ट्राफिकको पीडा : ‘धुलोले पुर्छ, उम्किन पाइँदैन’, ‘पिसाब फेर्न र पानी खान पनि पाइँदैन’

प्रकाशित मिति : : आइतवार, माघ २८, २०७४

चाबहिलको धुलाम्मे सडकमा जाम व्यवस्थापन गर्दै ट्राफिक प्रहरी जवान बैजुकुमार साह । तस्विर : अन्नपूर्ण

काठमाडौं  : चाबहिलको धुलाम्मे सडकमा हातमा मास्क झुन्ड्याएर सिठी फुक्दै थिए ट्राफिक प्रहरी जवान बैजुकुमार साह । उनी उभिएको ठाउँमा धुलोको चाङ छ, प्रदूषणको स्तर कति होला अनुमान गर्नै मुस्किल छ ।

दुवै आँखीभौँ र परेलासमेत खैरो भएको छ । तैपनि हस्याङफस्याङ गर्दै सिठी बजाइरहेका छन् । बिहान ७ बजेदेखि सडकमा खटिन्छन् । सवारीचालक ‘उफ् धुलो’ भन्दै हतारिएर गुड्न खोज्छन् तर उनी एकैछिन उम्किन पाउँदैनन् ।

सवारी चाप र ध्वनि प्रदूषण त कति खेप्नुपर्छ कति ! शरीरमा धुलोले छोपिन बाँकी ठाउँ छैन । सेतो टोपी, टाइसहितको पोसाकमा सजिएका उनको सक्कल स्वरूप धुलोले छोपिदिएको छ ।

चार वर्षयता उपत्यकामा सडक निर्माण, मर्मत र सवारीसाधनको प्रदूषणका कारण हजारौं ट्राफिक प्रहरीको स्वास्थ्यस्थिति दर्दनाक बनेको छ । साह त उदाहरण मात्रै हुन् ।

सडकको जाम नियन्त्रण र सवारी व्यवस्थापनको जिम्मा लिएका ट्राफिक प्रहरी प्रदूषणको पहिलो सिकार बनेका छन् । प्रदूषणको दर राष्ट्रिय मापदण्डभन्दा पाँच गुणा बढी पुगेको छ । कत्ति पनि हलचल नगरी १४ घण्टासम्म सडकमा बस्नुपर्ने बाध्यता बोकेका प्रहरी हिजोआज श्वासप्रश्वास, फोक्सो, क्यान्सरजस्ता रोगको सिकार बन्न थालेका छन् ।

२८ वर्षदेखि ट्राफिकमै कार्यरत सइ राजकुमार भट्टराईले केही वर्षदेखि ट्राफिक प्रहरी जागिर छाड्ने र सिभिल प्रहरीमा जानेको संख्या बढेको बताए । दस वर्ष अघिसम्म काठमाडौंका सडकमा फोहोर मात्र हुन्थ्यो, धुवाँधुलो थिएन तर हिजोआज प्रहरीले जीवनको ख्यालै नराखी काम गर्दै आएको सुनाए । ‘धेरै समय उभिनुपर्दाको पीडा छँदै छ, दिनभर धुलोले छपक्कै छोप्छ, ध्वनि प्रदूषणले मानसिक सन्तुलनसमेत गडबड हुने गर्छ’, भट्टराई भन्छन्, ‘दिउँसो धुलो त्यति देखिँदैन, राति गाडीको लाइटमा बढी देखिन्छ ।’ पोसाक नखोल्दासम्म तनावैतनाव हुने उनी बताउँछन् ।

‘दैनिक धोएर लगाएको सेतो टोपी, ज्याकेट, टाई वर्षौंदेखि नधोएजस्तै देखिन्छ, धुँदा सुक्दैन, आइरनले तताएर सुकाउँछु ।’ -राजकुमार भट्टराई, सई, ट्राफिक प्रहरी

प्रहरीकै राम्रो मानिएको पोसाकमा सजिएर बिहानै सडकमा उत्रिएका प्रहरी साँझ घर पुग्दा परिवारले नै नचिन्ने अवस्था हुने गरेको तीतो अनुभव सुनाउँछन् उनी । ‘दैनिक धोएर लगाएको सेतो टोपी, ज्याकेट, टाई वर्षौंदेखि नधोएजस्तै देखिन्छ’, उनी भन्छन्, ‘सरकारले वर्षमा एकपटक पोसाक दिन्छ तर धुवाँधुलो र घामपानीले एक महिनामै हेरिनसक्नु हुन्छ । दैनिक धुँदा सुक्दैन, आइरनले तताएर सुकाउँछु ।’

धुलो नै खोकेर बस्नुपर्ने भट्टराई बताउँछन् । ‘खोक्दा कालो खकार निस्कन्छ’, उनले भने, ‘जागिर छाडौं अरू के गर्ने ? नछाडौं काम गर्नै मुस्किल परिसक्यो ।’ उपत्यकाबाहिर सरुवा माग्दा नदिएपछि बाध्यताले ज्यान फालेरै काम गरेको उनले बताए । अधिकांश ट्राफिक प्रहरी उपत्यकाबाहिर जाने प्रयासमा छन् तर सरुवा नपाएपछि बाध्यताले काठमाडौंको धुलाम्मे सडकमा बस्न बाध्य भएको उनको भनाइ छ ।

सुकेधारा बिटमा रहेर दैनिक १४ घण्टा ड्युटीमा खट्ने गरेका साहले भने, ‘पिसाब फेर्न र पानी खान पनि पाइँदैन । धुलो त अब सामान्य लाग्न थालेको छ ।’ जाम कहिल्यै सकिँदैन, ड्युटी समय चार घण्टा भए पनि जामले ६ घण्टाभन्दा बढी काम गर्नुपर्ने प्रहरीको बाध्यता छ । ट्राफिक प्रहरीलाई ड्युटीको समयमा आराम गर्ने फुर्सद पनि हँुदैन, तोकिएभन्दा चार सय गुणा बढी काम गर्नुपर्ने उनी बताउँछन् ।

सेवा-सुविधामा ट्राफिकले सिभिल प्रहरीभन्दा एउटा मास्क मात्र बढी पाउँछन् । ‘सेवा-सुविधाबारे हामी बोल्न मिल्दैन’, एक प्रहरीले भने, ‘ श्रीमती र छोरालाई सामान्य खाना खुवाउन पनि धौधौ छ ।’ महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार सन्तोष भण्डारीले आफूहरू धुलो खाने कसम खाएर नआए पनि सबैभन्दा बढी धुलोको मारमा परेको बताए । सवारी आयात व्यवस्थापन र धुवाँधुलो नियन्त्रण गर्न आवश्यक कदम नचाले प्रहरीले सडकको जाम घटाउन नसक्ने उनको भनाइ छ ।

जामले गर्दा नियम मिच्ने सवारीलाई कारबाही गर्न नसक्दा दुःख लाग्ने गरेको उनी बताउँछन् । ‘एउटालाई रोक्दा जाम बढ्छ, कारबाही नगरी कतिपयलाई त्यसै छाड्नुपर्ने हुन्छ’, उनले भने । ट्राफिक प्रहरीको सुरक्षा पनि उस्तै चिन्ताको विषय बनेको उनले बताए । ‘दिउँसो पनि आक्रमण हुने, राति मापसेले गर्दा ज्यानै खतरा हुने’, उनी भन्छन्, ‘सवारी रोक्दा चालक कुटपिट नै गर्न तम्सिन्छन्’, उनले भने।

चक्रपथ र ठूला सडकमा सिस्टम बसेकाले सहज हुने तर भित्री सडकमा बढी धुलो र जाम हुने गरेको छ । गाडीले पनि ट्राफिकलाई पेलेर ल्याउने, सडकमै दैनिक सयौंले गाली गर्ने, तिर्खाले प्याकप्याक हुनुपर्ने समस्या छन् ।

चालक सक्षम भए ट्राफिक प्रहरीलाई व्यवस्थापनमा केही सहज हुने थियो । यात्रु ओराल्ने र चढाउने निश्चित ठाउँमा नियम पालना नगर्दा बढी जाम हुने गर्छ । एउटालाई कारबाही गरे एक किलोमिटरभन्दा परसम्म जाम हुने समस्या छ । उपत्यकामा ट्राफिकले सवारीको सडक व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।

राजधानी भित्रिने प्रमुख नाका कलंकी-थानकोट, चाबहिल-साँखु बाटो मर्मतले गर्दा धुलोधुवाँको सीमा नाघेको छ । भित्री सडक पनि मेलम्ची खानेपानीको पाइप बिछ्याउन खन्दा, सडक किनारको धुलो संकलन नगर्दा, ढल पुरिएकाले बग्न नपाउँदा धुलो बढी भएको खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार काठमाडौंमा ११ लाखभन्दा बढी सवारीसाधन गुड्छन् । काठमाडौं उपत्यकामा एक हजार ५ सय ९४ किलोमिटर सडक भए पनि सवारीसाधन गुड्ने व्यस्त सडक ४ सय ७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजार हाराहारी मात्रै ट्राफिक प्रहरी छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३ सय ६४ मात्र भएकाले खटाइ बढेको बताउँछन् ।