेरो क्षेत्र फुटेर २ तिर भएको थियो । मेरो मतदाता नामावली भएको वडा क्षेत्र नम्बर १ मा परेको थियो ।

वाम गठबन्धन बनेपछि केही समय उक्त क्षेत्र हाम्रो पार्टीले लिने कि एमालेले लिने भन्ने छलफल पनि भयो । अन्ततः हाम्रो पार्टीको भागमा पर्‍यो । मैले लड्ने तय भयो । तर, मेरो पुरानो क्षेत्रको सानो हिस्सामात्र नयाँ क्षेत्रमा थियो । क्षेत्र निकै ठूलो भएको थियो । मैले असाधारण मिहिनेत गर्नुपर्ने भएको थियो । त्यहाँ कांग्रेसबाट सञ्चारमन्त्री मोहन बस्नेतले उम्मेदवारी दिने निर्णय मेरोभन्दा अघि नै भइसकेको थियो । त्यसैले, बहालवाला मन्त्रीसँग प्रतिस्पर्धा गर्न म टिकट निश्चित हुनुअघिबाट नै मानसिक रूपमा तयार भएर बसेको थिएँ ।

सिन्धुपाल्चोक–१ मा पूर्व र वर्तमान सञ्चारमन्त्रीको भीडन्त भनेर समाचार बाहिरिए । तर, जनतामा लोकप्रियता र पार्टीको पोजिसनका हिसाबले मेरो स्थिति अगाडि नै छ भन्नेमा विश्वस्त थिएँ ।

बहालवाला मन्त्री भएकाले मोहनजीलाई स्रोत, साधन परिचालन गर्न मलाईभन्दा धेरै अनुकूल भयो । सुरु–सुरुमा कांग्रेसले पैसाको खेलो नै बगाएको हो । सञ्चार मन्त्रालयको जिम्मेवारी भएकाले प्रचार पनि आक्रामक भयो । कांग्रेसजनहरू उत्साहित भए । हामी रक्षात्मक चुनावी प्रचारमा थियौँ । यसले हाम्रो समर्थक र शुभचिन्तक चिन्तित भए । हामीले २३ कात्तिकमा जिल्लास्तरीय बैठक डाकेर एउटा गुणात्मक कार्यक्रम गरी जनतामा उत्साह थप्नुपर्छ भन्ने निर्णय गर्‍यौँ ।

२७ कात्तिकमा बाह्रबिसेमा बृहत् युवा भेला गर्‍यौँ । त्यसपछि हामी रक्षात्मक अवस्थाबाट अग्रपंक्तिमा होमिन थाल्यौँ । अन्ततः जनताले ठूलो मतान्तरले मलाई जिताउनुभयो । झन्डै ११ हजार मतान्तरले मैले जितेँ । सिन्धुपाल्चोकका जनतामाझ मेरो निरन्तरको लगन, अडान र इमानदारीको पुरस्कार हो, यो । विकास र समृद्धिको अभियान म मार्फत अगाडि बढोस् भन्ने उहाँहरूको चाहनाको प्रतिविम्ब चुनावी नतिजा हो भन्ने मेरो बुझाइ छ । -नयाँपत्रिकाबाट