किन आए पाकिस्तानी प्रधानमन्त्री नेपाल ?

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौं । पाकिस्तानले आफ्ना प्रधानमन्त्री शाहिद खाकन अब्बासीको नेपाल भ्रमणलाई दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध थप विस्तार गर्ने आफ्नो पहलकदमीको रूपमा व्याख्या गरेको छ।

दुई दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री अब्बासी सोमवार दिउँसो काठमाडौं आइपुगेका छन्।

उनले आफ्ना समकक्षी केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पक्षीय हितका विषयमा कुराकानी हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री अब्बासीको भ्रमणको उद्देश्य क्षेत्रीय देशहरूसँग सम्बन्ध बढाउने दिशातर्फको पहलकदमी हो।

आइतवार जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘यो भ्रमणका क्रममा सार्कलाई एउटा बलियो र महत्त्वपूर्ण क्षेत्रीय संगठनका कसरी बनाउने भन्नेबारे पनि छलफल हुनेछ।’

नेपालमा हालै भएका संसदीय चुनावपछि वामपन्थी दलहरूको शक्तिशाली सरकार बनेयता काठमाडौं भ्रमण गर्ने अब्बासी पहिलो विदेशी सरकार प्रमुख हुन्।

यो भ्रमणमा नेपालसँग व्यापार, शिक्षा, पर्यटन, रक्षा र जनसम्पर्क जस्ता विषयमा पनि छलफल गर्ने पाकिस्तानले जनाएको छ।

पाकिस्तानले सार्कको विषयमा पनि छलफल हुने बताए पनि नेपालको परराष्ट्र मन्त्रालयले त्यसबारे केही उल्लेख गरेको छैन।

नेपाल हाल सार्कको अध्यक्ष रहेको छ र पाकिस्तानलाई उक्त जिम्मेवारी हस्तान्तरण गर्न प्रतीक्षारत छ।

सार्क शिखर सम्मेलनको आयोजना गरेर सन् २०१६ को नोभेम्बरमा नै पाकिस्तानले सार्कको अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेको थियो।

तर युरीस्थित आफ्नो सैनिक ब्यारेकमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मिति तय भइसकेको सम्मेलन बहिष्कार गरेको थियो।

त्यसपछि अफगानिस्तान, बांग्लादेश र भुटानले पनि सहभागी नुहने बताएपछि सार्क शिखर सम्मेलन स्थगित भएको थियो।

पाकिस्तानमा हुनुपर्ने उक्त १९ औँ शिखर सम्मेलन त्यसयता अनिश्चित बनेको छ।

इस्लामाबादबाट हुन लागेको उच्च तहको नेपाल भ्रमणलाई लिएर पाकिस्तानको परम्परागत प्रतिद्वन्द्वी भारत सशंकित बनेको छ ।

सन् २०१७ को अप्रिलमा एकजना पूर्व पाकिस्तानी सैनिक अधिकारी कर्णेल मोहम्मद हबिब नेपालको लुम्बिनी क्षेत्रबाट बेपत्ता भएका थिए।

हालसम्म हराइरहेका भनिएका उनको अवस्थाबारे पाकिस्तानले भारतलाई पत्र लेखेर सोधेको विवरणहरू आएका थिए।