प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध

प्रकाशित मिति : : शनिबार, माघ २७, २०७४

हेटौंडा । प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । तर, श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।

एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएनन । तर, संस्थापन समूहले डोमरणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै सानुलाई सभामुख बनाएको हो ।

श्रेष्ठको सभामुखको उम्मेदवारीमा प्रस्तावक शालिकराम जमरकट्टेल र समर्थक रामेश्वर फुयाँल रहेका थिए ।

प्रदेश ३ मा आइतबार उपसभामुख चयन हुनेभएको छ । उपसभामुखमा माओवादीकी राधिका तामाङ निश्चित भएकी छिन् ।