पोखरा । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कूल ६० सदस्य भएको प्रदेशसभामा २७ सदस्य रहेको नेकपा एमालेका संसदीय दलको नेता गुरुङलाई १२ सदस्य रहेको नेकपा माओवादी केन्द्रको समर्थन छ । हलीको ज्यालावृद्धिको आन्दोलनदेखि प्रदेशको मुख्यमन्त्रीसम्म बन्न सफल गुरुङ हाल लमजुङ प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

एमालेमा प्रभावशाली नेताका रुपमा आफ्नो उपस्थिति देखाउँदै आएका गुरुङ लमजुङको साविक गिलुङ गाविस वडा नं ८, टक्सार (हाल क्व्होलासोंथर गाउँपालिका वडा नं ९) मा ०१४ साल फागुन २ गते पिता स्व गंगाप्रसाद गुरुङ र माता स्व चिनी गुरुङबाट जेठो सन्तानका रुपमा जन्मिएका हुन् ।

श्रीमती कुमारी मुनी गुरुङसहित चार छोरी र एक छोराका अभिभावक गुरुङले प्राथमिक शिक्षा त्रिग्राम विद्या मन्दिर, गिलुङ (०१९–०२४) बाट हासिल गरेका थिए । इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार, लमजुङबाट विसं ०३० सालमा एसएलसी उतीर्ण गरेका गुरुङले ०३२ सालमा अमृत साइन्स क्याम्पस, लैनचौरबाट ०३२ सालमा आइएस्सी गरेका थिए । अमृत साइन्स क्याम्पसबाटै ०३४ सालमा उनले प्रथम श्रेणीमा बिएस्सी उतीर्ण गरेका थिए ।

विसं ०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिव निर्वाचित भई आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङ ०३१ सालमा अमृत साइन्स क्याम्पस छात्रावासमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (माले) को सम्पर्कमा पुगेका थिए । ०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित गुरुङ ०३६ सालमा माले पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य बनेका थिए ।

विसं ०३७ साल फागुन ७ गते मालेको पार्टी सदस्यता प्राप्त उनी ०४० वैशाखमा माले जिल्ला संगठन कमिटीको सदस्य बने । ०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित गुरुङ ०५१ फागुन १०–११ को दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुनःनिर्वाचित भएका थिए ।

२०५४ माघ ९ देखि १४ गतेसम्म नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित गुरुङ ०५४ देखि ०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भई जिम्मेवारी सम्हालेका थिए ।

एमालेको केन्द्रीय कमिटी सदस्यमा ०६० मा मनोनित गुरुङ ०६० मा एमाले केन्द्रीय कमिटी सदस्य, ०६१ देखि ०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुख, ०६१ देखि ०७० सम्म आदिवासी–जनजाति फाँट इञ्चार्जका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

एमालेको ०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी ०६५ मा पार्टी पोलिटब्यूरो सदस्य निर्वाचित भए भने २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रहे ।

पार्टीको ०७१ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित उनी ०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । गुरुङसँग सामाजिक पेशागत एवं सामुदायिक क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका धेरै अनुभव छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष, जिल्ला खेलकुद विकास समिति लमजुङको सदस्य, जनपक्षीय मञ्च लमजुङको जिल्ला संयोजक, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको लमजुङ जिल्ला संयोजक तथा गण्डकी क्षेत्रीय कमिटीको कोषाध्यक्ष जस्ता धेरै ठाउँमा नेतृत्व गरेका छन् ।

त्यस्तै, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक हुँदै ०६३ असोज ४ गतेदेखि एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका उनले २०७३ कात्तिकमा सम्पन्न नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भए ।

नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङ नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा २०३७–२०३८ मा दुईपटक हिरासतमा रहेका थिए भने ०४०–४१ को शिक्षक संघर्षमा १४ दिन प्रहरी हिरासतमा परेका थिए ।

शिक्षक संघर्षको सफल नेतृत्व गर्दै लमजुङ जिल्ला संघर्षको अग्रस्थानमा रहेका उनले ०३८ सालमा एमाले इलाका पार्टी संगठन कमिटीको तर्फबाट टक्सारमा ज्याला वृद्धिका लागि हली हड्तालको नेतृत्व गरेका थिए ।

त्यस्तै, २०३९ सालमा कृषि मजदुरको ज्याला वृद्धिका लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेका गुरुङ २०४१ देखि २०४४ साल सम्म घरवारविहीन किसान, सिकर्मी, डकर्मीको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको वैचारिक नेतृत्व गरेका थिए ।
२०४२ असार ७ गते पक्राउ परी १०० दिन प्रहरी हिरासतसहित ११ महिना शान्ति सुरक्षा ऐनअन्तर्गत लमजुङ कारावासमा थुनामा रहँदा कारावासमा रहेर नै रापंस जनपक्षीय उम्मेदवार भई भण्डाफोर अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गरेका थिए ।

०४६ सालमा पञ्चायती व्यवस्था विरोधी संयुक्त जनान्दोलन लमजुङमा संयोजकको भूमिका निर्वाह गरेका उनले ०४७ मा मालेको तर्फबाट बहुदल प्रचार समितिको संयोजक भई काम गरेका थिए ।

पञ्चायती व्यवस्थाको भण्डाफोर अभियानका लागि पञ्चायती मञ्चको उपयोग नीतिअनुसार मालेका तर्फबाट जनपक्षीय राष्ट्रिय पन्चायत सदस्य उम्मेद्वार बनेका उनी ०६३ मा एमालेको राज्य पुनःसंरचनासम्बन्धी कार्यदलको सदस्य बने भने ०६४ चैत १८ देखि २०६५ साउनसम्म नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालेका थिए ।

लमजुङ क्षेत्र नं २ बाट २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनी विजयी गुरुङ पहिलो संविधानसभामा (२०६५–०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य तथा व्यवस्थापिका–संसद् (२०६५–०६९) मा प्राकृतिक स्रोत साधन समितिको सदस्य थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट ६७२ मतले पराजित गुरुङ २०६६ मा पार्टी विधान सम्पादन कार्यदलको सदस्यमा मनोनित भई काम गर्नुभयो भने ०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको चुनावमा लमजुङ प्रदेश (ख) बाट सात हजार ९८६ मतान्तरले विजयी बनेका थिए ।

गुरुङले भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तर कोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथियोपिया, बहराइन, कतार, संयुक्त अरव इमिरेट्स भ्रमण गरेका छन् ।

देश र जनताको सेवालाई नै आफ्नो महत्वपूर्ण इच्छा भएको बताउने गुरुङ इतिहास र दर्शनशास्त्रको अध्ययन गर्न रुचाउछन् । फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, कुस्ती, चेस, टेनिस, क्रिकेट हेर्न र खेल्न रुचि राख्ने उनी प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, ग्रामीण स्थानको अध्ययन र भ्रमण गर्नका साथै गीत, संगीतमा विशेष रुचि राख्छन् ।