प्रवासमा रहेका हामीले नेपालका लागी के गर्न सक्छौ ?

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

डा. हेम राज ढकाल

 

गएको साता अमेरिकाको राजधानी वाशिङ्गटन डि. सी. नजिकैको पार्कमा बिदेशी मित्र नादिमसँग टहलिँदै थिएँ। चिसोले च्याट्ठिएको स्वरमा नादिमले एकाएक सोधे ‘हेम, छिन छिनमा बदलिरहेको आजको विश्वको लागि महत्वपुर्ण आवश्यकताहरु के के हुन सक्छन?’

नादिमले सोधेको एउटा प्रश्नबाट उम्रेको आलेख हो यो।

नादिमको प्रश्नले एकछिन मलाई घोत्लिन बाध्य गरायो। भर्खरै सकाएको विद्यावारिधिको खोज र अहिलेसम्म गरेका कामहरु सम्झेपछि लाग्यो ‘नादिमले सोधेको प्रश्नको जवाफ मसँग छ। मैले भने, ‘नादिम, म संसारका सबै देशहरुको बारेमा त शायद बताउन सक्दिन। तर नेपाल र नेपाल जस्ता विकासोन्मुख देशकालागि यी तीन कामहरु आवश्यक र महत्वपूर्ण हुन सक्छन:’

१.प्रतिभाशाली र इच्छाशक्ति भएका ब्यक्तिहरुको संजालको निर्माण

२.दीगो एवम समष्टिगत उद्दमशीलता

३.शान्ति तथा प्राविधिक शिक्षा

अन्य बिकसीत मुलुकहरुका लागी यी कुराहरुको महत्व त्यति धेरै नहोला जति हाम्रो मुलुकका लागि हुन सक्छ। हामी बिकासोन्मुखतिरको बाटोमा उन्मुख छौ। बिकसित मुलुक बनाउन हामीले माथीका तिनवटा कुरालाइ कार्यान्वयन गर्न सक्यौं भने छिन छिनमा परिवर्तन भइरहेका बिकसीत मुलुकहरुसँग हामीपनि समान रुपमा दौडिन सक्ने अवस्था आउने छ। यो सपना टाढा छैन।

अमेरिकन समाजशास्त्री मार्गरेट मीडले गहकिलो कुरा भनेकी छन ‘विचारशील र कटिबद्ध मानिसको सानो समुहले संसार बदल्न सक्छ भन्ने कुरामा कहिलै शंका नगर्नुस, वास्तवमा अहिलेसम्म संसारलाइ यस्तै समुहका मान्छेहरुले बदल्दै आएका छन।’ अर्थात्, संसारमा भएका ठूला ठूला परिवर्तनहरुका सम्बाहकहरु सानै भएपनि सामुहिकरुपमा र संस्थागत रुपले अघि बढ्दा सफल भएका थिए र छन्। मलाई पनि एक बृहत प्रतिभाशाली र जुनून भएका ब्यक्तिहरुको संजालको माध्यमबाट देश विदेशमा बस्ने नेपालीहरुसंग सहकार्य गर्न सजिलो हुन्छ र गुणात्मक परिवर्तन गर्न सकिन्छ भन्ने लाग्छ। यो अभियान बिकासन्मुख मुलुकहरुका लागी महत्वपुर्ण सावित हुन सक्छ।

कुनै पनि मान्छे प्रतिभावान हुनको लागि उच्च शिक्षा हाँसिल गरेको हुनुपर्छ नै भन्ने छैन। अनुभव, सिप, र बिषयगत ज्ञान द्वारा औपचारिक शिक्षा बिना पनि व्यक्ति दक्ष हुन सक्छ। तर नेपाल र नेपालको लागि केहि गर्ने तिब्र इच्क्षा शक्ति अर्थात् ‘प्यासन’ भने हुनै पर्छ। अर्को महत्व पूर्ण कुरा के पनि हो भने यस संजालमा नेपाल र नेपाली को भलो चाहने अन्य कुनै देश को नागरिक पनि अट्न सक्छ। मैले नेपाललाई माया गर्ने र सदभाव राख्ने थुप्रै बिदेशी नागरिकहरुसंग भेटेको छु। कुरा गरेको छु। त्यतिमात्र होइन, कैलेकाहीं ऊहाँहरुको नेपालको बारेमा भएको विज्ञताले अचम्ममा पनि पर्ने गरेको छुँ।

नेपालकै लागि ‘केहि गर्ने’ इच्छाशक्ति भएका थुप्रै प्रतिभावान नेपालीहरु संसार भरि छरिएर रहेका छन्। नेपालीहरुको संयुक्त राष्ट्र संघ लगायत विश्वका विभिन्न ख्याती प्राप्त अन्तरराष्ट्रिय संघ संस्थाहरु र कम्पनीमा बाक्लै उपस्थिति छ। यस्ता नेपालीहरुले विश्वका विभिन्न ठाउँबाट ‘केहि गर्ने’ इच्क्षा बारम्वार दोहोर्याइ रहन्छन। तर यसलाइ ‘क्यास’ गर्न सकिएको छैन। मैले धेरै समाचार सुन्छु र पढ्छु। गर्ने इक्छा धेरैमा छ। तर, अझैं गतिशील एबम प्रभावकारी तवरले कार्य गर्न सक्ने बृहत संजाल बनीसकेको छैन। यो अभियानको थालनी हुनपर्छ र गरिनु पर्छ भन्ने ‍कुराको सुरुवात गर्न मैले अमेरिकामा भित्र र बाहिर बसेर योगदान दिने नेपालीहरु र नेपाललाई माया गर्ने केहि विदेशीहरुको लामो सुची तयार गरें। अहिले पनि यो क्रम निरन्तर जारी छ।

मैले कुरा गरेका कतिपय साथीहरु अहिले अमेरिका लगायत अन्य देशबाट नेपाल फर्किसक्नु भयो। कतिपय फर्किने तयारीमा हुनुहुन्छ। विभिन्न व्यक्तिहरु संगको अन्तरक्रिया को आधारमा ढुक्कसंग के भन्न सक्छु भने धेरै जसो नेपालीहरू आफ्नो गाउँ-ठाउँ को लागि केहि योगदान दिन तयार छन्। नेपाल गएको बेला बर्षमा एकमहिना, एकहप्ता, वा एकदिन मात्र योगदान दिँदा पनि ठुलो परिवर्तनको राम्रो सुरुवात हुन्छ। अहिले त विदेशमै बसेर पनि ‘अनलाइन’ कै माध्यमबाट आफूले जाने बुझेको कुरा सिकाउन सकिन्छ।

तर यसका लागी ‘प्ल्याटफर्म’को आवश्यकता टडकारो छ।

‘सक्छौं भने नेपाल फर्कौं, सक्दैनौं जहाँ बसेका छौं, त्यहिबाट आफूले सिकेका सीप ज्ञान बाँडेर पनि सहयोग गरौँ’ भन्ने सन्देश दिने ‘प्याल्टफर्म’मा बिदेशमा रहेका नेपालीले मात्र होइन नेपालप्रति माया भएका बिदेशीहरुको पनि सहभागीता हुने छ।

दीगो एबं समष्टिगत उद्दमशीलता:

दीगो एबं समष्टिगत उद्दमशीलता: अर्थ, समाज, र प्रकृति गरि तीनवटा खम्बामा आधारित हुन्छ। यी तीनवटा खम्बाहरु, विश्वका विभिन्न ठाउँ मा सफल भएका ‘मोडेल/नमुना’ हरु, र स्थानीय रुपमा उपलब्ध साधन, स्रोत, संभावनाहरु को आधारमा नेपालको हावापानी सुहाउँदा मोडेल/नमुना’ हरु को विकाश गर्न सकिन्छ।

उदाहरणको लागि ग्रामिण क्षेत्रमा बाँझो रहेको जग्गालाई एकीकृत गरि व्यवशायीक खेति गर्न सकिन्छ। जस अन्तर्गत, पशुपन्छी, फलफूल, जडिबुटी, र वन पैदावारहरु एउटा ठुलो क्षेत्रमा एकीकृत प्रारंगिक खेति प्रणाली अन्तर्गत अघि बढाऊन सकिन्छ। यस नमूनालाई क्रमसः अरु क्षेत्रहरु (कृषि पर्यटन, जैवीक ऊर्जा, प्रारंगिक मल, र अन्य कैंयौं संभावनाहरु) संग जोड्न सकिन्छ।

शहरी क्षेत्रमा समेत यस्तै एउटा नमूनाको विकाश गर्न सकिन्छ। जस्तो, सरकार तथा व्यक्तिगत लगानीमा सामुहिक रुपमा उद्दमशील र सृजनशील युवाहरुको लागि ‘उद्दमशील युवाहरुको क्रिडा स्थल’ हरुको विकास गर्न सकिन्छ। जस्मा विविध सीप र क्षमता भएका व्यक्तिहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्छन। र, आवश्यक सहयोग समेत प्राप्त गर्न सक्छन।

यी त केहि प्रतिनिधि उदाहरणहरु मात्र हुन्। यस्ता कैंयन नमूनाहरुको विकाश गर्न सकिन्छ। तर उपरोक्त कुनै कार्यले पनि प्रकृतिको दोहोन गर्नु हुदैन। यो पुस्ताको लागि मात्र नभै, भावी पुस्ताको लागि प्रकृतीको संरक्षण गर्नु आवश्यक हुन्छ। नत्र, वातावरणमा असन्तुलन हुन गई भयाबह अवस्थाको सिर्जना हुन पुग्दछ जुन हामीले भोग्दै आएका पनि छौं। हामीले प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्नुपर्छ, दुरुपयोग होइन।

माथि उल्लेखित ‘प्रतिभाशाली र इच्छाशक्ति भएका ब्यक्तिहरुको संजाल’ले ‘दीगो एबम समष्टिगत उद्दमशीलता’ को क्षेत्रमा समस्टिमा सहयोग गर्न सक्छ। अर्थात्, यस संजालले उपरोक्त नमुना अन्तर्गत, वस्तु र सेवाको शुरु देखि अन्त्य सम्म का कुनै पनि तह र तप्कामा योगदान पुर्याउन सक्छ। जस अन्तर्गत, लगानी, सीप, साधन, श्रोत, प्रबिधि को परिचालन, उत्पादन, व्यवस्थापन, भण्डारण, बजार, आपूर्ति, र ढुवानी लगाएतका क्षेत्रहरु पर्छन।

यसो गर्दा, हरेक तह र तप्कामा र स्थानीय स्तरमा रोजगारीको सृजना हुन्छ। स्थानीय युवाहरुलाई रोजगारी उपलब्ध हुँदा आर्थिक विकास मात्र हुदैन सामाजीक कुरीतिहरु (चोरी, लुटपाट, हत्या, हिंसा, आदि) मा पनि कमि हुन जान्छ। साथै, स्थानीय स्तरमा रोजगारी सृजना हुँदा युवा पलायन र बसाई सराई को समस्या पनि कम हुन्छ। त्यसैले, नेपाली युवाहरुलाई बिशेषत: भारत र अन्य खाडीमुलुकमा जान बाट कम गर्न वा रोक्न दीगो एबम समष्टिगत उद्दमशीलता एउटा कडी बन्न सक्छ।

शान्ति तथा प्राविधिक शिक्षा:

‘प्रतिभाशाली र इच्छाशक्ति’ भएका ब्यक्तिहरुको संजाल’ले शान्ति तथा प्राविधिक शिक्षाको क्षेत्रमा पनि सहयोग गर्न सक्दछ। शान्ति शिक्षा भन्नाले जीवनलाई मार्ग निर्देशन गर्न चाहिने बाटो हो। जस अन्तर्गत, योग तथा ध्यान, अध्यात्म, दर्शन, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र अरु बिषयहरुको सामान्य जानकारी दिन सकिन्छ।

यसैगरि, प्राबिधिक शिक्षा भन्नाले व्यवहारिक शिक्षा जस्ले व्यक्तिलाई सृजनशील र उत्पादक बनाउँछ। शान्ति र प्राबिधिक शिक्षा एक अर्काका परिपुरक हुन्। किनकि, सुख: र शान्ति बिनाको व्यवहारिकताले जीवन लंगडो, अपुरो, र निरस बन्न सक्छ। यी दुबैको संयोजनद्वारा एउटा व्यक्ति खुशी र उपयोगी दुवै हुन सक्छ।

लगभग २५ प्रतिशत शान्ति शिक्षा र ७५ प्रतिशत प्राविधिक शिक्षा को हिसाबले २-३ वर्षसम्म गहन शिक्षण र सिकाई गराऊन सकियो भने, कुनै पनि युवा सबल, सक्षम, र स्वनिर्भर बन्न सक्छ। साथै, पढाईलाई बिध्यार्थीहरुले बोझको रुपमा नलगुन भन्नको लागि मनोरन्जनात्मक सिकाई लाई जोड् दिनु पर्छ। र, औपचारिक शिक्षा भन्दा अनौपचारिक रुपले बिध्यार्थीहरुको रुचि र क्षमता को आधारमा शिक्षण-सिकाई गर्दा बढि प्रभावकारी हुन सक्छ।

नेपालका लागी स्वयंमसेवका रुपमा काम गर्ने इच्छा शक्ति भएका नेपाली र नेपाललाइ माया गर्ने बिदेशीहरुको संख्या धेरै छ। यसलाइ एकीकृत गर्न संजालको आवश्यकता छ। हामी नेपाली संसारको जुनसुकै कुनामा भएपनि, रहेपनि, जस्तोसुकै सुख सुबिधा प्राप्त गरेपनि, बिदेशमा बस्दा आफ्नो मातृभूमि को माया कदापी घट्दैन बरु बढ्दै जान्छ।

यी सबै कुरा नादिमले बुझ्दैन। तर उसलाइ नेपालमा केहि गर्न इच्छा छ। बाहिर रहेका हामी नेपाली, नादिम र नादिम जस्ता नेपाललाइ माया गर्ने अन्य बिदेशीहरु समेत अट्ने गरि एउटा ‘संजाल’ बनाउनु हाम्रो मुलुकका लागी अत्यावश्यक छ।

source : setopati