स्कटल्यान्डलाई पराजित गर्न नेपालले रोक्न सक्नु पर्ने यी ३ खेलाडी !

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौँ । जिम्बावेमा फागुन २० गतेबाट सुरु भएको आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल सुपर सिक्स प्रवेश गर्न स्कटल्यान्डलाई पराजित गर्नै पर्ने हुन्छ । अन्यथा नेपाल सुपरसिक्स प्रवेश गर्न निकै कठिन हुने देखिएको छ । पहिलो खेलमा जिम्बाबेसँग ११६ रनले हारेको नेपाल स्कटल्यान्डलाई पराजित गर्न सहज भने छैन । स्कटल्यान्डले पहिलो खेलमा विश्वकपको बलियो दाबेदार अफ्गानस्तानलाई पराजित गर्दै विश्वकपको लागि आफ्नो दाबेदारी पनि प्रस्तुत गरेको छ । नेपाल र स्कटल्यान्डबीच अहिले सम्म ३ एक दिवसिय खेल भएको छ । सबै खेलमा नेपाल पराजित भएको छ । नेपाल र स्कटल्यान्डबीचको खेल आगमी बिहिबार नेपाली समय अनुसार जिम्बाबेको बुलावायोको क्विन स्पोर्टस क्लबमा हुने छ । बलियो स्कटल्यान्डलाई रोक्न नेपाली खेलाडीले मुख्यतया यी ३ खेलाीलाई रोक्न सक्नु पर्ने हुन्छ ।

कोलुम म्याकलियोर्ड

कोलुम म्याकलियोर्ड स्कटल्यान्डका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन् । उनले विश्वकप छनोटको पहिलो खेलमा अफगानिस्तान विरुद्धको खेलमा सानदार शतक प्रहार गरेका थिए। १ सय ४६ बल सामना गरेका उनले अविजीत १ सय ५७ रन प्रहार गरेपछि अफगानिस्तान स्कटल्यान्डसामु निरास बन्नु परेको थियो । उनले १५७ रन प्रहार गर्न २३ चौका र १ छक्का हिर्काएका थिए । २९ वर्षीय कोलुमले ५१ एकदिवसीय खेल खेलिसकेका छन्। जसमा उनले ६ शतक र ५ अर्धशतक प्रहार गरेका छन्। ३५ को औसत ब्याटिङ गरेका कोलुमको स्ट्राइक रेट ८१.२५ रहेको छ ।

रिची बेरिङटन

रिची बेरिङटन स्कटल्यान्डका अलराउन्डर क्रिकेटर हुन् । पहिलो खेलमा अफगानिस्तानलाई हारको स्वाद दिलाउन ३० वर्षीय बेरिङटनको प्रदर्शन महत्वपूर्ण रह्यो। बलिङमा अफगानिस्तानको सुरुवाती चार मध्ये ३ ब्याट्सम्यानलाई सिकार बनाएका उनले ब्याटिङमा ६७ रन बनाउदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।अफगानिस्तान विरुद्धको खेलमा उनले म्याकलियोर्डसँग तेस्रो विकेटका लागि २ सय ८ रनको सानदार साझेदारी गरेका थिए। दक्षिण अफ्रिकामा जन्मिएका उनले अहिलेसम्म ६४ एकदिवसीय खेल खेल्दै १ शतक र ११ अर्धशतक प्रहार गरेका छन्। तीव्र गतिका बलिर उनले एकदिववसीय खेलमा ४१ इनिङमा २८ विकेट लिएका छन्।

ब्राड ह्विल

ब्राड ह्विल स्कटल्यान्डका तीव्र गतिका बलर हुन् । उनले अफगानिस्तान विरुद्धको खेलमा ३ विकेट लिए। अफगानिस्तान विरुद्ध पहिलो ओभरमा विकेट लिएका २१ वर्षीय ब्राडले ३ मध्ये २ ब्याट्सम्यानलाई क्लिन बोल्ड गरेका थिए। अफगानिस्तान विरुद्धको खेलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गरेका उनले ९.४ ओभरमा ३६ रन खर्चिएका थिए। उनले ६ एकदिवसीय खेल खेल्दै १० विकेट लिएका छन्।