वामदेव भन्छन्, ‘जबज छाड्न सक्दिनँ’

प्रकाशित मिति : : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसक्ने बताएका छन् ।

शहीद यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले जबज संसारकै उत्कृष्ट विचारधारा भएको जिकिर गरे । “नेकपा माओवादी केन्द्रसँग एकता भए पनि म जबज छाड्न सक्दिनँ”, उनले भने ।

उनले अहिलेसम्म माओवादी केन्द्रसँगको एकताको आधार नै जबज रहेको स्पष्ट गरे ।

उनले शहीद गौतमले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानलाई भुल्न नसकिने बताउँदै गौतमको हत्या गरेर तत्कालीन माओवादीले गल्ती गरेको आरोप लगाए । यदुको विसं ०५५ फागुन २१ गते रुकुममा तत्कालीन माओवादीबाट हत्या गरिएको थियो । त्यतिबेला उनी एमाले जिल्ला सचिव थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गौतमको हत्या पार्टीको निर्देशनमा नभई स्थानीयस्तरबाट भएको बताउँदै यदुको हत्यामा पार्टीले गल्ती स्वीकार गरिसकेको बताए ।

कार्यक्रममा यदुकी श्रीमती तीर्थाले पतिको हत्या के कारण भएको हो भन्ने अहिलेसम्म थाहा नपाएको बताउँदै अहिले दुई पार्टी एक हुन थालेकामा प्रसन्नता व्यक्त गरिन् ।