काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ र ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सम्पन्न मतगणनाअनुसार प्रदेश ४ बाट कूल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसका बिन्दादेवी आले ९राना० तथा नेकपा ९एमाले०का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित हुनुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

त्यस्तै, दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन् । अन्य समूहका विजेता तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा छन् ।

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । आजको मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।

प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी र्भएका छन् ।

चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मीकिको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भएका छन् । उनको मतभार पाँच हजार ३४० रहेको छ भने उनका प्रतिद्वन्द्वी काँग्रेसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ ।

त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।

तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुई जना अनुपस्थित रहे । रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएका बीना पन्त र बाँकेबाट सङ्घीय समाजवादी फोरमबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहे ।

प्रदेश नं ५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६ तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए ।

राष्ट्रियसभा सदस्यमा विजयीलाई बिहीबार बिहान निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ ।