एमाले स्थायी समितिको बैठकमा नेताहरुबीच रस्साकस्सी, अष्टलक्ष्मीले राष्ट्रपति भण्डारीलाई गुट चलाएको भन्दै आरोप लगाएपछि…

प्रकाशित मिति : : बुधबार, फाल्गुन २३, २०७४

astalaxmi-bhandari

काठमाडौँ, फागुन २३  । मङ्गलबार राती राष्ट्रपतिको उम्मेदवार चयनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकमा पुरानै विद्यादेवी भण्डारीलाई एक कार्यकाल दोहोर्याउने कि झलनाथ खनाललाई राष्ट्रपतिको उम्मेदवार सिफारिस गर्ने भन्ने विषयमा दुवै पक्षका नेताहरुबीच लामो रस्साकस्सी नै चल्यो ।

राष्ट्रपतिको मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा डाकिएको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव धनश्याम भुसाल र सचिव योगेश भट्टराईलगायतका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका थिए । विद्याले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर गुट चलाउने गरेको नेताहरुको आरोप थियो ।

‘राष्ट्रपति जस्तो मान्छेले शीतलनिवासमा बसेर गुटबन्दी गरेको कदापी स्वीकार्य हुन सक्दैन,’ बैठकमा अष्टलक्ष्मीले राष्ट्रपति भण्डारीको खरो आलोचना गर्दै भनिन्, ‘शीतलनिवासमा बसेर यसरी गुट चलाउन पाइँदैन ।’ विशेष गरी प्रदेश नम्बर ३ को मुख्यमन्त्री छनोट गर्ने बेलामा राष्ट्रपति भण्डारीले अष्टलक्ष्मी शाक्यलाई मत नदिनु भन्दै एमाले सांसदहरुलाई टेलिफोन गरेको आरोप नेताहरुले लगाए ।