गच्छदार कांग्रेस संसदीय दलको उपनेतामा मनोनित

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गरेका हुन् ।

बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गर्ने सांसदलाई धन्यवाद दिनाका साथै संसद्मा सदैव क्रियाशील रहँदै सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिए ।

उनले सांसदहरुले संसद्मा निर्वाह गर्ने भूमिका आधारमा पार्टीले मूल्यांकन गर्नेसमेत बताए ।

बैठकमा नेता प्रकाशमान सिंहले पार्टीका सभापति देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकामा बधाई एवं कार्यकालको शुभकामना दिएका थिए ।