ओली–प्रचण्ड भेटवार्ता आज पनि अनिर्णित, एकता टुंग्याउन भोलि फेरि बस्ने

प्रकाशित मिति : : सोमवार, माघ २९, २०७४

Prachanda-KP-Oli-talking

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर अनेकथरी आशंका बाहिर आइरहेका बेला दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा पार्टी एकताबारे छलफल भए पनि निष्कर्ष भने निस्किएन ।

वार्तामा के भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर, दुवै दलका नेताहरुले शीर्ष दुई नेताबीच भएको संवाद सकारात्मक रहेको बताएका छन् ।

दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन ।

भोलि पनि ओली र प्रचण्डबीच भेटवार्ता हुनेछ । दुई नेताबीच सहमति भए पर्सि पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता हुने सन्देश दिने तयारी छ ।

माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् ।

पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् ।

ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव पनि छलफलमा छ ।