अन्ततः सात वटै प्रदेशको मुख्यमन्त्री टुङ्गो लाग्यो

प्रकाशित मिति : : आइतवार, माघ २८, २०७४

mukhyamantri

काठमाण्डौ । चुनावी परिणामअनुसार सातवटा प्रदेशमध्ये चारवटामा नेकपा एमाले, दुईवटामा माओवादी केन्द्र र एउटामा संघीय समाजवादी फोरमको नेतृत्वमा सरकार बन्दै छ ।

एमालेले एक, तीन, चार र पाँच नम्बर प्रदेशमा माओवादीसँगको सहकार्यका प्रदेश सरकारको नेतृत्व गर्दैछ । प्रदेश नम्बर ६ र ७ मा माओवादीले एमालेसँगको सहकार्यमा प्रदेश सरकार बनाउँनेछ ।

प्रदेश नम्बर दुईमा फोरमले रावपाको सहयोगमा सरकारको नेतृत्ग गर्दैछ ।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउने गरी चुनाव जित्न सकेन ।

संघीय संरचनामा पहिलोपटक बनेका प्रादेशिक संरचनामा सात प्रदेशका मुख्यमन्त्री निश्चित भएका छन् ।
सातमध्ये प्रदेश ५ को मुख्यमन्त्री चयनको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ ।

एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

संविधानको प्रावधान अनुसार बहुमतप्राप्त दलको संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
प्रदेश १ र ३ मा एमालेको एकल बहुमत भएका कारण पहिलो चरणमा नै सरकार गठन हुनेछ । प्रदेश १ मा एमालेका शेरधन राई र प्रदेश ३ मा डोरमणि पौडेल संसदीय दलको नेता चयन भएका छन् । संविधान अनुसार राई र पौडेल नै मुख्यमन्त्री हुनेछन् ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच भएको सहमति अनुसार फोरमका लालबाबु राउत मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राउत संसदीय दलको नेता चयन भइसकेका छन् ।

वाम गठबन्धनको सहमति अनुसार प्रदेश ४ को मुख्यमन्त्री एमालेको भागमा परेको छ। तर, अहिलेसम्म संसदीय दलको नेता चयन भइसकेको छैन ।
प्रदेश ५ मा मुख्यमन्त्री चयनको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । प्रदेश ५ मा एमालेका शंकर पोखरेल संसदीय दलको नेतामा चयन भइसकेका छन् । पोखरेल मुख्यमन्त्रीको एकमात्र दाबेदार थिए। माओवादीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नेछन् ।

प्रदेश ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भएका छन् । संविधान अनुसार शाही र भट्ट नै मुख्यमन्त्री हुनेछन् । शाही र भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले भने कुनै पनि प्रदेशमा सरकार बनाउने छैन । अंकगणित र गठबन्धनका कारण कांग्रेस मुख्यमन्त्रीविहीन भएको हो । (reportersnepal)