तेह्रथुममा भीषण आगलागी, ६ घर जल्यो, आगो नियन्त्रणको प्रयास हुँदै

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

तेह्रथुम । वनमा लागेको डढेलो गाउँमा पस्दा तेह्रथुममा छ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि छ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले पनि आगलागी भइरहेको छ । नगरपालिकाको दमकल जाने सडक नभएकाले आगो नियन्त्रणमा असहज भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी नायब निरीक्षक कुलबहादुर खत्रीले बताए । दिउँसो करिब २ बजे वनमा लागेको डढेलो हावाहुरीका कारण गाउँमा पसेपछि स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना, गुरुप्रसाद लुइँटेल र लोकनाथ न्यौपानेको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

तीन वटा घरमा मान्छे बस्ने गरेका थिए भने बाँकी तीन घरमा मान्छे नबस्ने गरेको खुलेको प्रहरीको भनाइ छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । क्षतिको पूर्ण विवरण आएको छैन । आगो नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको प्रजिअ खनालले बताए । घटनास्थलमा जिल्लाबाट टोली पठाइए पनि अहिलेसम्म नपुगेको स्थानीयवासीले बताएका छन् ।